तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२, एक्लेफाँटमा मंगलबार (कात्तिक ११) माइक्रोबस दुर्घटनाका एक घाइतेको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका–१६ की ५५ वर्षीया बुधमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी टाउकामा गम्भीर चोट लागेकी ती महिलाको उपचारका क्रममा आँबुखैरेनी अस्पतालमा मृत्यु भएको डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
चितवनबाट लमजुङतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज ०९३७ नम्बरको माइक्रोबसमा १४ जना सवार थिए । माइक्रोका चालकले नियन्त्रण गुमाई सडकछेउको भित्तामा ठक्कर खाई त्यहाँ रोकिराखेको नेपाल विद्युत् प्राधिकरणको बा१ञ १२८७ नम्बरको सवारीसाधनको पछाडि ठोक्किँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा परी माइक्रो चालक लमजुङको बेँसीसहर नगरपालिका–८ का ४२ वर्षीय ईश्वरकुमार श्रेष्ठ, चितवनको भरतपुर महानगरपालिका–१६ की ४५ वर्षीया शान्तामाया तामाङ, सोही स्थानका ३७ वर्षीय डोलराज तामाङ, भरतपुर–२८ का ४८ वर्षीय कमई तामाङ, ४२ वर्षीय गंगाबहादुर तामाङ, ४२ वर्षीया होमकुमारी तामाङ, १५ वर्षीया रश्मी तामाङ, ४१ वर्षीया गममाया तामाङ, ३० वर्षीया मंगली तामाङ र उनकी छोरी पाँच वर्षीया सिर्जना तामाङ घाइते भएका छन् ।
यस्तै, लमजुङको दोर्दी गाउँपालिका–४ की २० वर्षीया गंगा तामाङ, दोर्दी–८ की ६३ वर्षीया मैतीमाया तामाङ र नवलपरासी पूर्वको देवचुली नगरपालिका–१७ की ४७ वर्षीया इन्द्रकुमारी तामाङ घाइते भएका हुन् ।
आँबुखैरेनी अस्पतालमा उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस