site stats
बाह्रखरी :: Baahrakhari
विचार
एनपीएल एउटा सपनाको साकार रूप

नेपाली क्रिकेटको आकाशमा एउटा नयाँ, चम्किलो सूर्योदय भएको त्यो दिन । त्यो दिन अर्थात् २०८१ साल मंसिर १५ गते शनिबार । यो केवल एउटा प्रतियोगिताको उद्घाटन मात्र थिएन, यो सारा नेपाली क्रिकेट प्रेमीहरूको मनको अन्तरकुनामा वर्षौंदेखि गुम्सिएको व्यग्र प्रतिक्षित अभिलाषाको साकार रूप थियो । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरुआत नेपाली खेल इतिहासको एउटा ऐतिहासिक घडी थियो, जसले लाखौँ निराश मनहरूमा उत्साहको नयाँ उचाइ थपिदियो ।

एनपीएलसँग हाम्रो आत्मीयता केवल दर्शक र खेलको सम्बन्ध मात्र होइन । यो त नेपालीपन र गौरवको साझा अनुभूति हो । जब एक युवा खेलाडीले विश्वस्तरीय बलरलाई सानदार छक्का प्रहार गर्छ वा कुनै विदेशी हस्तीलाई नेपाली बलरले आफ्नो जालमा पार्छ, तब रंगशालामा गुन्जिने नाराले नेपाली क्रिकेट समर्थकको मनको धड्कनसँग ताल मिलाउँछ ।

एनपीएलको पहिलो संस्करण अत्यन्त सफल रह्यो । प्रतियोगिता अवधिभर मैदान दर्शकहरूको उत्साह र समर्थनले भरिपूर्ण रह्यो । सबै खेलहरूमा भीड उपस्थित भई नेपाली क्रिकेट प्रेमीहरूको उमंग झल्कियो । आयोजक पक्ष र खेलाडीहरूको भावनात्मक लगावले यो राष्ट्रिय उत्सवलाई जनमानसको एक ठूलो पर्वजस्तै बनायो ।

एनपीएल नेपाली क्रिकेट समर्थकहरूको आत्मीयता र क्रिकेटको एउटा नयाँ युगको थालनी हो, जहाँ सपनाहरू मैदानमा ओर्लिन्छन् । प्रतिभाहरूले पहिचान पाउँछन् । खेलकुदले राष्ट्रको अर्थतन्त्रमा इटा थप्छ । यो लिग नेपाली क्रिकेटको उज्यालो ध्रुव तारा हो । यदि, हामीले सामूहिक रूपमा संकल्प गर्‍यौँ भने कुनै पनि सपना असम्भव छैन भन्ने यसले विश्वास दिलाउँछ । अब नेपाली क्रिकेटले व्यावसायिकताको पखेटा लगाएको छ । यो उडान निकै लामो र शानदार हुनेछ भन्नेमा शंका छैन ।

इन्डियन प्रिमियर लिग (आईपीएल), बिग ब्यास लिग (बीबीएल), क्यारेबियन प्रिमियर लिग (सीपीएल)लगायत विश्वविख्यात विदेशी लिगहरू हेर्दै गर्दा कुनै समय हामी नेपाली क्रिकेट प्रेमीहरूको मनमा लाग्थ्यो– ‘नेपालमा पनि यस्तै एउटा भव्य लिगको आयोजना होस्, जहाँ नेपाली खेलाडीहरूले टेस्ट नेसनका खेलाडीहरूसँग काँधमा काँध मिलाएर खेल्न पाउन् । नेपाली खेलाडीले नेपालकै माटोमा विश्वका हस्तीहरूलाई बोल्ड पारेर इतिहास रचुन् ।’ यो कल्पना कुनै समय हाम्रो लागि एउटा मधुर सपना मात्र थियो, जुन अभाव र संघर्षको धरातलमा अडिएको नेपाली क्रिकेटको कथामा लगभग असम्भव झैँ लाग्थ्यो । 

तर, १५ मंसिर २०८१ मा त्यो सपनाले जीवन्तता पायो । त्रिभुवन विश्वविद्यालयको मैदान आशाको रंगशालामा परिणत भयो । एनपीएल केवल एउटा लिग मात्र रहेन, यो नेपाली क्रिकेट प्रेमीहरूको शक्ति, सपना र अदम्य साहसको उद्घोष बन्यो ।

