site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भारतले गरिदियो आठ आयोजनाको विद्युत् निर्यात अनुमति नवीकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २८३ मेगावाट विद्युत् निर्यात अनुमति नवीकरणका लागि स्वीकृति पाएको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय विद्युत् प्राधिकरणले बुधबार (कात्तिक १२) नेपालका विभिन्न आठ जलविद्युत् आयोजनाबाट उत्पादित २८३ मेगावाट विद्युत् निर्यातका लागि दिएको स्वीकृतिलाई नवीकरण गरिदिएको हो ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ ।

भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि विद्युत् निर्यात भइरहेको छ । भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा विद्युत् बिक्री गर्न स्वीकृत पाएका ४ आयोजनाको नवीकरण भएको हो ।

उक्त आयोजनाबाट उत्पादित १०३ मेगावाट विद्युत् आइएक्समा बिक्रीका लागि पाएको स्वीकृति विभिन्न मितिमा सकिएको थियो । सबै आयोजनाको निर्यात गत मंगलबार (कात्तिक ११) बाट लागु हुने गरी करिब एक वर्षका लागि नवीकरण स्वीकृति भएको छ ।

यसैगरी, द्विपक्षीय सम्झौता बमोजिम हरियाणा राज्यलाई चार आयोजनाबाट उत्पादित करिब १८० विद्युत् बिक्री भइरहेको थियो । हरियाणा राज्यलाई बिक्री गर्न दिइएको अनुमति बिहीबार (कात्तिक १३) सकिँदै छ ।

प्राधिकरणले हरेक वर्ष जुन–अक्टोबरमा हरियाणालाई विद्युत् बिक्री गर्दछ । प्राधिकरणले हरियाणालाई विद्युत् बिक्रीका लागि अनुमति पाएका आयोजनाको विद्युत् आइएक्समा पनि बिक्री अनुमति मागेको थियो । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले उक्त प्रस्तावलाई स्वीकृति दिएको हो । अब चार आयोजनाबाट उत्पादित विद्युत् शुक्रबारबाट आईएक्समा समेत निरन्तररूपमा बिक्री गर्न पाउने भएको छ ।

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन आइएसएको आठौँ सभामा सहभागी हुन भारतको नयाँ दिल्ली भ्रमणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले भारतका विद्युत्‌मन्त्री मनोहरलाल खट्टरसँगको भेटमा विद्युत् निर्यात स्वीकृतिको प्रक्रियालाई सरलीकृत गरिदिन आग्रह गरे ।

उनले नेपालमा विद्युत् उत्पादनको सबैभन्दा राम्रो समय अहिले भएकाले नवीकरणका लागि पठाइएको प्रस्तावलाई तत्काल स्वीकृति गरिदिन समेत आग्रह गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १२:४३
प्रतिक्रिया दिनुहोस्