कास्की । पोखरामा सामान्य विवादमा शनिबार (कात्तिक ८) बिहान कुटपिटबाट एकजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–५, प्रर्स्याङका ४५ वर्षीय अनिल पराजुलीको बिहान ४ः३० बजे हत्या भएको प्रहरीले जनाएको छ ।
हत्या आरोपमा प्रहरीले सोही ठाउँका अन्दाजी २३ वर्षीय ईश्वर तिमिल्सिनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार, सामान्य विवादमा तिमिल्सिनाले पराजुलीलाई कुटपिट गरेका थिए ।
डीएसपी बस्नेतले भने, “प्रारम्भिक सोधपुछमा सामान्य विवादमा आक्रमण गरी हत्या गरिएको देखिएको छ, आक्रमणकारीलाई नियन्त्रणमा लिएका छौँ । घटनाको थप अनुसन्धान र सोधपुछ भइरहेको छ ।”
पक्राउ परेका तिमिल्सिनाको साथबाट चक्कु बरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले घरनजिकैबाट नियन्त्रणमा लिएको थियो ।
पराजुलीको शव परीक्षणका निम्ति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ । रासस