site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
स्पन्दित मन र सुकरातका पाइला

निनाद 
(संस्मरण : तोया गुरुङ)
अग्रज प्रतिष्ठित कवि तोया गुरुङको आंशिक संस्मरणहरू समेटिएको कृति ‘निनाद’ बजारमा ल्याइएको छ । नेपाली काव्यजगत्की सिद्धहस्त हस्ताक्षर गुरुङको यो दोस्रो संस्मरणकृति हो । उनले यसअघि संस्मरणको पुस्तक ‘अस्पृश्य’ पाठकसामु पस्किएकी थिइन् ।

‘निनाद’को पहिलो अंशमा उनले लेखेकी छन्, “यो असाध्यै भो । नसोचेका भावहरू अर्कै रूपमा जाने कसरी सोच्यो आज । खोइ, त्यस्तो त केही होइन । सबैको बिहानी भएर आउने पर्यन्तका विषयसँग यतिका दशकसमम सोचेको पनि थिइनँ । सुरुको नित्य निनाद भएर पनि अर्कोतिर मन डुलाउन थाल्यो ।”

रत्न पुस्तक भण्डारद्वारा प्रकाशित ११६ पृष्ठको यो कृतिको मूल्य २९५/– रुपैयाँ राखिएको छ ।

०००

स्पन्दित मन 
(मुक्तक : गोपीकृष्ण थापा)
लेखक गोपीकृष्ण थापाको मुक्तकहरूको संग्रह हो, ‘स्पन्दित मन’ । यो पुस्तक केही समयअघि मात्र सार्वजनिक गरिएको हो ।

मुक्तककार थापाले लेखकीयमा लेखेका छन्, “जीवन भन्नु अनेक अनुभूतिहरूको संग्रह हो । जहाँ जीवन छ, त्यहाँ अनुभूति छ । जहाँ अनुभूति छ, त्यहाँ जीवन बाँचेको सार छ । मान्छेका अनुभूति प्रकट गर्ने आआफ्नै तरिका हुन्छन् । ... ।”

समीर थापा, सन्तोष थापाद्वारा प्रकाशित १२० पृष्ठको यो मुक्तककृतिको मूल्य १००/– रुपैया राखिएको छ ।

०००

प्रसिद्ध विदेशी कथाहरू
(कथा : अनु. गोपीरमण उपाध्याय)
विश्वसाहित्यका विभिन्न विधाका पुस्तकहरू अनुवाद गर्दै आएका सर्जक गोपीरमण उपाध्यायको एउटा अर्को अनूदित पुस्तक हो, ‘प्रसिद्ध विदेशी कथाहरू’ । उनले यसअघि ‘कार्ल मार्क्सको जीवनी’, ‘प्रशान्तदोन’लगायत पुस्तक ल्याइसकेका छन् ।

अनुवादक उपाध्यायले लेखकीयमा लेखेका छन्, “...अनुवाद खाली औपचारिकता मात्र हुन्छ तर सम्बन्धित विधाको परिवेशभित्र प्रवेश गरेर अनुवाद गर्नुको पनि आफ्नै आनन्द हुन्छ । ... ।” 

पुस्तकको भूमिकामा ऋषिराम भुसालले लेखेका छन्, “यस कथासंग्रहका कथाहरू धेरै किसिमले महत्त्वपूर्ण रहेका छन् । एउटै ससानो ग्रन्थ पल्टाएर हामी कथाका रसिकहरूले विश्वका अलग–अलग भूभागमा हुर्केका कथाकारहरूको कथाहरूको आस्वादन गर्न सक्छौँ । ... ।”

यो कथाकृतिभित्र हान्स एन्सरसन, ये शङ थाओ, मुन्सी प्रेमचन्द, मेक्सिम गोर्की, ल्यू शुन, मिखाइल शोलोखोव, ओ. हेनरी, राहुल सांकृत्यायन र उत्पलेन्दु चक्रवर्तीका कथाहरू समेटिएको छ ।

भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित १५८ पृष्ठको यो पुस्तकको मूल्य ३२०/– रुपैयाँ राखिएको छ ।

०००

सुकरातका पाइला
(उपन्यास : डा. गोविन्दराज भट्टराई)
नेपाली साहित्यमा गोविन्दराज भट्टराईको आफ्नै उचाइ छ । उनी सिर्जना, समालोचना र अनुवाद तीनै क्षेत्रमा उत्तिकै क्रियाशील र लोकप्रिय छन् । त्यसैले त उनका कृतिले ८० को संख्या छोइसकेको छ ।

२०३० सालमै ‘मुगलान’ उपन्यास लेखेका भट्टराईको अर्को चर्चित उपन्यास हो, ‘सुकरातका पाइला’ । यसको पाँचौँ संस्करण १५ वर्षको अन्तरालमा हालै प्रकाशन गरिएको छ ।

आफ्नो भनाइमा उपन्यासकार भट्टराईले लेखेका छन्, “यतिखेर किनार टेक्न खोजेको लाग्छ, तर धेरै लाग्छ ती विकारले अझै छोपेकै छ । यो प्रलाप र रुमानी भावावेश पनि होइन । मेरो मनलाई थिचिरहने एउटा भारी हो । आज यसैलाई अक्षरले टालेको छु, मोरेको छ, कसेको छु । यसो गर्दा सास फेर्न अलिकति सजिलो भएजस्तो लाग्छ ।”

यो उपन्यासको पछिल्लो पृष्ठमा विभिन्न सर्जक तथा समीक्षकले समय–समयमा लेखेका दृष्टिकोण समावेश छ । 

ओरिएन्टल पब्लिकेसनद्वारा प्रकाशित २६८ पृष्ठको यो उपन्यासको मूल्य ५७५/– रुपैयाँ राखिएको छ ।

०००
महान अभियान

(व्यङ्ग्य : ध्रुव मधिकर्मी)
साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका साहित्यकार धु्रव मधिकर्मीको पछिल्लो कृति हो, ‘महान अभियान’ । यो उनको व्यङ्ग्यसंग्रह हो । उनका यसअघि कविता, कथा, लघुकथा, समालोचना, बालकथा, गजल र नेपाल भाषाका कृति गरेर दशभन्दा बढी पुस्तक प्रकाशित छन् ।

लेखकीयमा मधिकर्मीले लेखेका छन्, “पछि पुनर्जागरण साप्ताहिकमा नियमित साहित्यक स्तम्भलेखनसँगै फाट्टफुट्ट रूपमा व्यंग्यात्मक रचनाहरू लेख्ने काम आइपर्‍यो । पुनर्जागरणमा एउटा स्तम्भ छ, जिली न गाँठी । ... ।”

यो पुस्तकभित्र मधिकर्मीका २५ व्यङ्ग्य निबन्ध संगृहीत छ ।

सिर्जना अभियान समाज, भक्तपुरद्वारा प्रकाशित १०४ पृष्ठको यो कृतिको मूल्य ३००/– रुपैयाँ राखिएको छ ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२  ०८:३५
प्रतिक्रिया दिनुहोस्