site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सहज विश्वास

 पाँच वर्षपछि केदार स्वदेश फर्केर आयो भन्ने कुरा मलाई नयाँ ताजा खबर जस्तै लाग्यो किनकि ऊ त एक दुई महीनादेखि काठमाडौंवासी रैथाने भइसकेको मलाई भर्खर थाहा भएको थियो ।

केदारलाई भेटेको खबर सुनाउँदै जगदीशले भन्यो, ‘केदारले त एउटा मोटर पनि ल्याएछ नयाँ । दुई लाख कमाएछ । के गरी कमायो । हामी त लम्फू जागीरमा झुण्डेर बसेका बस्यै– केही उन्नति गर्न सकिएन ।’

म केदारप्रसादलाई आफूसरहको ना.सु.को रूपमा सम्झन लागेँ । उ सधैँ जागीरदेखि असन्तुष्ट र पीडित देखिन्थ्यो । एक दिन उसले राजीनामा गरेर विदेशको बाटो ततायो भन्ने कुरा मात्र सुनेको थिएँ ।

ऊ सम्झनामा बिलाइसकेको थियो कि अचानक जगदीशले ऊ लखपति भएर स्वदेश फर्केको कुरा गरेको सुनेर आफ्नो कहिल्यै नसुध्रेको दीनहीन दशाप्रति औधी खेद र दिक्क पनि लाग्यो ।

‘भेट्न जाँदैनौ ?’ जगदीशले सोध्यो, ‘तिम्रो हालखबर पनि सोध्थ्यो ।’

‘मलाई पनि सम्झन्थ्यो ? अब त ऊ धराराको धुरीमा पुगिसक्यो । धन्न सम्झेछ । कहाँ बसेको छ ?’ मैले सोधेँ ।

‘उही बालुवाटारको पुरानो घरमा ।’ जगदीशले भन्यो, ‘अब एउटा व्यापारको फार्म खोल्छु भन्थ्यो । निकासी पैठारी गर्ने काममा पैसा लगाउँछु भन्थ्यो ।’ बाटोमा कुरा गर्दै हामी आफ्नो घरतिर जाने बाटोमा लाग्यौँ ।

जगदीशले भनेको कुराले मलाई बडो हीनताबोध भयो—आफूसरहको एउटै अफिसमा जागीरे, कति ठट्टा र नचाहिँदा कुरा गर्ने साथी, एक मनको, एक पेटको ।

मैले घरमा आएर आफ्नी श्रीमतीलाई पनि यो कुरा सुनाएँ । उसले पनि आश्चर्य मानी, ‘तिनै केदार ? कस्ता चलाख ! तपाईं त सधैँ महको झिँगा झैँ डुबेको छ, डुबेको छ । देश–सरकारको हित भनी दगुरेको छ, दगुरेको छ । के गर्नुभो उन्नति ?’

‘भेट्न जान्छु भोलि ।’ मैले भनेँ ।

‘के जान्नुहुन्छ ! मुख देखाउन पनि लाज ।’ श्रीमतीले झन् हतोत्साहित गरिदी ।

म कल्पनामा केदारलाई मोटर हाँकेर सडकमा हिँडेको देख्न लागेँ । ठूला–ठूला धनाढ्य लखपति करोडपतिसित हात मिलाएको उठ–बस गरेको देख्न लागेँ, चिन्ता न परिचिन्तासित ।

आफूलाई भने एक मानो कमाउन र एक धरो लाउने चिन्ता । यसरी पनि बाँचिरहेकोमा आफंैलाई घृणा र धिक्कार गर्न मन लाग्यो ।

भोलिपल्ट शनिबार हुनाले म केदारको घर बालुवाटारतिर हिँडेँ । बाटोभरि सोच्तै– उसले अझै त्यही अड्डामा छौ, अझै प्रमोशन भएको छैन, कति जहानबच्चा भए ? खान पुग्छ तलबले ? –आदि प्रश्नको जवाफमा मलिन स्वरले तीतो ओकल्दै जवाफ दिनुपर्‍यो भने ?

