site stats
बाह्रखरी :: Baahrakhari
देश
त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुखसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसहित आठजना र एक निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

उनीहरूले ५५ लाख ८९ हजार ६३ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियारले सोमबार (कात्तिक २४) विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिराचन्द्र धराला, शिक्षा अधिकृत भीमबहादुर थापा, वरिष्ठ लेखा सहायक रुपचन्द्र बुढा र एमआईएस अपरेटर हरिचन्द्र विष्ट छन् ।

यस्तै, त्रिपुरासुन्दरी नगरपालिका–५ स्थित खदाङदेखि ल्हाँसम्मको मोटरबाटो स्तरोन्नतिको खरिद प्रक्रिया मूल्यांकनमा संलग्न बोलपत्र मूल्यांकन समितिका सदस्य शिशिरकुमार गुरुङ, दिव्या निर्माण सेवा प्रा.लि दुनै, डोल्पा र उक्त निर्माण सेवाको प्रोप्राइटर भीमराज न्यौपानेविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । 

त्रिपुरासुन्दरी नगरपालिकाको आर्थिक वर्ष २०७८/७९ मा वडा नं. ५ स्थित खदाङदेखि ल्हाँसम्मको मोटरबाटो स्तरोन्नतिका लागि ठेक्का लगाउँदा अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धान हुँदा उनीहरूले ५५ लाख ८९ हजार ६३ हजार रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । 

 

 

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  १५:०४
प्रतिक्रिया दिनुहोस्