गुल्मी । गुल्मीको मदाने गाउँपालिका–१, कचुरखर्कमा गए राति (कात्तिक ८) ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मदाने–१, अग्लुङका १९ वर्षीय सहचालक मेघराज पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी दिए ।
अग्लुङ फेदीबाट बालुवा लोड गरेर वडा कार्यालयतर्फ आइरहेको रा१त ३५०२ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । उकालोमा लोड तान्न नसकी ब्याक भएको र ब्रेकले काम नगर्दा ट्याक्टर दुर्घटनामा परेको सूचना अधिकारी सारुले जानकारी दिए ।
ट्याक्टरबाट हामफाल्ने क्रममा गम्भीर घाइते बनेका पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर चालक मदाने–१, अग्लुङका २२ वर्षीय निमन चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस