नदीको सुसेली सुनेर मस्त निदाएको पहराझैँ
सुतेको छ ऊ मस्त निद्रामा
बिउँझदैन कसैगरी जनआक्रोशले
खर्च गरी जो कमाएको थियो मतको सिरानी हाल्न ।
फरक पार्दैन उसलाई अख्तियारका चट्याङहरूले
न्यायालयलाई पनि सिरानी हाल्न सक्छ
कतै छिटपुट वर्षा भए सदनमा अनियमितताको
घुम ओढिदिन्छ ऊ बनावटी जाँचबुझको
घाम लाग्छ, घुम मिल्काउँछ
बटुवाले खोलो तरेपछि लौरी मिल्क्याएझैँ ।
न त हिजो थियो अमनचयन न त आज छ
भोलि बाढी आउन आज पानी पर्नुपर्दछ
न त बादल देखिन्छ न त मेघको गर्जन नै
रोगले देश गालिसक्यो सर्जन बेकाममा छ !
पानी पार्ने बादल शक्ति खाडी छिरेको छ
पसिनाको रेमिट्यान्सले अर्कैले गला पुछेको छ
सुका कमाइ मोहर खर्च, कति धान्ला यो देश ?
गर्यो गुणन, भाग, घटाउ, जोड, रह्यो शून्य शेष !