site stats
बाह्रखरी :: Baahrakhari
देश
खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छाड्ने काभ्रे अदालतको आदेश

काठमाडौं । काभ्रे जिल्ला अदालतले खगेन्द्र सुनारलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार थुनछेक बहसपछि मुद्दाको अन्तिम फैसला हुँदा ठहरेबमोजिम हुने गरी न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले सुनारलाई ५० हजार धरौटीमा छाड्न आदेश गरेको हो ।

सुनारलाई बोलाएको समयमा उपस्थित हुने गरी धरौटीमा रिहा गर्न आदेश भएको काभ्रेपलाञ्चोक जिल्ला अदालतका सूचना अधिकारी अक्षयकुमार दनुवारले जानकारी दिए ।

सुनारले आफूविरुद्ध अदालतको अवहेलना मुद्दा हाल्ने वकिललाई फेसबुकमार्फत धम्की दिएका थिए ।

रुकुमको सोती घटनामा उच्च अदालत सुर्खेतले गरेको आदेशविरुद्ध सुनारले विरोध प्रदर्शन गरेका थिए । उनले न्यायाधीशहरूको फोटो नै राखेर गरेको प्रदर्शन र दिएका अभिव्यक्तिविरुद्ध अधिवक्ता गौतमले सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दायर गरेकी थिइन् । आफूविरुद्ध मुद्दा दायर भएको थाहा पाएपछि सुनारले सामाजिक सञ्जालमा गौतमको फोटो राखेर अनैतिक र आपराधिक कर्म गर्न उक्साउने आग्रहसहितको स्टाटस लेखेका थिए ।

उनको फोटो र एकाउन्टसमेत मेन्सन गरेर लेखेको स्टाटसपछि धम्की आउने क्रम सुरु भएको भन्दै अधिवक्ता गौतमले जाहेरी दिएकी थिइन् । उनको जाहेरीका आधारमा प्रहरीले पक्राउ पुर्जीसमेत लिएको थियो । उनी जेनजी सरकारमा मन्त्री बन्न लागेपछि पक्राउ पुर्जी सार्वजनिक भएको थियो । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १६:२५
प्रतिक्रिया दिनुहोस्