काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन अनिश्चितकालका लागि बन्द भएको छ । नुवाकोटको धुनिवेशी नगरपालिका–१, बन्चरे कुण्डुले ल्यान्डफिल साइटका प्रभावित स्थानीयले आन्दोलन थालेसँगै फोहोर व्यवस्थापन अनिश्चितकालका लागि बन्द गरिएको हो ।
वडा नम्बर १ का अध्यक्ष मानबहादुर तामाङका अनुसार, स्थानीयका पुराना माग पूरा नभएपछि आन्दोलन सुरु गरिएको हो ।
“स्थानीयका नयाँ मागहरू छैनन् । पुरानै सम्झौताबमोजिमका मागहरू पूरा नभएपछि प्रभावित स्थानीय आन्दोलनमा उत्रिन बाध्य भएका हुन् । काठमाडौं उपत्यकाको फोहोर अनिश्चितकालका लागि बन्द गरिएको छ,” उनले बाह्रखरीसित भने ।
पटकपटक भएका पुराना सम्झौता कार्यान्वयनमा नआएसम्म फोहोरमैला विसर्जन गर्न नदिने अडान स्थानीयको छ । फोहोर विसर्जनका लागि ल्यान्डफिल साइट पुगेका गाडीहरू फिर्ता गराइएको छ ।
महानगरपालिका वातावरण व्यवस्था विभागकी प्रमुख सरिता राईले फोहोरका गाडी बाटोमै रोकिएको जानकारी दिइन् ।
“उहाँहरूले बीच बाटोमै फोहोरका गाडीहरू रोक्नुभएको छ । अत्यावश्यक फोहोर व्यवस्थापन कार्य रोक्न नहुने भन्ने कानुनी व्यवस्था छ । सोही अनुरूप हामीले प्रहरीलाई भनेका छौँ,” उनले भनिन् ।
काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयसँग स्थानीयले पटकपटक सम्झौता गर्दै आए पनि उनीहरूका माग सम्बोधन हुन सकेका छैनन् । स्थानीयले बन्चरेडाँडाका बस्तीहरूलाई ३–४ हजार मिटर पर सार्नुपर्ने, फोहोरलाई कुहिने र नकुहिने छुट्याएर मल कारखाना सुरुवात गर्नुपर्ने, गुठीको जग्गा ९० प्रतिशत उपभोग गर्न पाउनुपर्नेलगायत माग राख्दै आएका छन् ।
यी मागहरूमध्ये कुनै पनि माग पूरा नभएको स्थानीयले बताएका छन् ।