काठमाडौं । वर्षायाम सकिएसँगै नेपालमा ‘ट्रेकिङ सिजन’ सुरु भएको छ । केही वर्षअघिसम्म ट्रेकिङ जानेमा ठूलो संख्या विदेशीको हुने गर्थ्यो ।
तर, पछिल्ला केही वर्षयता नेपालका चर्चित ट्रेकिङ रुटमा घुम्न जानेमा विदेशीको भन्दा ठूलो संख्या नेपालीको हुने गरेको छ ।
पछिल्ला वर्षहरूमा ट्रेकिङ जानेको संख्या बढेसँगै लेक लागेर (हाई अल्टिच्युड) मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ । तथ्याङ्कले ट्रेकिङ जाँदा लेक लागेर मृत्यु हुनेको संख्या वर्षेनी बढ्दो छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीका अनुसार, सोमबार (कात्तिक १० गते) मात्र ट्रेकिङ गइरहेका दुई जनाको लेक लागेर मृत्यु भएको छ । मुस्ताङ र सोलुखुम्बुमा उनीहरूको मृत्यु भएको हो ।
“कात्तिक ८, ९ र १० गते अर्थात् पछिल्ला तीन दिनमा मात्र लेक लागेर ६ जनाको मृत्यु भएको छ,” प्राधिकरणका उपसचिव केसीले बाह्रखरीसँग भने, “ट्रेकिङ जाँदा सतर्कता नअपनाए ज्यानै जान्छ । त्यसैले जानुअघि धेरै कुरा बुझ्न जरुरी छ ।”
उपसचिव केसीका अनुसार, यही कात्तिक ८ र ९ गते लेक लागेर मनाङ र कास्कीमा चार जनाको ज्यान गएको छ । लेक लागेर अशक्त बनेका एकजना स्पेनी नागरिकलाई उपचारका लागि काठमाडौं ल्याइएको जानकारी उनले दिए ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्क अनुसार, यस वर्ष अर्थात २०८२ वैशाख १ गतेदेखि कात्तिक १० गतेसम्म करिब साढे ६ महिनाको अवधिमा लेक लागेर २८ जनाले ज्यान गुमाइसकेका छन् । गत वर्ष २०८१ मा लेक लागेर २५ जनाको मृत्यु भएको थियो ।
अघिल्लो एक वर्षको अवधिमा लेक लागेर जतिले ज्यान गुमाएका थिए यस वर्षको करिव साढे ६ महिनाको अवधिमा त्योभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
केन्द्रको तथ्याङ्क अनुसार, पछिल्लो साढे १४ वर्षको अवधिमा लेक लागेर नेपालमा १५८ जनाको मृत्यु भएको छ भने २३१ जना घाइते भएका छन् । २०६८ वैशाख १ गतेदेखि २०८२ कात्तिक १० गतेसम्मको अवधिमा उनीहरूको मृत्यु भएको हो ।
लेक लागेर २०७८ मा ३ जना, २०७९ मा ९ जना, २०८० मा १५ जना, २०८१ मा २५ जना र २०८२ कात्तिक १० गतेसम्म २८ जनाको मृत्यु भएको केन्द्रको तथ्याङ्कले देखाउँछ ।
सतर्क रहन अनुरोध
ट्रेकिङको सिजन चलिरहेको बेला उच्च पहाडी र हिमाली भेगमा वर्षा तथा हिमपात हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले यही कात्तिक १० गते रातिदेखि १२ गते बिहानसम्म वर्षा तथा हिमपात हुने पूर्वानुमान गरेको छ ।
महाशाखाले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको जनाएको छ ।
“गोरखा, मनाङ, मुस्ताङ, डोल्पा, म्याग्दी, कास्की, पर्वत र आसपासका जिल्लाका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा, हिमाली भू–भागमा हिमपात तथा वर्षको सम्भावना छ,” महाशाखाले सोमबार विशेष बुलेटिन जारी गर्दै सतर्क रहन भनेको छ ।
बंगालको खाडी र अरब सागरमा बनेको दुईवटा न्यूनचापीय प्रणालीले मंगलबारदेखि शुक्रबारसम्म नेपालमा वर्षा/हिमपात गराउने सम्भावना रहेको छ ।
प्राधिकरणले पनि एक विज्ञप्ति जारी गर्दै हाल पर्यटन सिजन चलिरहेको र ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू पर्वतारोहण, पदयात्रालगायत उद्देश्यले उच्च पहाडी तथा हिमाली क्षेत्रको यात्रामा निस्किरहेकोले सावधानी अपनाउन अनुरोध गरेको छ ।
“लेक लागेर मृत्यु वा घाइते हुने दर बढ्दै गएको स्थितिमा हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमान एवं सोको आधारमा यस प्राधिकरणबाट प्रकाशन गरिने पूर्वसूचना एवं अलर्टबारे जानकारी लिन, लेक लाग्ने जोखिमबारे जानकारी प्राप्त गर्न, आवश्यक पूर्वतयारी गर्न एवं लेक लागिहालेमा यात्रा रोकी तलतिर झरेर उपचार प्रक्रियामा लाग्न एवं एक्लै यात्रामा ननिस्कन प्राधिकरण हार्दिक अपिल गर्दछ,” प्राधिकरणले भनेको छ ।
प्राधिकरणले पर्वतारोहण, पदयात्रालगायतका पर्यटकीय गतिविधि अधिक हुने उच्च पहाडी तथा हिमाली जिल्लाका जिल्ला सुरक्षा समिति, स्थानीय तह, सम्बन्धित पर्यटन व्यवसायी लगायत सम्बद्ध सबै पक्षलाई सतर्क रहन भनेको छ ।
ट्रेकिङ जाँदा सतर्कता कसरी अपनाउने ?
