site stats
बाह्रखरी :: Baahrakhari
विचार
नेपाली कांग्रेसको मोड : नेतृत्वसँगै संस्कारको पुनर्निर्माण

नेपालको लोकतान्त्रिक यात्रामा नेपाली कांग्रेस एउटा दलमात्र नभएर इतिहासको मेरुदण्ड हो । आज पनि लोकतन्त्रको मूल्य, नागरिक स्वतन्त्रता र सहिष्णुताको कुरा उठ्दा कांग्रेसको नाम स्वाभाविक रूपमा आउँछ । तर यही पार्टी अहिले एउटा निर्णायक मोडमा पुगेको छ जहाँ अतीतको गौरव र वर्तमानको चुनौतीबीचको सन्तुलन यसको अस्तित्वको प्रश्न बनेको छ । कांग्रेसले अब आफ्नो ऐतिहासिक भूमिकालाई नयाँ युगको मागअनुसार पुनःपरिभाषित गर्नुपर्ने समय आएको छ ।

नेपाली कांग्रेस आज एउटा मोडमा उभिएको छ  । एकातिर विशेष महाधिवेशनको मागले वातावरण तातिएको छ अर्कोतर्फ चरम गुटबन्दी र अविश्वासले पार्टीको जरा भित्रभित्रै कमजोर बन्दै गएको छ । प्रश्न उठ्छ — के पार्टीको शक्ति नेतृत्व परिवर्तनले मात्र बढ्ला ? वा नेतृत्वसँगै पार्टीको जग नै बलियो बनाउन आवश्यक छ ?

आजको राजनीतिक परिदृश्यमा कांग्रेसको संकट व्यक्ति र नेतृत्वको प्रतिस्पर्धामात्र होइन विचारको दिशाहीनता पनि हो । यो आत्मसमीक्षाको क्षण हो जहाँ पार्टीले आफ्नो अतीतको गौरव सम्झँदै भविष्यको रणनीति पुनःनिर्धारण गर्नुपर्छ । अहिलेको वास्तविक चुनौती नयाँ नेतृत्वका साथै नयाँ सोच र कार्यशैली पनि हो । 

कांग्रेसको आत्मा लोकतान्त्रिक मूल्य हो तर यही मूल्य कहिलेकाहीँ आन्तरिक संरचना र निर्णय प्रक्रियामा पुग्दा हराएको देखिन्छ । विशेष महाधिवेशनको चर्चा जति भए पनि त्यसले दीर्घकालीन समाधान तबमात्रै दिन सक्छ जब पार्टीको संगठनात्मक जग सुदृढ बनाइन्छ र नयाँ पुस्ताको प्रवेशसँगै वडा तहदेखि नै समायोजन र छनोट हुन्छ  ।

१. संगठनात्मक पुनर्संरचना — वटवृक्ष होइन घना वन बनाऊँ

नेपाली कांग्रेस लामो समयदेखि केन्द्रीकृत संस्कारमा चल्दै आएको छ । निर्णय माथिबाट तल पठाइन्छ तर आवाज तलबाट माथि पुग्दैन । यस्तो प्रणाली अब चल्दैन । पार्टीले अब “वटवृक्ष” होइन, “घना वन” बन्नुपर्छ जहाँ प्रत्येक शाखा, पात र जराले समान ऊर्जा पाउँछ । यसको अर्थ वडा र पालिका तहका संरचनामा जीवन फर्काउनु हो ।

वडास्तरका समितिहरूलाई नीति निर्माण र स्थानीय एजेन्डा तय गर्ने अधिकार दिनु । स्थानीय नेतृत्वलाई जिम्मेवारीसहित जवाफदेही बनाउनु । आन्तरिक निर्वाचनलाई अनिवार्य र पारदर्शी बनाउनु । जब वडा तह सक्रिय हुन्छ अनि कांग्रेस केन्द्रको मात्र पार्टी रहँदैन जनताको घरभित्रको पार्टी बन्छ ।

संगठन सुदृढीकरणका लागि आन्तरिक प्राविधिक सुधार पनि उतिकै जरुरी छ । सदस्यता प्रणाली, डेटा म्यानेजमेन्ट र डिजिटल संचार संयन्त्रलाई आधुनिक बनाउने । यसले पार्टीलाई युवा पुस्ता र प्रविधिमैत्री समाजसँग जोड्नेछ । प्रविधिले कांग्रेसलाई अझ उदार देखाउन मद्दत गर्नेछ ।   

