काठमाडौं । देशको पश्चिमदेखि पूर्वसम्म धेरै स्थानमा पानी परिरहेको छ । हल्कादेखि भारीसम्म वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पश्चिम र मध्य क्षेत्रका केही स्थानमा आज (कात्तिक १४) बेलुकादेखि वर्षा रोकिने मौसमविद्ले बताएका छन् । मधेस प्रदेश र पूर्वी क्षेत्रमा भने जोखिम कायमै रहेको मौसमविद्को भनाइ छ ।
पर्यावरण एवं मौसमविद् उज्ज्वल उपाध्यायले काठमाडौंसहित वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा यस दिन अपराह्नसम्म वर्षा रोकिने उल्लेख गरेका छन् । मधेस प्रदेशको सर्लाहीसम्म पनि आजै पानी पर्न रोकिने उनले औँल्याएका छन् ।
“काठमाडौंलगायतका मुलुकका मध्य र पश्चिम (वाग्मती, गण्डकी, लुम्बिनी तथा तराईका सर्लाहीदेखी चितवनसम्मका) क्षेत्रमा आज अपराह्नसम्म वर्षा रोकिने र साँझदेखि मौसम खुल्दै जाने,” उनले शुक्रबार बिहान फेसबुकमा लेखेका छन् ।
कोसी प्रदेशका केही जिल्लामा भने शनिबार (कात्तिक १५) बिहानसम्म वर्षा रोकिने र मध्याह्नदेखि मौसम खुल्ने उनको अनुमान छ । “कोसीपूर्वका जिल्लाहरूमा भोलि बिहानसम्म वर्षा रोकिने र मध्याह्नदेखि मौसम खुल्ने,” उनले भनेका छन्, “यद्यपि, पहिरो र बाढीको जोखिम अझै कायम रहेकोले भोलिसम्म सजग हुनुपर्ला ।”
आइतबार (कात्तिक १६)देखि देशभरि जता पनि घुम्न जाने र धान काट्ने–भित्र्याउने तयारी गर्न सकिने उनले उल्लेख गरेका छन् ।
देशमा हाल बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभाव छ । मोन्था यति बेला भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रहेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
“सो प्रणालीको कारणले नेपालको मौसम मिति २०८२/०७/१४ गते शुक्रबार साँझसम्म प्रभावित हुने, तत्पश्चात् मौसममा क्रमिक रूपमा सुधार हुने देखिन्छ,” महाशाखाले भनेको छ ।
त्योसँगै देशमा पश्चिमी वायु र अरबसागरमा बनेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले ‘मोन्था’का कारण उत्पन्न परिस्थितिबाट काठमाडौं उपत्यका अब सुरक्षित घेरामा रहेको विश्लेषण गरेका छन् । “मोन्था चक्रवातको प्रभाव क्षेत्र ट्र्याकिङ गर्दा काठमाडौं उपत्यका अब सुरक्षित घेरामा देखिन्छ र देशको पूर्वी भागमा भने यसको असर देखिन थालेको छ,” उनले फेसबुकमा लेखेका छन्, “पूर्वानुमान गरेको भन्दा भने कम असर गर्छ कि जस्तो देखिएको छ, जुन खुसीको कुरा हो ।”
उनले पनि काठमाडौंमा आज साँझसम्म मौसम सफा हुने सम्भावना बलियो रहेको जनाएका छन् ।
“मधेस प्रदेश र कोसी प्रदेशको केही भागमा मध्यम वर्षा हुँदै छ र जुन आज सक्रिय नै रहने देखिन्छ, । वाग्मती प्रदेशको उत्तरी भागमा पनि हल्का वर्षा हुँदै छ,” उनले लखेका छन्, “विराटनगर–इटहरी क्षेत्रमा पनि मध्यमदेखि भारी वर्षा हुँदै छ ।”
पश्चिम नेपालमा भने वर्षाको सम्भावना कम हुँदै गएको उनले जनाएका छन् ।
“कोसी प्रदेश र मधेस प्रदेशको केही भागमा जोखिम कायम नै छ । सतर्कताको अवस्था हो,” उनले भनेका छन् ।