उच्च पहाडी र हिमाली क्षेत्रमा ट्रेकिङ जाँदा आवश्यक सतर्कता अपनाए लेक लागेर मृत्यु हुने जस्ता जोखिमबाट जोगिन सकिन्छ । यस्तो सतर्कता भने यात्रामा निस्कनु अघि नै गर्नुपर्छ । पहिलो, आफू जाने ठाउककको स्पष्ट पहिचान, स्पष्ट रुट, बस्न खानाका लागि होटेल रेष्टुरेण्टको व्यवस्थाबारे जानकारी लिनुपर्छ ।
प्राधिकरणका उपसचिव केसी भन्छन्, “यदि ३ हजार मिटरभन्दा उचाइमा जाने हो भने जानुअघि स्वास्थ्य परीक्षण गर्नुपर्छ । आफ्नो स्वास्थ्य स्थिति, मौसमी अवस्थाबारे पूर्ण जानकार रहनुपर्छ ।”
दोस्रो, ट्रेकिङमा जाँदा एक्लै जानु हुँदैन । गाइड (पथप्रदर्शक), भरिया वा सम्बन्धित रुटको यात्रा गरिसकेको व्यक्ति साथमा हुनुपर्छ ।
“तेस्रो भनेको तीन हजार मिटरभन्दा बढी उचाइमा जाँदै हुनुहुन्छ भने विशेष सावधान रहनुपर्दछ,” उपसचिव केसीले भने, “तीन हजार भन्दा बढी उचाइमा यात्रा गर्दा एकैपटक गन्तव्यमा पुग्नेभन्दा पनि हरेक ४०० देखि ६०० मिटरको उचाइमा आराम गर्दै बास बस्दै जानुपर्छ ।”
तीन हजार मिटर भन्दा बढीको उचाइमा दौडिएर वा छिटो छिटो यात्रा गर्नु भनेको जीवन जोखिममा पार्नु हो । चौथौ, ट्रेकिङमा जाँदा आधारभूत सामाग्री साथमा बोक्न बिर्सनु हुँदैन । यसमा ड्राई फुडदेखि औषधिसम्म पर्छन् ।
“उच्च पहाडी/हिमाली क्षेत्रमा लगाउन/बोक्न मिल्ने न्यानो कपडा, लौरो, झोलालगायतका सामग्रीहरू, ड्राई फुड, टाउको दुखेमा वा कुनै स्वास्थ्य समस्या भएमा खान मिल्ने औषधीहरू सँगै लिएर जानुपर्छ,” उपसचिव केसीको भनाई छ ।
पाँचौं सतर्कता, लेक लागेको संकेत पाउने वित्तिकै तलतर्फ झर्नुपर्छ । यस्तो बेलामा उचाइतर्फ अघि बढे ज्यान जोखिममा पर्ने सम्भावना बढ्छ । तीन हजार मिटरभन्दा बढी उचाइमा यात्रा गर्दा टाउको दुखे, ज्वरो आए, रिगटा लागे, पखला लागे, खना मन नलागे, खाना पचेन भने यी लेक लागेको संकेत हुन सक्छन् ।
“यात्रा गर्दा कुनै स्वास्थ्य समस्या देखिएमा त्यो लेक लागेको संकेत हुन सक्छ । त्यस्तो अवस्थामा तुरुन्त तलतिर झरिहाल्नुपर्छ । सामान्य स्वास्थ्य समस्या हो भनेर बेवास्ता गर्नुको परिणाम अमूल्य जीवन जोखिममा पार्नु हो,” उपसचिव केसीले भने ।
तर राज्यले सामान्य प्राथमिक काम पनि नगरेको आरोप व्यवसायीको छ ।
“आन्तरिक र बाह्य पर्यटकको लागि सरकारले सामान्य जानकारी पनि गराउन चुकेको छ,” उनले भने, “अक्सिजनसम्म पनि कतिपय ठाउँमा पुर्याउन पनि सकेको छैन ।”