२. सिद्धान्त र व्यवहारबीचको खाडल घटाऊँ

कांग्रेसको विचारधारा स्पष्ट छ — बहुलवाद, लोकतन्त्र, सहिष्णुता र समता  । तर व्यवहारमा यी शब्द प्रायः नारामात्र बन्नपुगेका छन् । कार्यकर्ताहरूलाई सिद्धान्तको मर्म बुझाउने र व्यवहारमा उतार्ने प्रयास अब नेतृत्वको प्राथमिक कार्य हुनुपर्छ ।

भातृ संस्थाको अधिवेशन,  प्रशिक्षण, जनसंवाद र विचार विनिमयका कार्यक्रम नियमित हुनुपर्छ  । सिद्धान्त पढ्ने होइन बाँच्ने विषय हो र यो संस्कार संगठनको हरेक तहमा फैलिनुपर्छ ।  आजको सन्दर्भमा लोकतान्त्रिक सिद्धान्तको पुनर्पाठ आवश्यक छ । किनभने सिद्धान्तबिना पार्टी चुनावी संयन्त्रमात्र बन्छ र सत्ता प्राप्तिको भरेङ्गमात्र हुनपुग्छ ।  विचारसहितको आन्दोलन निरन्तर हुन्छ । त्यसैले कांग्रेसले विचारलाई बुझिने गरि जनतामाझ लैजानुपर्नेछ । कांग्रेसले आफ्नो ऐतिहासिक वैचारिक परम्परालाई नयाँ पुस्ताका शब्द र मुद्दासँग जोड्न सक्नुपर्छ ।  

३. युवा नेतृत्व र जेन–जी आन्दोलन

हाल देशमा देखा परेको जेन–जी आन्दोलन असन्तुष्टिको आवाजमात्र नभएर एउटा नयाँ चेतनाको उदय पनि हो । यसको उद्देश्य देशलाई युवामैत्री बनाउने हो  । देशमा भएपछि पार्टीहरु पनि पर्ने भइहाले । कांग्रेसभित्र विचार, निर्णय र नेतृत्वका तहमा नयाँ पुस्ताको औपचारिक सहभागिता सुनिश्चित गर्दै पार्टीलाई भविष्यमुखी बनाउने ।

आजको युवा पुस्ता कांग्रेसप्रति आलोचनात्मकमात्र होइन उत्तरदायी बन्न पनि तयार छ । उनीहरूलाई अवसर र विश्वास दिइएन भने पार्टीले भविष्य गुमाउने जोखिम बेहोर्नुपर्नेछ ।

त्यसैले कांग्रेसले अब युवालाई कार्यकर्तामात्र होइन निर्णयकर्ताको रूपमा स्वीकार गर्नुपर्छ । यसको लागि पार्टी विधानमै निम्न संरचनात्मक सुधार आवश्यक छ — सङ्गठनका सबै तहमा युवाको न्यूनतम ३०–४०प्रतिशत सहभागिता सुनिश्चित गर्ने प्रावधान । जनप्रतिनिधि र मन्त्रीपरिषद् स्तरमा पनि उमेर सन्तुलनको मापदण्ड लागु गर्ने ।

युवा नेतृत्व संक्रमण कार्यक्रम सञ्चालन गरी हरेक पाँच वर्षमा नयाँ पुस्तालाई नीति निर्माणमा सहभागी गराउने  । जेन–जी आन्दोलनको सन्देश स्पष्ट छ — “हामीलाई मञ्च होइन, जिम्मेवारी दिनुहोस् । हामीले पार्टीको भविष्य सुरक्षित गर्नेछौँ ।”यस सन्देशलाई आत्मसात् गर्न सक्यो भने कांग्रेस फेरि एकपटक नयाँ ऊर्जासहित जाग्नेछ । 

कांग्रेसमा चरम गुटबन्दी छ । कोइराला कांग्रेस, देउवा कांग्रेस हुँदै अब नेता पिच्छेका कांग्रेस भएका छन् । युवा पुस्ताको ऊर्जा र अनुभवबीचको संयोजन नै पार्टीको शक्ति हो । अहिलेको आवश्यकता “पुस्तान्तरण” होइन “पुस्तासंवाद” हो  जहाँ पुरानो पुस्ताले मार्गदर्शन गर्छ र नयाँ पुस्ताले दिशा देखाउँछ । आजभन्दा २० वर्षअगाडि गगन थापा अटाउने समानुपातिकमा अर्को गगन किन जन्मन सकेन भनेर प्रश्न गर्नेलाई किनारा लाउने कि अरु गगन उत्पादनमा ध्यान दिने ? 

