काठमाडौं । बर्दियामा आइतबार राति एक युवामाथि आक्रमण भएको छ । बार्दियाको ठाकुरबाबा नगरपालिकामा भएको आक्रमणबाट बर्दिया भुरीगाउँका ३८ वर्षीय रमेशप्रसाद तिमिल्सिना गम्भीर घाइते भएका छन् ।
उनीमाथि गोली प्रहार भएको हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार किरियापुत्री भेट्न जाँदै गर्दा तिमिल्सिनामाथि आक्रमण भएको हो । बार्दियाकै गिदरपुरका २५ वर्षीय तर्क भण्डारी, आकाश शाह, छत्र कार्की, नेपालगञ्जका सुरेश कुर्मी, प्रकाश साउद, अजय चन्दसहितको समूहले उनीमाथि आक्रमण गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सरोज पौडलेले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । उनले तिमिल्सिनामाथि गोली प्रहार भएको हुन सक्ने बताए । "हामीले अनुसन्धानका लागि दुईजनालाई पक्राउ गरिसकेका छौँ । हातमा गोली लागेको जस्तो घाउ देखिन्छ । स्थानीयहरूले पनि गोली नै चलेको जानकारी दिइका छन् । हामी अनुसँन्धान गर्दैछौँ," उनले भने ।
तिमिल्सिनामाथि रडसमेत प्रहार भएको छ । घाइते तिमिल्सिनालाई उपचारका लागि मेडिकल कलेज कोहलपुर, बाँके लगिएको छ । उनको मेडिकल कलेजको आईसीयूमा उपचार भइरहेको छ ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा ठाकुरबाबा नगरपालिका–४ का २० वर्षीय प्रकाश साउदसहित दुईजनालाई सोमबार पक्राउ गरेको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको र अन्य फरार रहेका प्रहरीले जानकारी दिएको छ ।
स्थानीय तहमा भएको अनियमितताको बारेमा सामाजिक सञ्जालमार्फत प्रश्न उठाउने गरेका तिमिल्सिनामाथि सोही कारण आक्रमण भएको हुन सक्ने स्थानीयहरूले आशंका गरेका छन् ।
पछिल्लो समय 'जनेजी' आन्दोलनका क्रममा लुटिएका प्रहरीका हतियार आपराधिक समूहसम्म पुगेको हुन सक्ने भएकाले आपराधिक घटना हुने आशंका प्रहरीको छ ।