भक्तपुर । भक्तपुरको सानो थिमिस्थित बाल सुधारगृहबाट आइतबार फरार भएका २० बन्दीमध्ये प्रहरीले हालसम्म १७ जनालाई पक्राउ गरेको छ ।
भदौ २३ र २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा बाल सुधारगृहको गेट फोडेर १६५ बन्दी फरार भएका थिए । उनीहरू नफिर्किएकाले आफूहरू पनि जान पाउनुपर्ने माग गर्दै सुधारगृहबाटै विद्रोह गरेर गेट फुटाएर २० बालबन्दी आइतबार दिउँसो फरार भएका थिए ।
फरार भएकामध्ये आइतबार र सोमबार गरी १७ जनालाई विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नवराज ढुंगानाले जानकारी दिए । बाँकी तीनजनाको पनि खोजीकार्य जारी भइरहको उनले बताए ।
बाल सुधारगृहमा प्रहरी प्रवेश गर्न नपाउने, आन्तरिक सुरक्षाको व्यवस्था प्रहरीसँग नरहेकाले बन्दीहरूबीच झडप हुने, फरार हुने क्रम यसअघि पनि हुने गरेको थियो । बन्दीहरू फरार भएको खबर आएपछि मात्रै प्रहरीले सुधारगृह बाहिर उनीहरूको खोजीकार्य सुरु गरेको प्रहरी नायब उपरीक्षक ढुंगानाले बताए । रासस