site stats
बाह्रखरी :: Baahrakhari
विचार
युवा आवाज र नयाँ सोचको सम्मान गरौँ !

नेपालको राजनीतिक दृश्यपटलमा नयाँ युगको संकेत देखिन थालेको छ । 

नेपालमा दशकौंदेखिको राजनीतिक अस्थिरता, अनुत्तरदायी नेतृत्व, सत्ताको व्यापक दुरुपयोग र शक्ति केन्द्रित दलगत स्वार्थले सामान्य नागरिकलाई दिएको निराशा अहिले क्रान्तिकारी चेतनामा रूपान्तरण भइसकेको छ खासगरी युवा पुस्तामा ।  सामान्यतया प्रत्यक्ष राजनितीभन्दा बाहिरै बस्न रुचाउने र राजनीतिक सबालहरूमा मौन देखिने युवा शक्ति अहिले सडक, सामाजिक सञ्जाल र विचार मञ्चहरूमा चर्को आवाजमा सरकार, राज्य संयन्त्र र राजनीतिक संरचनालाई चुनौती दिइरहेको छ ।  अझ सत्ताको बागडोर सम्हाल्न आफैँ अगाडि बढेको छ  ।  

अर्कोतिर भने आन्दोलनको एक महिना बितिसक्दा समेत प्रमुख दलका केही शीर्ष नेतालाई न कुनै पछुतो छ न जिम्मेवारी लिएका छन् न समस्याको गहिराइ बुझ्ने इच्छाशक्ति नै देखिन्छ । घमण्डको हुँकार पो सुनिन्छ । यस्ता हठी व्यवहार र संवेदनशीलताको अभावले आन्दोलनले निर्देश गरेको गन्तव्य प्राप्तिका सम्भावना कमजोर बनाउँछ । 

पछिल्लो समय देखिएका 'इनफ इज इनफ्', 'नोट चल्ने भोट नचल्ने', 'नेपोबेबी' ट्रेन्ड, 'हाम्रो ट्याक्स खोइ?' जस्ता अनेकौं सडक र सामाजिक सञ्जालका आन्दोलन हुँदै भर्खरैको जेन -जी आन्दोलनसम्म आइपुग्दा पुराना दल र परम्परागत सत्ता सञ्चालन विधिमाथि युवाले धावामात्र बोलेनन् यी आन्दोलनमार्फत् सायद अब नवीन नेपालको भविष्य यही बिन्दुबाट निर्देश गर्न सकिन्छ भन्ने सशक्त सन्देश दिन पनि  सफल भए  । यी सबै घटनाक्रमले मौजुदा राजनीतिक आशक्तिलाई प्रमाणित त गर्‍यो नै राज्य संयन्त्रको अकर्मण्यता र राजनीतिक नेतृत्वको अक्षमतासमेत उजागर गरिदिएको छ  ।  

यो युग उधारो वाचा र भाषणको नभएर इमानदारी, उत्कृष्टता, पारदर्शिता र जवाफदेही खोज्ने पुस्ताको हो । आजका युवा प्रश्न सोध्छन्, उनीहरू प्रमाण माग्छन् ।  खोक्रो आदर्श र सिद्धान्तका भारी प्रवचन हैन कार्यान्वयन र परिणाम चाहन्छन् । उनीहरू आफ्नो भविष्यको विषयमा अर्को पुस्ताबाट निर्देशन लिन चाहँदैनन् । उनीहरू आफैँ नेतृत्वमा आउन चाहन्छन्, निर्णायक बन्न चाहन्छन् ।  

देशको भविष्य नै अस्थिर हुँदा त्यो देशका कुनै पनि व्यक्ति वा समूहको भविष्य सुरक्षित नहुने यथार्थ बुझेका छन् युवाले  । त्यसैले पनि नेपालजस्तो अस्थिर राजनितिले ग्रसित देशका युवाले भविष्यको चिन्ता गर्नुपर्ने पर्याप्त कारण छन् । यथार्थ के हो भने पुराना दल र दलका नेता कार्यकर्ताले यस देशलाई अँध्यारोतिर लैजाने काम जसरी गरेका थिए, भ्रष्टाचार जसरी मौलाएको थियो, सुशासन जसरी कमजोर बनाइएको थियो त्यो क्रम असाध्यै डरलाग्दो थियो । त्यो निरन्तरता विरक्तलाग्दो थियो  ।

सरकार र सत्तामा बसेका पुराना दलबाट भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा कुनै ठोस सुधार हुनै नसक्ने विश्वास जब  युवामा जाग्न थाल्यो, तब उनीहरूले विरोध र विद्रोहको विकल्प रोजे । जेन-जी आन्दोलन युवाले आफ्नो व्यक्तिगत भविष्यभन्दा बढी देशको भविष्यले चिन्तित भएर गरेको आन्दोलन थियो  ।  

यो आन्दोलनलाई व्यक्ति वा सरकार बदल्ने आन्दोलनको रूपमा बुझ्नु गल्ती हुनेछ । यो पद्धति बदल्ने आन्दोलन थियो । भ्रष्टाचारको निष्पक्ष छानबिन र भ्रष्टलाई  कारबाही हुनुपर्छ भन्ने आन्दोलन थियो  । चिर निराशाको गहिरो अत्यासमा  पुगिसकेका जनतालाई आशाको किरण देखाउने बहाना बनेर उदायो यो आन्दोलन । प्रणाली र पद्धति बदल्नेमात्र हैन देशमा अडिएर सुनौलो भविष्य कोर्न सकिन्छ, मक्किएको भात्किएको नेपाल हामी सबै मिलेर बनाउन सकिन्छ भन्ने आत्मविश्वास दिलाउने अवसर बन्यो  यो आन्दोलन  । 

नेपालको राजनीतिक सन्दर्भ अब एउटा मोडमा आइपुगेको छ जहाँ पुरानो शक्ति संरचना र नयाँ चेतनाबीच द्वन्द्वको अवस्था छ । यो द्वन्द्व टकरावमा जानुपर्छ भन्ने होइन तर समाधान परिवर्तित परिस्तिथिको स्विकार र आचारणमा सुधारबाट मात्र सम्भव हुन्छ ।

यसै सन्दर्भमा, कोही युवाको आवाजसँग असहिष्णु रहन्छन्, आन्दोलनलाई एक विध्वंसमात्र भनेर अस्वीकार गर्छन् र नवीन सोचलाई ‘अनुभवको कमी’ वा ‘उछृङ्खलता’ भनेर बेवास्ता गर्छन् भने उनीहरू इतिहासमा विफलताको प्रतीक बन्न बाध्य हुनेछन् ।

युवाको आवाजलाई अवज्ञा गर्नु मूर्खताका साथै दीर्घकालीन राजनीतिक आत्मघात पनि हो । इतिहासले पटकपटक प्रमाणित गरेको छ- जो समयको माग बुझ्दैनन्, उनीहरू अज्ञानी कहलिन्छन्, एक्लिन्छन्  । 


 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०८२  ११:०६
प्रतिक्रिया दिनुहोस्