आफ्नो सरकार र देशप्रति नै बेइमानी र असन्तोष प्रकट गर्दा कस्तो लाजमर्नु ? मेरा खुट्टा पनि धरमर गर्न लागे । राम्ररी तन्केर हिँड्न मन मान्दैनथ्यो । आफ्नो पाँच वर्षको उपलब्धि– दुइटा छोरा जन्मिएका थिए तर केदारको भने– दुई–दुइटा मोटर दुई– दुई लाखको सम्पत्ति ।

उसले कसरी कमायो होला ? मैले सोध्ने साहस गर्नु उचित होला ? आफूसरहको हो र ऊ ? मैले नसोधे पनि उसैले भन्नुपर्ने हो, तर के भन्ला ? सब कुरा पुरुषार्थ, मेहनत हो ।

तर म पनि दिन–रात मेहनत गर्छु । निजामती सेवामा लागेको व्यक्ति– अफिसमा नसकेको काम घरमा हेरेर पनि सरकारको सेवा गरिरहेको हुँ, तर मजस्ता कर्मचारीको जीवनको के मूल्य, मेहनतअनुसार के फल्यो ?

केदारको घरमा बल्लतल्ल पुगेँ । साहसै गरेर बोलाएँ केदारप्रसादजी भन्दै । उसले जवाफमा झ्याल खोलेर को हो भनेर झर्कंदै सोध्ला भन्ठानेको त एउटी नचिनेकी स्वास्नीमान्छेले झ्याल खोलेर बोलाई ।

माथि कोठा पहिलेकै जस्तो, घर उस्तै— अब नयाँ बनाउने होला । बिल्डिङ पो बनाउला– भन्ने सोच्दै कोठाभित्र पसेँ, केदारप्रसाद ओछ्यानमा पल्टिरहेको देखेँ । 

मैले झट्ट उही केदार हो त– भनेर चिन्न पनि सकिनँ । किनकि ऊ मेरो आशाको विपरीत, ढाँचाकाँचाले शून्य, रुग्ण अनुहारको देखेँ । उसले मलाई स्वागत गर्दै चकटीमा बस्न आग्रह गर्‍यो— थोत्रो मैलो चकटी ।

त्यस्तो धनी मानिस, मेच कउच पनि किन नराखेको– कति कन्जुस मक्खीचुस भएको यो केदार– भन्ने लाग्यो । सन्चो बिसन्चोका कुरा चल्दा उसले भन्यो, ‘धनंञ्जय ! विदेशमा कमाउन गएको त रोग पो कमाएर आएँ ।’

‘के भन्यौ, रोग ?’ म अचानक चेतना हराएझैँ भए उसको कुरा सुनेर ।

‘रोगे त भन्नुपर्‍यो । एउटी स्वास्नी यहीँ थिई, अर्को एउटी कमाएँ त्यो पनि दुइटी छोरीकी आमा । त्यै चिन्तामा छु । आफ्नो सन्तोषले खाइपाइराखेको जागीर छाडेर किन गएँ हुँला––’ भनेर उसले सुस्केरा हाल्यो, ‘अलि–अलि भए पनि भरथेग त थियो । दशा लागेर छोडिएछ ।’

मलाई उसको कुरामा अझै पत्यार लागेन–– धनी मानिस कहाँ हम्मेसी साँचो कुरा गर्छन् र भन्ने लाग्यो ।

‘तिम्रो ठट्टा गर्ने बानी अझै गएको छैन ?’ मैले हाँस्तै भनेँ ।

‘धत्तेरी ! तिमीसित ठट्टा गर्छु म ?’ चिन्ताग्रस्त स्वरमा उसले भन्यो, ‘अस्ति जगदीश आएका थिए । उनले केही भनेनन् तिमीलाई ? त्यै अड्डामा छौ भन्थे त ?’

‘उनैले भनेर म तिमीलाई भेट्न आएको ।’ मैले भनेँ ।

‘तब उनले भनेनन् ?’

‘उनले त तिमीले दुई लाख कमायौ रे, एउटा मोटर पनि ल्याएका छौ पो भन्थे ।’

‘जगदीशले ? कस्तो फटाहा कुरा गरेछन् ? म त्यस्तो धनी भए यसरी थोत्रो घरमा अँध्यारो कोठामा झोक्रिएर बस्थेँ ? के के गर्थे हुँला ?’ उसको मुखमा केही हाँसो केही वेदना झल्किएको स्पष्ट देखियो र मलाई जगदीशको भनाइको साहित्यिक अर्थ पनि खुल्दै गयो ।

(कोइरालाको कथाकृति ‘सुर्तीको पातमा झुन्डिएको जीवन’बाट)

प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०८२  ०७:३०
प्रतिक्रिया दिनुहोस्