site stats
बाह्रखरी :: Baahrakhari
देश
बुटवल–नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध
फाइल तस्बिर ।

नवलपुर । निरन्तर वर्षाका कारण हिलाम्ये भएको सडकमा सवारीसाधन फसेपछि बुटवल–नारायणगढखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२, दाउन्नेखण्ड शनिबार (कात्तिक १५) साँझदेखि पूर्ण रूपमा अवरुद्ध भएको हो । 

केही दिनदेखिको वर्षाका कारण हिलो र चिप्लो हुँदा एकतर्फी सञ्चालन गरिएको सडकमा मालवाहक ट्रक फसेपछि आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार, दाउन्नेको घिउखोलानजिकै मालवाहक ट्रक हिलो सडकमा फस्दा शनिबार साँझदेखि यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो ।

शुक्रबार (कात्तिक १४) रातिदेखि दाउन्ने सडक हिलोका कारण चिप्लो भई सवारीसाधन सञ्चालनमा अवरुद्ध हुँदै आएको थियो ।

अहिले पनि दाउन्ने क्षेत्रमा वर्षा भइरहेकाले सडकमा फसेको ट्रक निकाल्न र चिप्लो बाटो मर्मत गर्न समस्या भइरहेको प्रहरी नायब उपरीक्षक नेपालले बताए ।

बुटवल–नारायणगढ सडकखण्ड विस्तारका क्रममा दाउन्ने पहाड कटान गरिएकाले यो क्षेत्रमा सामान्य वर्षमा पनि सडक अवरुद्ध हुने गरेको छ । रासस

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२  २२:०७
प्रतिक्रिया दिनुहोस्