site stats
बाह्रखरी :: Baahrakhari
देश
तीन महिनामा वैदेशिक रोजगारीमा गएका ३७९ जनाले गुमाए ज्यान
फाइल तस्बिर ।

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा गएका ३७९ जनाको मृत्यु भएको छ । वैदेशिक रोजगारी बोर्डको सचिवालयका अनुसार, २०८२ साउन १ गतेदेखि असोज मसान्तसम्मको तीन महिनाको अवधिमा उनीहरूको मृत्यु भएको हो ।

गत असोज महिनामा मात्र वैदेशिक रोजगारीमा गएका ९८ जनाको मृत्यु भएको बोर्डको तथ्यांकले देखाउँछ । 

बोर्डका अनुसार, पछिल्लो तीन महिनामा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको परिवारलाई आर्थिक सहायता रकम पनि उपलब्ध गरिएको छ । 

गत वर्षबाट वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको प्रत्येक परिवारलाई आर्थिक सहायता स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराइँदै आएको छ । त्यसअघि आर्थिक सहायता स्वरुप सात लाख रुपैयाँ दिइने गरिन्थ्यो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीका क्रममा २३६ जना विभिन्न दुर्घटनामा परी अंगभंग तथा गम्भीर बिरामी भएको बोर्डले जनाएको छ । 

गत आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीका क्रममा एक हजार ५४४ जनाको मृत्यु भएको थियो । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  १५:५७
प्रतिक्रिया दिनुहोस्