४. आन्तरिक लोकतन्त्र — आलोचनालाई अवसर बनाऊँ

कांग्रेसको बल सदैव विविधतामा छ । विभिन्न विचार र आवाजहरू यसको सौन्दर्य हुन् । तर पछिल्लो समय असहमतिप्रति असहिष्णुता बढ्दै गएको छ । आफ्नो भन्ने कार्यकर्ताले भनिदिने जस्तो सुकै कुरा सुनेर तल्लो तहको कार्यकर्ताप्रति रिस राख्ने चलन युवा पुस्ताको प्रतिनिधित्व गर्छु भन्ने नेतामा बढ्दो छ । आलोचनालाई शत्रुता होइन सुधारको अवसरका रूपमा लिनसक्ने संस्कृतिको विकास गर्न जरुरी छ । नेता कार्यकर्ता निकटता घट्दो छ । केन्द्रबाट नेता आउँदा गाउँमा स्थानीय नेताको खर्च बढ्छ नत्र नेता निकट हुन सकिन्न । आलोचना कम अनि चाकरी बढ्दो छ । 

पार्टीमा संवाद, सुझाव र आलोचनाको स्वतन्त्र वातावरण निर्माण गर्न सके नेतृत्व र कार्यकर्ता बीचको दूरी घट्छ । यही नजिकपनले कांग्रेसलाई फेरि परिवारजस्तो पार्टी बनाउँछ ।  आन्तरिक लोकतन्त्र बलियो बनाउन पार्टीले “डिजिटल संवाद मञ्च” जस्ता प्लेटफर्म प्रयोग गर्न सक्छ जसबाट गाउँदेखि केन्द्रसम्मका सदस्यले आफ्नो विचार प्रत्यक्ष राख्न सक्छन् । यस्तो पारदर्शी संरचनाले विश्वास र उत्तरदायित्व दुवै बढाउँछ ।  

५. नीतिगत स्पष्टता — घोषणापत्र होइन कार्यनीति

कांग्रेसले चुनावी घोषणापत्रमा ठूलाठूला प्रतिबद्धता गर्छ तर त्यसको कार्यान्वयनका लागि स्पष्ट रोडम्याप प्रायः हुँदैन । अब घोषणापत्रभन्दा बढी, कार्यनीति र समयरेखा आवश्यक छ — कुन प्रतिबद्धता कहिले, कसरी र कुन निकायमार्फत पूरा गर्ने भन्ने स्पष्ट खाका । त्यस पारदर्शिताले मात्रै जनताभित्र फेरि विश्वास जगाउन सक्छ ।

यतिमात्र होइन घोषणापत्रले अब युवा, लैङ्गिक समानता, रोजगारी र सुशासनजस्ता मुख्य प्राथमिकतामा केन्द्रित “१० वर्षे दृष्टि” प्रस्तुत गर्नुपर्छ । यस्तो दीर्घकालीन योजनाले पार्टीलाई नीतिगत स्पष्टता र निरन्तरता दिन सक्छ ।  

निष्कर्ष

विशेष महाधिवेशनले अस्थायी उत्साह त दिन सक्छ तर स्थायी समाधान संगठनको जग बलियो बनाएरमात्र सम्भव छ । कांग्रेसले अब नेतृत्वको प्रतिस्पर्धाभन्दा बढी विचार, कार्यशैली र संस्थागत सुधारमा ध्यान दिनुपर्छ  । जरा बलियो भयो भने रुख पुनः हरियो हुन्छ । त्यसैले, आजको समय नेतृत्व परिवर्तनमात्र होइन संरचना, सोच र संस्कारको पुनर्जागरणको हो ।

आगामी निर्वाचनअघि महाधिवेशन सम्भव छ तर त्यो पद परिवर्तनमा सीमित हुनु हुँदैन ।  पार्टीलाई नीति, संगठन र पुस्ता सन्तुलनको नयाँ सहमतिको बाटोमा डोर्‍याउने अवसर हो । अहिलेदेखि लाग्ने हो भने नियमित अधिवेशनमा जान केही पनि गाह्रो छैन । अहिले दल बढाउने समय हो खुम्चाउने हैन । 

महाधिवेशनको अर्थ नयाँ पदाधिकारीका साथै नयाँ प्रतिबद्धता पनि हो — संगठनमा पारदर्शिता, नीतिमा आधारित नेतृत्व र पुस्ताबीचको सहकार्य । यही बाटोले कांग्रेसलाई पुनः जनताको भरोसा जित्ने दिशामा लैजानेछ ।

(नेपाली कांग्रेस प्युठानका उपसभापति तथा प्युठान नगरपालिकाका उपप्रमुख)
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  ०८:५८
प्रतिक्रिया दिनुहोस्