काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमकी कप्तान सावित्रा भण्डारी (साम्बा), एन्जिला तुम्बाप्पो सुब्बा र प्रीति राईले भारतसँगको दोस्रो मैत्रीपूर्ण फुटबल गुमाउने भएका छन् ।
नेपालले भारतसँग उसैको मैदानमा बुधबार दोस्रो मैत्रीपूर्ण फुटबलमा प्रतिस्पर्धा गर्दै छ । यो यी दुई टिमबीचको ‘अनअफिसियल’ मैत्रीपूर्ण फुटबल हो ।
नेपाली टिमकी कप्तान सावित्रा र एन्जिला क्लब फुटबलमा निम्ति जाने भएका हुन् । सावित्रा अस्ट्रेलियन लिगको क्लब वेलिङ्टन फोनेक्समा र एन्जिला भारतकै क्लब सेथु एफसीमा आबद्ध छन् । प्रीति टिममा उपलब्ध हुने भए पनि उनलाई यो खेलमा आराम दिइने भएको हो ।
यसअघि, सोमबार राति भएको पहिलो मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २–१ ले हराएको थियो । जसमा दुवै गोल फरवार्ड तथा कप्तान सावित्राले गरेकी थिइन् । नेपाली टिम सन् २०२२ को साफ महिला च्याम्पियनसिपयता भारतसँग अपराजित छ ।
नेपालले भोलि भारतसँग सिलोङमा प्रतिस्पर्धा गर्ने तालिका छ । यो खेल नेपाली समयअनुसार बुधबार अपराह्न ४ः१५ बजेदेखि सुरु हुनेछ ।