अघिल्लो शुक्रबार विराटनगर ओर्लिंदा दर्के पानीले स्वागत गरिरहेको थियो । काठमाडौंमा हवाईजहाज चढिरहँदा पानी परेको थिएन । बादल थियो, तर उज्यालो ।
विराटनगरमा ठ्याक्कै उल्टो मौसम भेटियो । कालो न कालो बादल अनि बाक्लो झरी । बाहिर निस्किँदासम्म जुत्ता भिजेर मोजाले समेत चिसो खाइसकेको थियो । मोजाको चिसो खुट्टाका औँलाहरूले चाल पाइरहेको थियो ।
अँध्यारो भइसकेको थियो । मलाई इटहरीसम्म पुग्नु थियो । एपेक नेपालको काव्यमहोत्सव इटहरीमा हुँदै थियो । त्यसैले त्यहाँ पुग्नु थियो ।
साधन केही फेला परेन । त्यहाँ रहेका गाडीहरूले १५/१७ सय रुपैयाँको कुरो गरेपछि ‘एक रात विराटनगरमै बिताऊँला’ भनेर सोच्न बाध्य बनायो ।
हठात् भाइ रोशनलाई सम्झिएँ । रोशन (डा. रोशन पोखरेल) अचेल विराटनगरमै छन् भन्ने थाहा थियो । त्यसैले उनलाई फोन गरेँ ।
‘दाजु, म आइपुगेँ’ भनेको करिब १५/२० मिनेटपछि रोशन एयरपोर्टमा थिए ।
रोशनको गाडीमा केही घर घरायसीका कुरा गर्दै इटहरी पुगेँ । सानीमा सानोबुवा (रोशनका आमाबुवा) विराटनगरमै हुनुहुँदो रहेछ । तर, भेटघाट गर्ने मौका मिलेन । अँध्यारो भइसकेकोले इटहरीकै बाटो समाएका थियौँ हामीले ।
०००
एपेक नेपालले साहित्यको विभिन्न विधामा काम गर्दै आइरहेको छ । कहिले किताब विमोचन, कहिले साहित्यिक भेटघाट, कहिले कृति अन्तरक्रिया त कहिले कविता विशेष कार्यक्रम ।
नेपाली साहित्यको उन्नयनमा एपेक नेपालको काम लोभलाग्दो छ । झनै गत वर्षदेखि ‘विश्व–ज्योति काव्य सम्मान’ र ‘विश्व–ज्योति पाण्डुलिपि पुरस्कार’को व्यवस्था गर्दै एपेक संस्थागत सक्रियताको मार्गमा दौडिरहेको छ ।
एपेकलाई हाँकिरहेका छन्, संस्थाका अध्यक्ष चर्चित कवि विश्वविमोहन श्रेष्ठ र कार्यकारी निर्देशक कवि राजेन्द्र शलभले । दुवै ३० को दशकका कवि ।
गाडीमै थिएँ, शलभ दाइको म्यासेज आयो, ‘होटेलको रुममा सामान राखेर कोसी कलेजको भवनमा आऊ है !’
