site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अर्थ मन्त्रालय हरेक निर्णय कार्यान्वयन गरिहाल्ने अवस्थामा छ : मन्त्री खनाल
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले कुनै पनि निर्णय तत्काल कार्यान्वयन गर्ने प्रणाली विकास गरिएको जिकिर गरेका छन् । शनिबार (कात्तिक २२) काठमाडौंमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अर्थ मन्त्रालयले कुनै पनि विषय सुन्ने, छलफल, निर्णय गर्ने र कार्यान्वयनमा तत्काल लगिहाल्ने प्रणालीको विकास गरेको उनले जिकिर गरे । उनले ‘जेनजी’ आन्दोलनको मर्मानुसार आफूले भ्रष्टाचार नियन्त्रणका निम्ति भन्सार प्रशासनमा आमूल सुधार गर्ने प्रयत्न गरेको समेत बताए ।

अर्थमन्त्री खनालले रोजगारीका निम्ति विदेश जानुपर्ने अवस्था आउन नदिन आफूले सक्दो पहल गरिरहेको पनि बताए ।

कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालको भनाइ पढ्नोस्–
हाम्रो अहिले अर्थ मन्त्रालय प्रणाली सुन्ने, छलफल गर्ने, निर्णय गर्ने, कार्यान्वयन गरिहाल्ने अवस्थामा छौँ । कुनै पनि निर्णय गर्न विलम्ब गरेका छैनौँ । आश्वासनले मुलुकको विकास हुँदैन । आश्वासनले यहाँहरू (निजी क्षेत्र)लाई आश्वस्त पार्न सकिँदैन । जेनजी मुभमेन्टले हामीलाई एउटा घचघच्याएको विषयवस्तु के हो भने मुलुकमा सुशासन हुन सकेन भने, भ्रष्टाचार न्यूनीकरण हुन सकेन भने जस्तोसुकै कुरा गरे पनि आमनागरिकले मुलुकभित्र काम गर्ने अवसर पाउन सक्दैनन् । मुलुकभित्र काम गर्न नसकेर सबै विदेश जाने चाहना राखिरहनुपर्छ भन्ने उहाँहरूको हो । त्यसको निम्ति प्रत्येक मन्त्रालयमा सुधारको काम भइरहेको छ । अर्थ मन्त्रालयमा भन्सार प्रशासनमा लागत कम हुने गरी आमूल सुधार गर्ने प्रयत्न गरिएको छ । त्यसको व्याख्या मैले लामो गर्दिनँ । न्युज एजेन्सी नेपाल 

 

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  १६:५४
प्रतिक्रिया दिनुहोस्