नेपाली क्रिकेटको यात्रा सधैँ सहज र सुगम रहेन । यो यात्रा नागबेली रह्यो । विगतमा खेल सामग्रीको अभावले खेलाडीहरूले ‘दाउराको ब्याट’ र ‘मोजाको डल्लो’को बलमा क्रिकेटको कखरा सिकेका क्षणहरू इतिहासका पानामा ताजै छन् । पारिश्रमिकको त कल्पना पनि थिएन, खेलाडीहरू आफ्नै खर्चमा देशको प्रतिनिधित्व गर्थे । जब–जब नेपाली टोलीले अन्तर्राष्ट्रिय मञ्चमा सफलता प्राप्त गथ्र्यो, तब–तब क्रिकेट संघ (क्यान)को अव्यवस्थित संरचना र राजनीतिक अस्थिरताका कारण उक्त सफलतामाथि तुषारापात हुने गरेको थियो । अभाव र व्यवस्थापकीय खिचातानीबीच गुज्रिरहेको नेपाली क्रिकेटलाई एभरेस्ट प्रिमियर लिग (ईपीएल) अनि धनगढी प्रिमियर लिग (डीपीएल)जस्ता व्यक्तिगत पहलका लिगहरूले केही राहत दिएको वास्वविकतालाई पनि नकार्न मिल्दैन । 

नेपाली राष्ट्रिय टोलीले दोस्रो पटक टी–२० विश्वकपमा छनोट भएपछि देशमा क्रिकेटप्रति जुन लहर पैदा भयो, त्यसै लहरलाई व्यवसायीकरणको बाटोमा लैजाने संकल्पका साथ क्यानले एनपीएलको अवधारणालाई मूर्तरूप दियो । एनपीएल विगतका अस्थिरतालाई पन्छाउँदै, आधिकारिकताको मोहोर लागेर आएको छ । यो लिग नेपाली क्रिकेटलाई ‘ग्रासरुट’देखि ‘ग्लोरी’सम्मको यात्रामा डोर्‍याउने कोशेढुंगा बनेको छ ।

नेपाल प्रिमियर लिगको संरचना र भव्यता आफैँमा एक अध्ययनको विषय हो । देशका आठ मुख्य प्रान्त तथा सहरहरूको प्रतिनिधित्व गर्दै स्थापित भएका आठ फ्रेन्चाइज टोलीहरू (जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, कर्णाली याक्स, विराटनगर किंग्स, लुम्बिनी लायन्स र काठमान्डू गोर्खाज)ले केवल खेलको प्रतिस्पर्धा मात्र बढाएका छैनन्, यसले प्रादेशिक आत्मीयता र एकताको भावना पनि जागृत गरेको छ । क्रिकेटको माध्यमबाट देशको संघीयतालाई केन्द्रमा ल्याउने यो प्रयासले युवाहरूमा सकारात्मक प्रतिस्पर्धाको भावना विकास गराएको छ ।

एनपीएलको सबैभन्दा आकर्षक पक्ष ‘अक्सन’ (बोल कबोल) प्रणाली हो । जहाँ खेलाडीहरूलाई ठूलो धनराशीमा क्लबहरूले भित्र्याए । हिजो आफ्नै खर्चमा खेल्ने खेलाडीहरू आज लाखौँ पारिश्रमिकमा अनुबन्धित हुँदा क्रिकेट एउटा गौरवमय पेसाको रूपमा पनि स्थापित भएको छ । 

मार्की खेलाडीहरूले पहिलो सिजनमै २० लाख रुपैयाँसम्मको पारिश्रमिक पाउनुले यो लिगको आर्थिक सामर्थ्र्यलाई दर्साउँछ । टोली खरिद, खेलाडीको पारिश्रमिक, प्रशिक्षक र अन्य व्यवस्थापनमा गरिएको एक अर्बभन्दा बढीको अनुमानित लगानीले एनपीएलको विशाल महत्वाकांक्षालाई पुष्टि गर्छ । 

त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानलाई विश्वस्तरीय मैदानको स्वरूप दिई, डिजिटल स्कोर बोर्ड, भीआईपी सिटिङ र डेडिकेटेड फ्यान जोनको व्यवस्थाले अब यो लिग अन्तर्राष्ट्रियस्तरको महसुस गराउन सक्षम भएको छ । सिद्धार्थ बैंकको टाइटल प्रायोजनमा करोडौँको आर्थिक सम्झौता हुनु र व्यापारिक घरानाहरूले फ्रेन्चाइज टिमको स्वामित्व लिनुले नेपाली कर्पोरेट जगतको खेलकुदप्रतिको बढ्दो आकर्षण र विश्वासलाई प्रमाणित गर्छ ।