रोशनले कोसी कलेजको गेटमा मलाई छोड्दै विराटनगरको बाटो समाए । म ६ तलामाथि रहेको हलमा प्रवेश गरेँ । त्यहाँ विशेष कवि गोष्ठी हुँदै रहेछ, कलेजकै व्यवस्थापनमा ।
ढिलो पुगे पनि केही राम्रा कविका मन छुने कविताहरू सुन्ने मौका पाएँ । केही कविताहरूले पूर्वका केही कविहरूको नयन सजल बनायो । आजका युवापुस्ताका कविहरूको काव्यिक क्षमता त्यसैले दर्साउँदै थियो ।
कवि गोष्ठीको अन्त्यमा चर्चित कवि मनु मञ्जिलले काव्यिक मन्तव्य दिए । उपस्थित युवा कविहरूको काव्यचेत र सिर्जनाको चर्चा गरे ।
कार्यक्रमपछि कवि मनु र देवान किराँतीसँग मैले पुनः परिचय गरेँ । पुनः परिचय यसकारण, २०७१ सालको फागुन महिनामा हेटौँडामा भएको एक कार्यक्रममा दुवै कविसँग परिचय भएको थियो । त्यस बेला हामी सबै एउटै होटेलमा बसेका थियौँ ।
नामले भन्दा ठामले दुवै कविले मलाई ठम्याएँ । अनि, केही बेर हामी हाँस्यौँ पनि । अब सायद यी कविहरूसँग त्यस किसिमको दूरी नहोला ! मैले यही सोचेँ ।
रात्रिकालीन भोजनको व्यवस्था त्यहीँ रहेछ । खाना खाईवरी विश्व दाइ, शलभ दाइ, उषा शेरचन दिदी, प्रदेशसभा सदस्य तथा कवि मीना श्रेष्ठ हामी सबै संगीतचोकमा रहेको होटेलतिर फर्कियौँ ।
होटेल पुगेपछि सम्झिएँ, विराटनगर र इटहरीको झरी थेग्ने मेरो छाता छुटेछ । पानी नपर्दा छाता बिर्सिन्छ । त्यही भयो । सोचेँ, छाताले मलाई भक्कु गाली गर्दै होला, ‘हुस्सुु मानिस !’ भनेर । खोलो तर्यो लौरो बिर्स्यो भनेझैँ बिर्सिएँ ।
भोलिपल्ट बिहान एकछिन इटहरी बजार छान मारेँ । केही कप लोकल चियाको स्वाद लिएँ । अनि, होटेल फर्किएँ ।
काव्यमहोत्सवको समय ११ बजेका लागि तोकिएको थियो । कार्यक्रम तीन चरणमा विभाजित थियो । पहिलो चरणमा प्रमुख अतिथि कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गर्दै थिए ।
उद्घाटनलाई नवीनस्वरूप दिइयो । मुख्यमन्त्री कार्कीले आफूलाई मन परेको कविता वाचन गरेर उद्घाटन गरे । उनले कवि मनु मञ्जिलको चर्चित कविता ‘दुस्मन’बाट केही हरफ वाचन गरे–
मेरो एउटा दुस्मन छ
जो मलाई फोहोरजत्तिकै घृणा गर्छ
तर म उसलाई
फूलजत्तिकै मन पराउँछु...
त्यसपछि औपचारिक कार्यक्रममा मुख्यमन्त्रीको मन्तव्यसँगै विश्वविमोहन, शलभ, स्थानीय सांसद तथा कार्यक्रम सल्लाहकार कवि मीनाले आफ्ना विचार राखे ।
मीना श्रेष्ठले इटहरीमा एउटा साहित्यिक सदन निर्माणका लागि पहल भएको उल्लेख गर्दै त्यसका निम्ति प्रदेश सरकारसँग सहयोगको अपेक्षासहित आफ्नो धारणा राखिन् ।
प्रदेश सरकारका अर्का मन्त्री सदानन्द मण्डलले सहयोग गर्ने प्रतिबद्धता जनाए । र, पहिलो चरणको कार्यक्रमलाई विश्वविमोहनले आफ्नो भावनासहित बिट मारे ।
दोस्रो चरणमा मुख्यमन्त्रीसहित साहित्यकार उषा शेरचन र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सञ्जय बान्तवाले १४ कविका कवितामाथि कोरिएका चित्रकला प्रदर्शनीको संयुक्त रूपमा उद्घाटन गरे ।
