काठमाडौं । नारायण वाग्लेको तेस्रो पुस्तक ‘कोरियाना कफी गफ’को अंग्रेजी अनुवाद लोकार्पण गरिएको छ । लेखक नारायण वाग्लेले एडअर्डो रिनकनलाई अनूदित पुस्तक उपहार दिएसँगै पुस्तक लोकार्पण गरिएको हो ।
पत्रकार–साहित्यकार हुँदै पछिल्लो समय कृषकका रूपमा आफ्नो गाउँ तनहुँ फर्किएका वाग्लेले बायोडायनामिक कृषि अभियानका एक अग्रणि व्यक्तित्व रिनकनलाई पुस्तक उपहार दिएका थिए ।
नारायण वाग्लेले काठमाडौंमा लामो समय पत्रकारिता गरे । जहाँ उनले अनौपचारिक शैलीमा ‘कफी गफ’ लेखे । कफी गफको लोकप्रियता यति चुलियो कि वाग्ले अहिले पनि पाठकबाट ‘कफी गफ’को त्यो चुस्की लिइरहेका हुन्छन् ।
वाग्ले भन्छन्, “जुन शैलीले मलाई धेरै पाठक र माया दियो, मैले ‘कोरियाना कफी गफ’ पुस्तकमा त्यही शैली अपनाएँ । तर, यो मेरो पत्रिकाहरूको संग्रह नभई नयाँ सृजना हो ।”
‘कोरियाना कफी गफ’लाई नेपालीबाट अंग्रेजीमा अनुवाद प्रवीण अधिकारीले गरेका हुन् । वाग्लेको त्यही कफी गफ शैलीबाट प्रभावित भएर आफूले अनुवाद गरेको प्रवीण बताउँछन् ।
पञ्चायतको बन्द समाजपछि भर्खरभर्खर खुला हुन लागेको नेपाली समाजमा नेपाली भाषालाई यो स्तरको खुलापनमा लैजाने श्रेय आफूले वाग्लेलाई दिने गरेको अधिकारीको भनाइ छ । उनी भन्छन्, “नारायण वाग्लेले अंग्रेजी पढ्ने सहरिया पुस्तालाई ‘कफी गफ’ र ‘पल्पसा क्याफे’मार्फत नेपाली भाषातिर आकर्षित गरे ।’
‘कोरियाना कफी गफ’ पढ्दै जाँदा आफूले शैलीमा नवीनता, भाषामा लचकता, भावमा कोमलता भेटाएको अनुवादकको अनुभव छ । यति मीठोसँग लेखिएको कृति संसारलाई पढाउनुपर्छ भन्ने सोचेर त्यही साहित्यिक सुन्दरता अनुवादमा ल्याउन सकुँ भनेर आफूले आफैँलाई चुनौती दिँदै अनुवाद गरको अधिकारी बताउँछन् ।
नारायण वाग्लेले ‘पल्पसा क्याफे’ र ‘मयूर टाइम्स’ उपन्यासपछि सृजनशील गैरआख्यानका रूपमा ‘कोरियाना कफी गफ’ लेखेका हुन् । २० वर्षअघि प्रकाशन भएको ‘पल्पसा क्याफे’ले मदन पुरस्कार प्राप्त गरेको थियो । धेरै समीक्षक–समालोचकले नेपाली साहित्य लेखन, प्रकाशन र पठन इतिहासलाई ‘पल्पसा क्याफे’ अघि र पछिका रूपमा व्याख्या गरेका छन् ।
नारायण वाग्लेको ‘पल्पसा क्याफे’देखि प्रकाशन सुरु भएको पब्लिकेसन नेपालयले २० वर्ष पार गरेको छ । यो अवसरमा आफूहरुले सन् २०२५ मा नयाँ पुस्ताका रचना र अनुवाद कृति प्रकाशनमा जोड दिएको पब्लिकेसन नेपालयले नजाएको छ ।
२५ वर्षमुनिका लेखकहरूका रचना सार्वजनिक आह्वान गरी मागेको र ती नयाँ पुस्ताका रचना समेटी पुस्तक प्रकाशन गर्दै गरेको नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठ बताउँछन् ।