काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य दैनिक घटिरहेको छ । शनिबार र आइतबार अन्तर्राष्ट्रिय बजार बन्द हुन्छ । शुक्रबारको अन्तर्राष्ट्रिय मूल्य अनुसार नेपालमा सुनको मूल्य आइतबार समायोजन हुन्छ ।
अन्तर्राष्ट्रिय बजारको अघिल्लो दिनको मूल्य नेपालका लागि घटबढको सूचक हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटबढ भयो भने नेपालमा पनि घट्ने र बढ्ने गरेको छ । तर, अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ भएअनुसार नेपालमा त्यही अनुपातम मूल्य घटबढ हुँदैन ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य मंगलबार ३७.९७ औंस अमेरिकी डलरले घट्यो । सोमबार प्रतिऔंस ५४.१६ अमेरिकी डलर घट्यो । एक औंसमा सुन २.४३ तोला हुन्छ । दुई औंसमा करिब पाँच तोला सुन हुन्छ ।
बुधबार नेपालमा भने सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ मात्र घट्यो । मंगलबार भने प्रतितोला २९ सय रुपैयाँ सुनको मूल्य घट्यो । यो दुई दिनमा नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३६ सय रुपैयाँले घट्यो । दुई दिनमा घटेको मूल्य अमेरिकी डलरमा २५ डलर हुन आउँछ ।
तर, अन्तर्राष्ट्रिय बजारमा दुई दिनमा सुनको मूल्य प्रतितोला ६० डलरभन्दा बढीले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रतिऔंस १३१.६५ अमेरिकन डलर मूल्य घटेको थियो । तर, नेपालमा साढे दुई तोला सुनको मूल्य सात हजार २५० रुपैयाँ अर्थात् मंगलबारको विदेशी विनिमयदरमा साढे दुई तोलाको मूल्य ५१.२३ अमेरिकी डलरले घट्यो ।
यसको मतलब नेपालमा अन्तर्राष्ट्रिय मूल्यभन्दा प्रतितोला पाँच हजार रुपैयाँको हाराहारिमा मूल्य बढी देखिन्छ ।
यसको कारण हो, व्यवसायीले आफैं ल्याएर सुन कारोबार गर्न नपाउनु, बैंकलाई तोकिएको कोटाअनुसार सुन आयात हुनु, व्यवसायी बैंकसँग परनिर्भर हुनुपर्ने बाध्यता । सुन व्यवसायीहरूले आयातमा लागेको भन्सार शुल्क, बैंकलाई तिर्नुपर्ने कमिसनलगायत जोडेर नेपालमा सुनको मूल्य निर्धारण गर्ने गरेका छन् ।
खुला बजार अर्थतन्त्रअनुसार नेपालमा सुनको कारोबार नभएकाले अन्तर्राष्ट्रिय बजारमा घटेको र बढेको जस्तो नेपालमा मूल्य कायम नहुने नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका पूर्वअध्यक्ष मनिषलाल प्रधान बताउँछन् ।
“सुन भनेको हाम्रो लागि कच्चापदार्थ हो । कहिले माग हुन्छ, कच्चापदार्थ नै हुँदैन,” उनले बाह्रखरीसित भने, “कर्चापदार्थ भएको समयमा हामीसँग माग नै हुँदैन । वास्तवमा सरकारको नीतिका कारणले गर्दा समस्या उत्पन्न भएको छ ।”
नेपाली बजारमा हुने सुनको माग र आपूर्तिमा मूल्यको सरोकार नरहने प्रधान बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा भएको माग र आपूर्तिअनुसार नै नेपालमा पनि सुनको मूल्य निर्धारण हुने गरेको छ । मंगलबार सुन प्रतितोला दुई लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
