site stats
बाह्रखरी :: Baahrakhari
देश
राष्ट्रपतिले गरे सूर्यसहित छठी माताको पूजा–आराधना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सूर्यसहित छठी माताको पूजा–आराधना एवं अर्घ्यदान गरेका छन् । सोमबार (कात्तिक १०) उनले गुह्वेश्वरी पुगरे सूर्यसहित छठी माताको पूजा–आराधना एवं अर्घ्यदान गरेका हुन् ।

देशका विभिन्न भागमा भव्य रूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरी र कमलपोखरीमा सूर्यदेवसहित छठी माताको पूजा–आराधना गरी अस्ताउँदो सूर्यलाई अरघ्य दिने परम्परा छ । यसपालि उनी गुह्वेश्वरीमा मात्र गएका हुन् ।

प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म देशका विभिन्न भागमा छठ पर्व मनाइन्छ । गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथलीलगायत काठमाडौं उपत्यकाका अरू स्थानमा पनि भव्य रूपमा छठ मनाउने गरिन्छ ।

छठ पर्वका अवसरमा यस दिन अस्ताउँदो सूर्यको पूजा गरी अर्घ्य दिन विभिन्न स्थानमा छठघाट भव्य रूपमा सजाइएको छ ।

काठमाडौं उपत्यकामा गुह्येश्वरी, गौरीघाट, कमलपोखरी, थापाथली, कुपण्डोल, नक्खु खोला, विष्णुमती, वागमती नदी किनारमा छठघाट निर्माण गरी सजाइएको छ । यी स्थानमा छठघाटसँगै छठी माताको माटाको मूर्ति पनि निर्माण गरी पूजा–आराधना गरिएको छ ।

यस दिन बेलुका अस्ताउँदो सूर्यको पूजा–आराधनासहित अर्घ्य दिएर बर्तालु मंगलबार (कात्तिक ११) बिहान सूर्य नउदाएसम्म छठपूजास्थलमै जाग्राम बस्छन् । बिहान उदाउँदो सूर्यको पूजा–आराधनासहित अर्घ्य दिएपछि चार दिन लामो छठ पर्व सकिन्छ ।

छठको व्रत बसेमा मनले चिताएको पूरा हुने सूर्यपुराणलगायत ग्रन्थमा वर्णित छ । महाभारतकालमा द्रौपदीसहित पञ्चपाण्डवले सूर्यको पूजा–आराधना गरी एकवर्षे अज्ञातवास सफल भएको मानिन्छ । यही विश्वासका आधारमा छठ पर्व मनाउने परम्परा सुरु भएको मानिन्छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  १५:३२
प्रतिक्रिया दिनुहोस्