site stats
बाह्रखरी :: Baahrakhari
देश
२४ घण्टामा मोरङमा ‘अति भारी’, काठमाडौंमा ‘मध्यम’ वर्षा

काठमाडौं । पश्चिमदेखि पूर्वी नेपालका धेरै स्थानमा यति बेला वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा ‘हल्का’देखि ‘अति भारी’सम्म पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यो अवधिमा (शुक्रबार बिहान ११ बजेसम्म) आठ स्थानमा १०० मिलिमिटरभन्दा धेरै पानी परेको विभागको तथ्यांक छ । 

पछिल्लो २४ घण्टामा मोरङको हरैँचामा सबैभन्दा धेरै २१२.४ मिलिमिटर पानी परेको विभागका प्रवक्ता विभूति पोखरेलले बाह्रखरीलाई जानकारी दिइन् । २०० मिलिमिटरभन्दा धेरै यो वर्षा ‘अति भारी’ भएको उनले बताइन् ।

यो अवधिमा दोस्रो धेरै वर्षा सप्तरीको बरमझियामा १४६.२ मिलिमिटर भएको छ । झापाको शनिश्चरेमा ११३.६, झापाकै दमकमा ११३.४, अनारमनीमा १०९.४, बाहुनडाँगीमा १०७.८, इलामको मैनाचुलीमा १०६.८, उदयपुरको उदयपुरगढीमा १००.२ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ । यो ‘धेरै भारी’ वर्षा हो ।

काठमाडौंमा भने ‘मध्यम’ पानी परेको छ । नैकापमा ४४.६, पानीपोखरीमा ४०.४, धाप ड्याममा ३७, कीर्तिपुरमा ३६.८, बबरमहलमा ३६.६, साँखुमा ३६.२, सुन्दरीजलमा ३४ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।

काठमाडौंमा उपत्यकामा सबैभन्दा धेरै पानी ललितपुरको गोदावरीमा ५५.८ मिलिमिटर परेको छ । ललितपुरकै लेलेमा ५५.४ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ । यो ‘भारी’ वर्षा हो ।

देशमा हाल बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभाव छ । मोन्था यति बेला भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रहेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्योसँगै देशमा पश्चिमी वायु र अरबसागरमा बनेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

वर्षा मापन
कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे ‘हल्का’ वर्षा भनिने महाशाखाले जनाएको छ ।

कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।

oadsfgm-1761888541.jpg
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  ११:१४
प्रतिक्रिया दिनुहोस्