अन्त्यारम्भ
(कथा : डा. टीकाराम पोखरेल)
साहित्यकार डा. टीकाराम पोखरेलको पछिल्लो कृति हो, कथासंग्रह ‘अन्त्यारम्भ’ । केही समयअघि बजारमा ल्याइएको पुस्तक हो यो । डा. पोखरेलले कथा, समालोचना, साहित्यिक इतिहाससहित आठ पुस्तक पस्किइसकेका छन् ।
लेखकीयमा कथाकार डा. पोखरेलले लेखेका छन्, “हरेक मान्छेको जिन्दगी लिपिबद्ध नभएको कथा हो । संकलित कथाहरू तथ्य घटनामा आधारित थिए, पात्रहरूको नाम मात्र काल्पनिक थिए । यस अर्थमा यस संग्रहका कथामा म सर्जकभन्दा बढी संकलक हुँ ।”
यो कृतिभित्र डा. पोखरेलका २१ कथा संगृहीत छन् ।
सुन्दर स्वदेश पब्लिकेसनद्वारा प्रकाशित १६२ पृष्ठको यो कथाकृतिको मूल्य ४००/– रुपैयाँ राखिएको छ ।
०००
कथासिद्धान्त
(सिद्धान्त : प्रा. डा. कृष्णहरि बराल)
नेपाली साहित्यमा सुपरिचित सर्जक हुन्, प्रा. डा. कृष्णहरि बराल । नेपाली गीतगजल क्षेत्रमा उनको सक्रियता विशेष छ । उनका दर्जन बढी पुस्तक प्रकाशित छन् । डा. बरालको अर्को एउटा कृति हो, ‘कथासिद्धान्त’ ।
उनले आफ्नो मन्तव्यमा लेखेका छन्, “हामी स्वयम् कथाका पात्र हौँ र आफू बसेको ठाउँ सबैलाई मन पर्छ । यही मन पराइले मलाई कथाबारे लेख्न प्रेरित गर्यो...।”
यो पुस्तकमा तीन परिच्छेदमा कथाका विविध सैद्धान्तिक आयाम प्रस्तुत गरिएको छ । चौथो परिच्छेदमा कथाशिल्पबारे लेखिएको छ ।
एकता बुक्सद्वारा प्रकाशित २१६ पृष्ठको यो कृतिको मूल्य २३५/– रुपैयाँ राखिएको छ ।
०००
वामनकथा
(लघुकथा : रामकृष्ण ढकाल)
साहित्यकार रामकृष्ण ढकालको हालै प्रकाशित लघुकथाकृति हो, ‘वामनकथा’ । उनका अरू पनि केही पुस्तक प्रकाशित छन् ।
लेखकीयमा ढकालले लेखेका छन्, “... नेपालीमा एउटा उखान छ पैसाले पैसा तान्छ । त्यस्तै बाख्रा बाख्रासित भेडा भेडासित । हो यस्तैगरी व्यङ्ग्य व्यङ्ग्यसित भन्दै व्यङ्ग्य नै यसले तानोस् भन्ने अपेक्षा हो । यो पुस्तक वामनकथा नामले निस्कन्छ । यो वामनकथा शब्दले वामपुड्के, होचा वा छोटा कथा भन्न खोजिएको हो ।”
यो कृतिभित्र ढकालका ३९ लघुकथा समेटिएको छ ।
लेखक स्वयम्ले प्रकाशन गरेको ७२ पृष्ठको यो पुस्तकको मूल्य २५०/– रुपैयाँ राखिएको छ ।
०००
श्रद्देय गुणदेव भट्टराई स्मृतिपुष्प
(स्मृतिग्रन्थ : सं. जयदेव भट्टराई)
साहित्यिक पत्रकार तथा साहित्यकार जयदेव भट्टराईद्वारा सम्पादित तथा विभिन्न व्यक्तित्वका स्मृति र विचार समावेश पुस्तक हो, ‘श्रद्देय गुणदेव भट्टराई स्मृतिपुष्प’ । नेपालको शैक्षिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तित्व गुणदेव भट्टको स्मृतिमा प्रकाशित यो स्मृतिपुष्पमा उनको जीवनका अनगिन्ती प्रसंग पढ्न पाइन्छ ।
