site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बु गाउँपालिकाका अध्यक्षलाई घिसिङको आग्रह
फाइल तस्बिर ।

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा भइरहेको अवरोध हटाउन आवश्यक पहल गरिदिन हेलम्बु गाउँपालिकालाई आग्रह गरेका छन् । 

विगतमा गरिएका सम्झौता कार्यान्वयनको माग राखी आयोजना प्रभावितले मुहान बन्द गरेका थिए । काठमाडौं उपत्यकाकामा खानेपानी ल्याउन रोकिएपछि मन्त्री घिसिङले हेलम्बुका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई समस्या समाधानका लागि आवश्यक पहल र सहयोग गरिदिन आग्रह गरेका हुन् ।

प्रधामन्त्री सुशीला कार्कीले सोमबार (कात्तिक २४) मेलम्ची खानेपानीमा देखिएको समस्या समाधान गर्न निर्देशन दिएकी थिइन् । हाल खानेपानी मन्त्रालयका जिम्मेवारी कार्कीकै जिम्मेवारीमा छ । 

घिसिङले विगतमा गरिएका सहमति तथा हाल राखिएका माग वार्ता र छलफलबाट समाधान गर्न सरकार तयार रहेको उल्लेख गरेका छन् । मन्त्री घिसिङले मेलम्चीबाट पानी आउन बन्द हुँदा काठमाडौं उपत्यकामा खानेपानीको समस्या देखिन थालिसकेकाले यसमा गम्भीर बनिदिन आग्रह गरे । 

गाउँपालिकाका अध्यक्ष शेर्पाले विगतमा गरिएका सम्झौता सरकारले कार्यान्वयन गर्नुपर्ने बताए । आयोजनाले लिएको जग्गा तथा घरभाडा, विगतको निर्माण व्यवसायी सीएमसीका सामान आपूर्तिकर्ताले पाउनुपर्ने रकम भुक्तानी गर्नुपर्ने, मेलम्ची बजारदेखि मेलम्ची घ्याङसम्मको सडक निर्माण गरिनुपर्ने, मेलम्ची नदीबाट पथान्तरणपछि सुन्दरीजलमा प्राप्त हुने पानीको परिमाणका आधारमा काठमाडौं उपत्यकाका खानेपानी लि.ले बिक्री गरेबापतको २५ प्रतिशत गाउँपालिकाको विकासका लागि उपलब्ध गराउनुपर्ने बताए । 

तत्कालीन खानेपानीमन्त्रीसँग २१ असोज ०८१ मा मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समिति, हेलम्बु गाउँपालिका र गाउँपालिकामा क्रियाशील राजनीतिक दलका प्रतिनिधिबीच सहमति भएको थियो । 

 

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  १४:०४
प्रतिक्रिया दिनुहोस्