काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका–१२, टेकु ह्युमतबाट अवैध लागुऔषध ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले उक्त पदार्थ ९२० मिलिग्राम, नगद ३२ हजार रुपैयाँ र मोबाइल पाँचवटासहित पक्राउ परेका दुईजनाको घरबाट रिभल्वर दुईथान र गोली समेत बरामद गरेको छ ।
प्रहरीले लागुऔषधसहित काठमाडौं महानगरपालिका–१२ का १९ वर्षीय सुजन श्रेष्ठ र २१ वर्षीय अमर शाहीलाई पक्राउ गरेको हो । त्यसपछि शाहीको घरपछाडि लुकाइराखेको रिभल्वर एकथान र गोली दुई राउन्ड बरामद गरिएको थियो ।
यस्तै, सुजनको घरमा लुकाइराखेको रिभल्वर एकथान र गोली चार राउन्ड फेला पारेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं एसपी काजीकुमार आचार्यले जानकारी दिए ।
“हाम्रो टोली र प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको थियो । थप अनुसन्धानका क्रममा उनीहरूको घरबाट शनिबार रिभल्वर दुईथान र गोली बरामद गरिएको छ,” उनले भने ।
उक्त विषयमा थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी आचार्यले बताए । रासस