ग्रन्थको सम्पादकीयमा जयदेव भट्टराईले लेखेका छन्, “... घरमा बाउ, बाजे, आमा, दाइका साहित्यका किताब देखेर हो कि किताब लेख्ने रहर पालेर आएको म । यतिखेर आफ्नै बुवाको बारेमा किताब लेख्न तम्सिएँ, यसो भनौँ सम्पादन गर्ने कर्ममा जुटेँ । मेरो कार्यमा दाजु–भाउजू, दिदी–भिनाजु, श्रीमती, भाइ–बुहारी, भाञ्जा–भाञ्जी, छोरा–छोरी सबैले एक स्वरले साथ दिएपछि हौसिएको हुँ । ... ।”
पुस्तकमा केही पारिवारिक आलेखसँगै कृष्णप्रसाद भण्डारी, केदारभक्त माथेमा, गोरक्षबहादुर न्हुच्छे प्रधान, डा. तीर्थबहादुर श्रेष्ठ, तेजेश्वरबाबु ग्वंग, डा. ध्रुवचन्द्र गौतम, पुरुषोत्तम शम्सेर ज.ब.रा., डा. भेषबहादुर थापा, डा. साफल्य अमात्य, मदन रेग्मी, डा. राजेश गौतम, पुष्कर लोहनीसहितका ८१ स्मृतिआलेख समावेश छ ।
उदयदेव, सुरेशदेव, उज्ज्वलदेव र विजयदेव भट्टराईद्वारा प्रकाशित ३२० पृष्ठको यो स्मृतिपुष्पको मूल्य ५००/– रुपैयाँ राखिएको छ ।
०००
हेर्दाहेर्दै
(आलेख : प्रज्ज्वल चागापाईं)
केही समयअघि प्रकाशित लेखक प्रज्ज्वल चापागाईंको स्मृति, विचार र यात्रा समेटिएको पुस्तक हो, ‘हेर्दाहेर्दै’ । यो पुस्तकमा उनले लेखेका विभिन्न आलेख संगृहीत छन् । लेखकको यो दोस्रो पुस्तक हो ।
कृतिकार चापागाईंले मेरो भन्नुमा लेखेका छन्, “जिन्दगीले अनेकौँ फाँट, देउराली, भन्ज्याङ, चौतारी र शिखरमा चढाउने र ओह्राल्ने काम गर्यो । केटाकेटीको शिक्षा र पारिवारिक उन्नयनका लागि उत्तर अमेरिकाको क्यानडा पुग्नुपर्यो । उत्तर धु्रवमा बसेकै दश वर्ष नाघिसक्यो । अचेल क्यानडामा सरकारी विद्यालयको शिक्षण सहायक पेशामा व्यस्त छु । तर लेख्न छोडेको छैन । ... ।”
यो पुस्तकभित्र चापागाईंका ३१ विभिन्न शीर्षकका आलेख पढ्न सकिन्छ ।
भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित २२८ पृष्ठको यो पुस्तकको मूल्य ४५०/– रुपैयाँ राखिएको छ ।
०००
जिन्दगी
(कविता : माया गुरुङ)
कविता विधामा कलम चलाउँदै आएकी बेलायतवासी माया गुरुङको कविताकृति हो, ‘जिन्दगी’ । उनका कविता विभिन्न पत्रपत्रिकामा फुटकर रूपमा छापिएका छन् ।
लेखकीयमा कवि गुरुङले लेखेकी छन्, “... यो मेरो नितान्त व्यक्तिगत र पहिलो प्रयास ‘जिन्दगी’ कवितासंग्रहले अवश्य पनि नेपाली साहित्यमा अथवा मानव जीवनमा सकारात्मक सोच वा सन्देश देला भनी पूर्ण आशा पनि राखेकी छु ।”
