site stats
बाह्रखरी :: Baahrakhari
देश
कोखमै हुँदा बुबा गुमाए, जेनजी आन्दोलनमा आँखा ! (भिडियो)

काठमाडौं  । “तीन दिनसम्म खाना खाएन । रातभर सुतेन । मनमा कुरा खेलाएर रोएर मात्रै बस्यो,” भक्तपुरका २५ वर्षीय विपीन बाइजुकी दिदी बिन्द्राले जेनजी आन्दोलनपछिका दिनहरू सम्झिइन् ।

गत भदौ २३ गतेको जेनजी प्रदर्शनका क्रममा साथीसँग नयाँ बानेश्वर पुगेका विपीन त्यो दिन सकुशल घर फर्किए । भोलिपल्ट जिल्ला प्रशासन कार्यालय भक्तपुरमा भइरहेको जेनजी प्रदर्शन हेर्न पनि पुगे ।

नयाँ बानेश्वरमा २३ गते प्रहरीको गोली लागेर २२ जनाको मृत्यु भएपछि उग्र बनेका प्रदर्शनकारीहरूको भीड थाम्न नसक्ने अवस्थामा पुगिसकेको थियो ।

प्रदर्शन मत्थर पार्न प्रहरीले प्रहार गरेको टियर ग्याँस लागेर विपीनको आँखामा चोट पुग्यो । २४ गतेको घटना सम्झँदै विपीन भन्छन्, “सीडीओ अफिसमा प्रहरीले टियर ग्याँस हान्यो । त्यही ग्याँस लागेर ढलेँ । त्यसपछि कसले अस्पताल पुर्‍यायो, केही थाहा पाइनँ ।”

Bipin_Brinda-(3)-1762872465.jpg
विपीन घाइते हुँदासम्म दिदी बिन्द्राले भाइ जेनजी प्रदर्शनमा गएको भेउ समेत पाएकी थिइनन् । भाइ घाइते भएको करिब चार घण्टापछि मात्रै उनलाई फोन आएको थियो । “भाइ आन्दोलनमा गएको केही थाहा थिएन । तर, एक्कासि चार घण्टापछि फोन आयो । नचिनेको मान्छेले स्कुटरमा भाइलाई हतार–हतार भक्तपुर अस्पताल पुर्‍याउनु भएको रहेछ । अस्पताल पुगेलगत्तै त्यहाँ उपचार नहुने भनेपछि एम्बुलेन्समा टिचिङ अस्पताल पुर्‍यायौँ,” उनले भनिन् ।

भक्तपुर नगरपालिका–१, भार्वाचो टोलका विपीनको टिचिङ अस्पतालमा अपरेसन त भयो, तर आँखाको ज्योति भने फर्किएन । “अस्पतालले अपरेसन त गर्‍यो । आँखाको ठाउँमा स्टिल हालिएको छ । डाक्टरले एउटा आँखा उपचार गर्न नमिल्ने गरी ‘ड्यामेज’ भएको बताउनुभयो,” विपीनले भने ।

भावुक हुँदै बिन्द्रा भन्छिन्, “भाइले बोल्न रुचाउँदैन । जान्दाजान्दै पनि बोल्दैन । एक्लो भाइ कोखमै हुँदा बुबा गुमायौँ । जेनजी आन्दोलनका नाममा उसको एउटा आँखा पनि गुम्यो ।”

२०७२ सालको भूकम्पमा घर भत्किएपछि विपीनको परिवार प्रायः मामाघरमै बस्ने गर्छ । “भूकम्पमा घर भत्कियो । त्यसपछि काकाको घरमा ‘पार्टिसन’ गरेर एउटा कोठामा बस्छौँ । प्रायः मामाघरमै बस्ने हो,” बिन्द्राले भनिन् ।

उनकी आमा भने काम गर्ने ठाउँमै बस्ने गर्छिन् । विपीन घरका एक्लो छोरा हुन् । उनकी दुई दिदी र एक भाइ छन् । विपीनले ११–१२ सकाएर बीबीएस पढ्ने क्रममा बीचमै पढाइ छोडेका थिए ।

