ताप्लेजुङ । ताप्लेजुङस्थित हिमाल (पिक) आरोहण गर्न सुरुआत भएको छ ।
फ्रान्सेली दुई नागरिकले गत असोज महिनाको दोस्रो साता ६ हजार ८०८ मिटर उचाइको ‘ह्वाइट वेभ पिक’ पहिलोपटक सफल आरोहण गरेका थिए । अन्नर्पूण फुटहिल्स टे«क्स एन्ड एक्सपिडिसनका तेन्जी शेर्पाका अनुसार आरोहण गर्नेमा फ्रान्सेली नागरिक बेन्जामिन चार्ल्स इली वेद्रिन्स र निकोलस पाउल अरिस्टाइड छन् ।
गतसाता चिलिका एक नागरिकले कञ्चनजंघा हिमालको काखमै रहेको पाथीभरा हिमालको सफल आरोहण गरेका थिए । विश्वको ३२औँ अग्लो र नेपालको १५औँ अग्लो कुम्भकर्ण (फक्ताङलुङ) हिमाल आरोहण गर्नका लागि फ्रान्साका तीन नागरिक उक्त हिमालको आधार शिविर क्षेत्रमा पुगेको पर्यटन साहयक शेर्पाले बताए । उक्त हिमालको उचाइ सात हजार ७१० मिटर उचाइ छ ।
विसं २०१९ मा फ्रान्सका एक नागरिकले पहिलो पटक कुम्भकर्ण हिमालको सफल आरोहण गरेका थिए । पछिल्ला वर्षहरुमा यहाँका हिमाल उत्साहका साथ आरोहण गर्न थालिएका छन् । गत वर्षको कात्तिकमा चारजना दक्षिण कोरियन नागरिकले ६ हजार ३२८ मिटर उचाइमा रहेको शार्फु–५ हिमालको पहिलो पटक सफल आरोहण गरेको थिए ।
गत वर्षको चैतमा शार्फु–४ हिमालमा पहिलो पटक आरोहण गरिएको थियो । चिलिका एक नागरिक हर्नान लील, पर्वतारोही लाक्पाछिरिङ शेर्पा, नादा शेर्पा र फोटोग्राफर पूर्णिमा श्रेष्ठले ६ हजार ४३३ मिटर उचाइका शार्फु–४ हिमालको पहिलो पटक आरोहण गर्न सफल भएका थिए ।
कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का घुन्सा पर्यटन चेक पोष्ट कार्यालयका पर्यटन साहयक टाँसी तेन्जिङका अनुसार ३०० जना विदेशी पर्यटकले विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमाल क्षेत्र भ्रमण गरेका छन् । केही घुन्सा क्षेत्रमा विश्राम गरेका छन् । गत भदौ महिनाको तेस्रो सातादेखि मंसिर १५ गतेसम्म कञ्चनजंघा भ्रमण याम रहने शेर्पाले बताए ।
पर्यटन विभागका अनुसार गत वर्षको मार्च १ देखि अप्रिल २१ सम्ममा २६ जना पुरुष र १५ जना महिला गरी ४१ जनाले आठ हजार ५५६ मिटर उचाइको कञ्चनजंघा हिमालको चुचुरोमा सफलतापूर्वक आरोहण गरेका थिए । सो आरोहणबाट एक करोड ९७ हजार ४६० रुपैयाँ रोयल्टी संकलन भएको थियो । रासस