मुख्यमन्त्री कार्कीले बडो अभिरुचिपूर्वक केही कविता पढ्दै चित्रहरू अवलोकन गरे । कसैकसैलाई उनले मनमा लागेका कुरा पनि सोधे ।
कवि र कलाकार दुवै उनको यस कार्यबाट हौसिएका थिए । कवि, कलाकारका अनुहारमा उज्यालो फैलिएको प्रस्ट देखिन्थ्यो ।
केही समयको चिया फुर्सदपछि एपेकको मूल कार्यक्रम सुरु भयो, जहाँ हरेक प्रदेशका दुईदुईजना गरी सात प्रदेशका १४ कविले आआफ्ना शक्तिशाली रचना वाचन गरे ।
कवि अस्मिता बिष्टले ‘गाउँमा खुलेको डिपार्टमेन्ट स्टोर’ शीर्षकको कविता वाचन गरिन् भने मनोज लोहारले ‘घर सम्झिरहेको मानिस’ वाचन गरे । त्यसपछि कवि एलिसा एकलास (रगतको आहालमा निलो आकाशको छाया), रोशन तिमिल्सिना (अवचेतनाकृति), रसिक राज (बयरको दाना), गणेश श्रमण (ब्रोइलर कुखुराहरूका सपना), कल्पना पलक (कर्णालीको कथा), खेम बतास (साला जिन्दगी), धीरज राई (राष्ट्रवादीय संकट), सपना कर्ण (सपना र झरी), निकेश गिरी (पुच्छर भएका मान्छे), चन्द्र जीएम (इतिहासको जिउँदो साक्षी), लक्ष्मण मानव (साम्राज्य निर्माण) र मोहित जोशी (अनआश्रयः)ले उल्लेखित शीर्षकका आफ्ना कविताहरू वाचन गरे ।
वाचन गर्दा कवितामाथि कोरिएका चित्रसहित कलाकारहरू डिल्लीकृष्ण आले, सञ्जय बान्तवा, जेपी चौधरी, शिव छाङ्छा राई, सुशन धिमाल, युवराज रिजाल, तिलक राई, यशोदाकुमारी सिंह, अनुराधा थापा, विक्रम श्री र महेन्द्र राई मञ्चमा उपस्थित रहे ।
कविता वाचन हुँदा त्यस क्षेत्रका कवि, साहित्यकारहरूले नवकविहरूलाई जोडदार तालीको ध्वनिसाथ स्वागत गरिरहेका थिए ।
साँझपख स्थानीय कविहरू एपेकको व्यवस्थापनमा आएका १४ कविको प्रशंसामा आफ्ना शब्द खर्च गरिरहेका थिए । कविहरू मनु मञ्जिल, देवान किराँती, बद्री भिखारी, लीला अनमोललगायतले चियाचर्चामा नवकविहरूकै चर्चा गरे ।
हरेक सर्जकलाई ऊर्जाको महासागर उडेल्ने सबैकी दिदी उषा शेरचनले नवकविहरूलाई दिएको हौसला र प्रेरणाले यो पंक्तिकार पनि उत्प्रेरित भइरहेको थियो ।
काव्यमहोत्सव सकिएको साँझ कविहरू तथा आयोजक समितिले महोत्सवमाथि छोटो अन्तरक्रिया गर्यो । सबै खुसी थिए । आयोजकप्रति आभारी थिए । सबैले पूर्वको यो नगरीमा आएर पूर्वेली कवि, साहित्यकारहरूसँग भेट्ने, नजिकिने मौका पाएकोमा साधुवाद व्यक्त गरे ।
त्यहीँ कुरा चल्यो, काव्यचित्र कार्यक्रमको । काव्यचित्र कार्यक्रमअन्तर्गत अघिल्लो वर्ष र यस वर्ष पनि कविका कवितामा चित्रकारले चित्र बनाए ।
कवि विश्वविमोहन र शलभ भन्दै थिए, ‘अबको काव्यचित्र कार्यक्रममा चित्रकारले बनाएको चित्रमाथि कविले कविता कोर्नेछन् ।’
०००
साहित्य, कला, संस्कृतिका क्षेत्रमा इटहरी नगरी धनी रहेको प्रस्ट देखिन्छ । सोही नगरीमा कवि र साहित्यकारहरूसँगै भेटिन्छ, म्याट्रिक्स अनि संगीत साधना प्रतिष्ठान ।