“१२ सकाएर बीबीएस पढ्दै थिएँ । विदेश जान मन थियो । धेरै पैसा कमाउने सोच थियो । तर अब एउटा आँखा छैन । पहिले जे पनि गर्न सक्छु भन्ने लाग्थ्यो, तर, अब केही पनि गर्न सक्दिनँ जस्तो लाग्छ । जेनजी भन्न पनि मन छैन,” विपीनले भने ।

म्यानेजमेन्ट पढेकी दिदी बिन्द्रा फाइनान्समा काम गर्छिन् । उनले आफ्नो अफिसबाट अग्रिम तलब र साथीबाट ऋण लिएर भाइको उपचार गरिरहेकी छिन् ।

Bipin_Brinda-(4)-1762872465.jpg
यतिबेला आँखाको कारणले टाउकोमा समेत असर पर्ने चिन्तामा विपीन छन् । “मनमा धेरै कुरा खेलाउँछ । सधैँ मानसिक तनावमा हुन्छ । मनोबल एकदमै कमजोर बनेको छ । उसका साथीहरूसँगै खेल्न पठाउँछु । आँखा निकाल्ने भनेपछि अपरेसन गर्न दिएको थिएन,” बिन्द्रा भन्छिन् ।

विपीनलाई अर्को अपरेसन गर्न अस्पतालले सोमबार बोलाएको छ । परिवारका अनुसार, ‘सिलिकन आईज’का लागि बोलाइएको हो । “पहिलो अपरेसनको बेला आवत–जावतबाहेक करिब २५ हजार खर्च भएको थियो । यसपटक महँगो हुन्छ भन्नुभएको छ,” उनी भन्छिन् । राम्रै खालको ‘आर्टिफिसियल’ आँखा राख्न साढे तीन लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

मन्त्रिपरिषद्को भदौ ३० गते बसेको बैठकले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको थियो । घाइतेहरूका लागि १६ वटा अस्पतालमा जेनजी क्लिनिक सञ्चालन गरिएको थियो ।

अन्य बिरामीझैँ आफूहरूले उपचारका लागि राहत पनि नपाएको परिवारको गुनासो छ । “सामाजिक सञ्जाल–मिडियामा नबोलेर पनि होला, हामीले राहतस्वरूप केही सहयोग पाएनौँ । थप उपचारका लागि सहयोग चाहिएको छ,” बिन्द्राले भनिन् ।

जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूका भैपरी खर्चका लागि सरकारले ४८ लाख ५८ हजार रुपैयाँ निकासा दिएको छ । “देशमा नयाँ सरकार बनेको छ, तर मेरो भाइको नयाँ आँखाले कहिल्यै देख्ने छैन । उसको जीवनरक्षाका लागि सरकारले रोजगारीको सुनिश्चितता गरिदिओस् । सरकारप्रति यत्ति बिन्ती छ,” बिन्द्राले भनिन् ।

प्रत्येक घाइतेलाई २० हजार रुपैयाँका दरले वितरण गरिने सरकारले जनाएको छ । “परिवर्तनको कुनै आभास हुन सकेको छैन । चुनाव भएर परिवर्तन आउँछ कि आउँदैन, थाहा छैन । जेनजीका घाइतेलाई सरकारले पूर्णरूपमा बेवास्ता गरिदियो । जेनजी एकातिर, सरकार अर्कोतिर गइरहेको छ,” विपीनले भने ।

हालसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, जेनजी प्रदर्शनका क्रममा दुई हजार ४२९ जना घाइते भएका थिए । सरकारले जेनजी प्रदर्शनका मृतकलाई सहिद घोषणा गर्ने र परिवारलाई १५ लाख रुपैयाँ राहत दिने निर्णय गरेको थियो । सो निर्णयअनुसार, ४५ जनालाई सहिद घोषणा पनि गरिसकेको छ । तस्बिर/भिडियो : सुनिल प्रधान ।

 

 

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  ११:२९
प्रतिक्रिया दिनुहोस्