एनपीएलको पहिलो सिजनमा सबैभन्दा ठूलो सफलता यसले विश्व क्रिकेटका स्थापित र प्रतिभावान खेलाडीहरूलाई नेपाली माटोमा आकर्षित गर्नसक्नु हो । भारतका शिखर धवन, न्युजिल्यान्डका मार्टिन गुप्टिल, जेम्स नीशम र इंग्ल्यान्डका बेन कटिङजस्ता अन्तर्राष्ट्रिय क्रिकेटरहरूको सहभागिताले एनपीएलको गरिमालाई अझ बढायो र दोस्रो सिजनमा पनि दक्षिण अफ्रिकाका फाफ डुप्लेसिस साथै टेस्ट राष्ट्रका अन्य खेलाडी पनि सामेल भइरहेका छन् । जसले नेपाली खेलाडीलाई आत्मबल र अनुभव साटासाट गर्ने मौका पाउँछन् । जुन नेपाली क्रिकेट र नेपाली नव खेलाडीहरूका लागि प्रेरणा हुनेछ ।
 
एनपीएलले नेपाली क्रिकेटरहरूलाई विश्वसामु आफ्नो प्रतिभा देखाउने वैश्विक मञ्च प्रदान गरेको  छ । अन्तर्राष्ट्रिय ब्रोडकास्टर स्टार स्पोट्र्समार्फत यस लिगको विश्वव्यापी प्रसारण हुनुले नेपालको क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट क्यालेन्डरको महत्वपूर्ण हिस्सा बनेको छ । यसले नेपाली खेलाडीहरूलाई भविष्यमा विदेशी लिगहरूमा खेल्ने ढोका खोल्नमा समेत महत्वपूर्ण भूमिका पक्कै निर्वाह गर्नेछ ।

एनपीएलको प्रभाव केवल क्रिकेट मैदानको सीमारेखाभित्र मात्र सीमित छैन, यसले नेपाली अर्थतन्त्र र सामाजिक जीवनमा पनि गहिरो सकारात्मक लहर ल्याएको छ । यसलाई नेपाली अर्थतन्त्रको नयाँ इन्जिनको रूपमा हेरिएको छ । 

क्यानको अनुमानअनुसार यस लिगले करिब ८० करोड रुपैयाँको आर्थिक गतिविधि सिर्जना गरेको छ । फ्रेन्चाइज खरिद, खेलाडी पारिश्रमिक, होटेल, विज्ञापन र मिडिया अधिकारबाट हुने कारोबारले देशको सुस्त अर्थतन्त्रमा एउटा गतिशील ऊर्जा प्रदान गरेको छ ।

विशेष गरी युवाका लागि यो लिग प्रेरणाको स्रोत बनेको छ । प्रतियोगिताले सिर्जना गरेको रोजगारीको अवसरले गर्दा खेल पर्यटन, सडक विक्रेता र सामाजिक रूपमा, एनपीएलले देशका विभिन्न क्षेत्र र समुदायका मानिसहरूलाई एउटै छानामुनि ल्याएको छ । फरक–फरक प्रान्तका टोलीलाई समर्थन गर्दा क्षेत्रीय पहिचानको उत्सव मनाइएको छ । यो लिग देशका लागि एउटा सफ्ट पावर क्रान्ति जस्तै हो, जसले नेपालको सुन्दरता र यहाँको खेल संस्कृतिको आकर्षणलाई विश्वसामु प्रस्तुत गरेको छ ।

एनपीएलले यति ठूलो सफलता प्राप्त गरे पनि यसका अगाडि केही चुनौतीका पहाडहरू अझै बाँकी छन् । यसलाई दिगो र व्यावसायिक रूपमा सफल बनाउनु क्यान र सबै सरोकारवालाहरूको प्रमुख दायित्व हो । 

हाल, अधिकांश खेलहरू कीर्तिपुरको टीयू क्रिकेट मैदानमा मात्र सीमित छन् । लिगलाई वास्तविक राष्ट्रिय स्वरूप दिनका लागि मोफसल (राजधानी बाहिरका सबै स्थान)मा पूर्वाधारको विकास गर्नु र अन्य सहरहरूमा पनि अन्तर्राष्ट्रियस्तरका खेल मैदान निर्माण गर्नु आवश्यक छ ।

त्यस्तै, लिगको पारदर्शिता र सुशासन कायम राख्दै, फिक्सिङ वा अन्य कुनै विवादबाट यसलाई मुक्त राख्नु उत्तिकै महत्वपूर्ण छ । नेपाललाई भविष्यमा एसिया कप क्रिकेट, विश्वकपजस्ता ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको आयोजक बनाउने सपनालाई साकार पार्न एनपीएललाई एक उत्कृष्ट उदाहरणका रूपमा स्थापित हुनेछ ।

 

 

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  १३:११
प्रतिक्रिया दिनुहोस्