site stats
बाह्रखरी :: Baahrakhari
देश
मुलुक समाजवादी क्रान्तिको चरणमा छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले नेपाल समाजवादी क्रान्तिको चरण रहेको बताएका छन् ।

भृकुटीमण्डपमा बुधबार (कात्तिक १९) आयोजित नवगठित पार्टीको एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले अबको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद स्थापना गर्नु रहेको बताए ।

“वैज्ञानिक विशेषतासहितको समाजवादका लागि हामीले पार्टी एकता गरेका हौँ भनेर संकल्प गर्नुपरेको छ, प्रतिबद्धता व्यक्त गर्नुपरेको छ," उनले भने, "वैज्ञानिक विशेषतासहितको समाजवादका लागि रणनीति पूरा गर्न मूल कार्यनीति पूरा गर्दै अगाडि बढ्नुपर्नेछ ।”

सामाजिक न्यायसहितको समृद्धि, समाजवादउन्मुख समृद्धि नै मूल कार्यनीति रहेको उनको भनाइ छ । नेपालमा ऐतिहासिक युगान्तकारी राजनीतिक परिवर्तन भएको भन्दै श्रेष्ठले अहिलेको अपेक्षा सामाजिक, आर्थिक रुपान्तरण भएको बताए ।

उनले भने, “विकास र समृद्धि तीव्र रूपमा अगाडि बढोस्, फड्को मारोस्, जनताको जीवनस्तरले नयाँ जीवन प्राप्त गरोस् यस प्रकारले सामाजिक, आर्थिक रुपान्तरण, विकास र समृद्धि हाम्रो अलिहेको मूल कार्यनीति हो । त्यसरी मात्रै समाजवादको आधार तयार हुन्छ ।”

उनले अहिलेको पार्टीको कार्यनीति घोषित मितिमा निर्वाचन सम्पन्न होस् भन्ने रहुनुपर्ने बताए । घोषित मितिमा निर्वाचन सम्पन्न हुन नसके देशमा अझ संकट निम्तिने उनको भनाइ छ । यसका लागि सरकारले दृढता प्रकट गर्नुपर्ने उनको भनाइ छ ।

उनले 'जेनजी आन्दोलन'ले उठाएको चेतना ग्रहण गर्दै रुपान्तरणसहितको एकीकृत पार्टी आवश्यक रहेको बताए ।

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  १७:०२
प्रतिक्रिया दिनुहोस्