आइतबार बिहान कला सर्जक विक्रम श्रीले आफ्नो कलाकारखाना ‘म्याट्रिक्स’मा निम्त्याएका थिए ।
कवि मनु मञ्जिलको अगुवाइमा विक्रम श्रीको निवास पुग्दा त्यो आफैँमा एउटा कला, संस्कृति र पर्यावरणको विशाल भण्डार रहेको अनुभूति भयो ।
रुखैरुख र अनगिन्ती बोटबिरुवाको बीचमा विक्रम श्रीद्वारा निर्मित विभिन्न प्रस्तर मूर्तिहरू त्यहाँ खडा थिए । त्यहीँ बीचमा थियो, एउटा नाट्यघर, जहाँ केही समयअघि मात्रै एउटा कार्यक्रम भएको थियो । समयसमयमा त्यहाँ नाटक हुँदै आएको विक्रम श्री भन्दै थिए ।
विक्रमजीको स्याहारसुसारमा उभिएका हरिया रुख बिरुवाका बीचमा देखियो पर्यटक चरा धनेस । केही पर एउटा रुखमा देखियो माहुरीको ठूलो घार ।
विक्रम श्री कलासंस्कृतिमा मात्रै चासो राख्दैनन्, उनको चासो पर्यावरण जोगाउनमा पनि उत्तिक्कै रहेको त्यहाँको वातावरणले देखाइरहेको थियो । विक्रमजीको यो कार्यले उनीप्रति नतमस्तक बनायो ।
त्यसपछि हामी लाग्यौँ संगीत साधना प्रतिष्ठानतर्फ । सर्जक राजु केसीले बिहानै बोलाए पनि विक्रमजीको पर्याशालाको भ्रमणले समय लियो । उषा दिदी, मीनाजी र निमेश संगीत प्रतिष्ठान पुगिसकेका थिए ।
राजु केसीलगायतको पहलमा ३० वर्षअघि नै स्थापित इटहरीको यो संगीतशाला आफैँमा महाविद्यालयसरह उभिएको छ, जहाँ विद्यार्थीहरूले संगीतको विधागत ज्ञान लिँदै आएका छन् । यहाँ संगीतका हरेक विधाको शिक्षादीक्षा दिँदै आएको राजु केसीले जानकारी गराए ।
त्यहीँ केही कलाकारहरूले उषा दिदीको रचनाको एउटा गीत गाएर सुनाए । यो सांगीतिक परिवेशले सबैलाई ऊर्जा दियो ।
अबको यात्रा थियो विराटनगरतिरको । हामी सबै त्यता लाग्यौँ ।
त्यहीँ भेटिए, विराटनगरका लोकप्रिय साहित्यकार विवश पोखरेल र गोकुल अधिकारी । काठमाडौंबाट पुगेकी ममता मृदुल पनि त्यहीँ भेटिइन् ।
अपराह्न साढे १२ बजिसकेकोले सबै भोकाएका थियौँ । अरूभन्दा खानाले नै सबैलाई तान्यो ।
साँझ विराटनगरमा आयोजना गरिने साहित्यिक कार्यक्रमका लागि विवशजी र गोकुलजी व्यवस्थापनमा जुटे । दुवै भन्दै थिए, ‘राजेशजी, बेलुकीको कार्यक्रम भ्याउने गरी टिकट लिएको भए हुने !’
आफू ४ बजे एयरपोर्ट पुग्नुपर्ने भएकोले कार्यक्रममा उपस्थित हुन सक्ने सम्भावना नै थिएन ।
दिउँसोको हलुका बादल छेडेर निस्किएको घाममा शलभ दाइ र म विराटनगर बजारको चक्कर लगाउन थाल्यौँ । अरू सबै होटेलमै आराम गर्न बसे ।
थोरथोरै गर्मी भए पनि चियाको तलतलले समायो । त्यहीँ भेटियो एउटा लोकल चियापसल । त्यहाँ चिया पिउनेहरूको जमघट राम्रै थियो ।
हामीले पनि दुई कप चिया माग्यौँ । बाहिर घाममै बसेर पियौँ । त्यो चियाले मोहनी नै लगायो । शलभ दाइले भने, ‘भाया, एकएक कप फेरि थपौँ !’
चिया थप्ने मन मलाई पनि थियो, तर भन्न सकिरहेको थिइनँ । शलभ दाइले सजिलो बनाइदिए । र, फेरि थपियो चिया !
अब यहाँबाट म एयरपोर्ट जानु थियो, शलभ दाइ होटेल ।
