कास्की । जेनजी आन्दोलनमा सर्वसाधारणका सवारी चालक अनुमति पत्र (लाइसेन्स) र सवारी चोरी गर्नेलाई कास्की प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भदौ २४ को आन्दोलनमा लुटपाट, तोडफोड तथा आगजनीमा संलग्न भएको आरोपमा गोरखा घर भई पोखरा–५ बस्ने २८ वर्षका दिपक कुँवर र धादिङ घर भई पोखरा–५ मा नै बस्ने २३ वर्षका दिपक राना मगरलाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट प्रहरीले डेल कम्पनीको सीपीयू तीनवटा, मनिटर एक थान, किबोर्ड, माउस, प्रिन्टर, मल्टिप्लगसहित विभिन्न व्यक्तिका नाममा रहेको ३६ वटा सवारी चालक अनुमतिपत्र बरामद गरेको छ । यसबाहेक बा ५९ प ८४३८ नम्बरको पल्सर मोटरसाइकल पनि बरामद गरिएको कास्की प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए ।
उनीहरूलाई अदालतबाट चार दिनको म्याद थप गरी आपराधिक उपद्रव गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको छ । यसबाहेक प्रहरीले आन्दोलनकै क्रममा जिल्ला प्रहरी कार्यालयमा राखिएको सवारीसाधन चोरी गर्ने थप दुईजनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार, जिल्ला ट्राफिक कार्यालय अगाडि पार्किङमा राखिएको ग ६ प २०६१ नम्बरको मोटरसाइकल चोरी गर्ने पोखरा–५ का विश्वराज परियार र पोखरा–१४ बस्ने देवकुमार लोदिया पक्राउ परेका हुन । उनीहरूले प्रहरी कर्मचारीकै बाइक चोरी गरेर चलाएका थिए । उनीहरूलाई चोरी मुद्दामा ६ दिन म्याद थप भई अनुसन्धान भइरहेको छ ।