site stats
बाह्रखरी :: Baahrakhari
देश
जंगली जनावरको आक्रमणबाट एकजनाको मृत्यु
बाघको प्रतीकात्मक तस्बिर ।

राँझा । राप्तीसोनारी गाउँपालिका–९ गुरुवागाउँ नमुना टोल निवासी इन्द्रबहादुर खत्रीको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको छ । 

गुरुवागाउँ नमुना टोल निवासी ४० वर्षीय खत्री शुक्रबार दिउँसो २ बजेतिर स्थानीय रिम्ना सामुदायिक वनमा घाँस काट्न गएपछि बेपत्ता भएका थिए । 

आज बिहानसम्म परिवारको सम्पर्कमा नआएपछि जंगलमा खोज्दै जाँदा उनको शव फेला परेको प्रहरी चौकी ढकेरीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक नगेन्द्र शाहीले जानकारी दिए । 

उनका अनुसार आज बिहानै प्रहरीसहित स्थानीयवासीको टोलीले जंगलमा खत्रीलाई खोज्ने क्रममा रिम्ना सामुदायिक वनको चिल्लेपाटामा जंगली जनावरले आक्रमण गरेको अवस्थामा शव फेला परेको हो । 

बाँके राष्ट्रिय निकुञ्जको क्षेत्र पर्ने भएकाले निकुञ्जसँग समन्वय गरेर शवको शव परीक्षणलगायतको प्रक्रिया सुरु गरिएको उनको भनाइ छ । 

घटनाको प्रकृति हेर्दा बाघले आक्रमण गरेको हुनसक्ने बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए । 

“बाघ वा चितुवाले आक्रमण गरेको हुनुपर्छ, घटनास्थलको प्रकृति हेर्दा बाघको आक्रमण जस्तो छ”, उनले भने, “हामीले घटनास्थल क्षेत्रमा क्यामेरा जडान गर्छौं, क्यामेरामा कैद भएका आधारमा पुष्टि हुनेछ ।” रासस

प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०८२  १३:२१
प्रतिक्रिया दिनुहोस्