कृतिमा सुमलकुमार गुरुङले भूमिकामा लेखेका छन्, “कवि माया गुरुङले आफ्ना प्रत्येक कविताको भाव बिम्बलाई सप्तरङ्गी इन्द्रेणीका रङ्गका विभिन्न स्वरूप दिँदै रोचक र रङ्गीन बनाउन सफल भएकी छन् । ... । ।”
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेलायत च्याप्टरद्वारा प्रकाशित १३६ पृष्ठको यो पुस्तकको मूल्य २०५/– रुपैयाँ राखिएको छ ।
०००
सिड्नी डायरिज
(उपन्यास : सुनिल दवाडी)
अस्ट्रेलियाको सिड्नीमा निकैअघिदेखि बसोबास गर्दै आएका सुनिल दवाडीको उपन्यास हो, ‘सिड्नी डायरिज’ । उनको यो पहिलो उपन्यास हो ।
अनुभूति र आभारमा उपन्यासकार दवाडीले लेखेका छन्, “कपुरधाराको गल्लीको एउटा घरमा भाडामा बस्दादेखिको लेख्ने र उपन्यास प्रकाशन गर्ने चाहना बल्ल आज पूरा हुँदै छ । एउटा उकाली चढेर चौतारीमा बस्दै, सुस्केरा हालेको अनुभव भएको छ ।”
पुस्तकको ब्लर्बमा लेखिएको छ, “केही अनुभव, केही अनुभूति, केही विश्वास, केही प्रेम, केही सम्झना, केही घटना, केही कल्पनाहरूको सुन्दर कोलाज हो— ‘सिड्नी डायरिज’ । विविध जीवन बाँचिरहेका पात्रहरूको घरी सादा, घरी रङ्गीन देखिने कौतूकमय याद साथ, बचाइ सोचाइहरूको रामरमितामा पाठक समाहित हुनेछन् । ... ।”
पाँचपोखरी प्रकाशन गृहद्वारा प्रकाशित २८२ पृष्ठको यो उपन्यासको मूल्य ३७५/– रुपैयाँ राखिएको छ ।
०००
अनायोजित
(उपन्यास : अनिता पन्थी)
युवा स्रष्टा अनिता पन्थीको उपन्यास हो, ‘अनायोजित’ । केही वर्षअघि प्रकाशित यो उपन्यासको दोस्रो संस्करण हालै बजारमा ल्याइएको छ । विशेषतः आख्यान विधामा कलम चलाउने पन्थी कृतिको समीक्षा पनि गर्छिन् ।
दोस्रो संस्करणमा उपन्यासकार पन्थीले लेखेकी छन्, “आज आएर अनुभव गर्दै छु एउटा लेखक हुँदाका खुशीहरू कति फरक हुँदा रहेछन् । नगण्य घटनाले पनि कसरी खुशी बनाउँदा रहेछन् । जुन कि पैसामा कहिल्यै खरिद गर्न सकिँदैन । म अहिले त्यही खरिद गर्न नसकिने खुशीको अवस्थामा छु । ... ।”
उपन्यासको भूमिकामा डा. गोविन्दराज भट्टराईले लेखका छन्, “अनिताको आख्यानमा दर्शनको पनि गहिरो प्रभाव छ— एकातिर अस्तित्ववाद छ अर्को पूर्वीय चेतना छ— आत्माको, जीवनको, पुनर्जन्म, जन्म जन्मान्तरको । त्यति गहिरो ता होइन तर तिनै तत्त्वमा टेकेर यसको विश्वास बनिएको छ ।”
सुन्दर स्वदेश पब्लिकेसनद्वारा प्रकाशित १६६ पृष्ठको यो उपन्यासको मूल्य ६००/– रुपैयाँ राखिएको छ ।