site stats
बाह्रखरी :: Baahrakhari
देश
मोन्था समुद्री आँधी तीव्र हुँदै, कात्तिक १३–१६ सम्म यी प्रदेशमा बढी प्रभाव देखिने

काठमाडौं । देशका केही स्थानमा यो साता मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । अरब सागरको महाराष्ट्र तटीय क्षेत्रमा उत्पन्न न्यून चापीय अवस्थाले आज (कात्तिक १०) नेपालमा पनि देशभरि नै बादल लागेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशमा हल्का वर्षा भएको छ । उच्च  हिमाली क्षेत्रमा हिमपात तथा लुम्बिनी र गण्डकी प्रदेशमा भोलि र पर्सि हल्कादेखि मध्यम वर्षा/हिमपात हुने सम्भावना छ ।

भारतीय मौसम विभागका अनुसार, बंगालको खाडीमा मोन्था नामकरण भएको समुद्री आँधी भोलि (कात्तिक ११)देखि तीव्र हुनेछ । यसको गति ९० देखि १०० किलोमिटर प्रतिघन्टाका दरले हुनेछ ।  

जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले यसको प्रभाव पूर्वी नेपालमा बुधबारदेखि नै देखिने सम्भावना रहेको बताए । कात्तिक १३ देखि १६ सम्म वाग्मती, मधेस, कोसी प्रदेशमा बढी प्रभाव देखिने उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

“मोन्था समुद्री आँधीको प्रभाव पूर्वी नेपालमा बुधबारदेखि नै देखिने देखिने सम्भावना छ भने बढी प्रभाव कात्तिक १३ देखि १६ सम्म वाग्मती, मधेस र कोसी प्रदेशमा देखिने छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

केही ठाउँमा मध्यमदेखि भारी वर्षा गराउने र मनसुनको जस्तो झल्को दिनेछ । यद्यपि, अरब  सागरको प्रभावले आज, भोलि बादल र उच्च  हिमाली भेगमा हिमपातको सम्भावना रहेको उनले बताए । 

जलवायुविज्ञ उप्रेतीका अनुसार, मोन्था शब्द थाई भाषाबाट लिइएको हो, जसको अर्थ  वासनादार फूल भन्ने हुन्छ । समुद्री आँधीको नामकरण समुद्रसँग जोडिएका देशको भाषाबाट गरिन्छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  १८:४०
प्रतिक्रिया दिनुहोस्