site stats
बाह्रखरी :: Baahrakhari
विचार
जेन-जीको विद्रोह र नेपालको पुनरुत्थान

नेपालमा भदौ २३ र २४ मा 'जेन–जी'द्वारा गरिएको आन्दोलनले नेपाली राजनीतिको चरित्र पुनः एकपटक हल्लाइदियो । राजनीति र विज्ञान फरक विधा हुन् । विज्ञान तथ्यसँग सम्बन्धित हुन्छ भने राजनीतिमा तथ्यलाई आफू अनुकूल व्यख्या गर्ने प्रचलन छ। राजनीतिमा देखिने बेथितिजस्तै वैज्ञानिक अनुसन्धानमा पनि 'आर्टिफेक्ट' देखिने गर्छ । अनुसन्धानमा प्रयोग हुने 'कम्पोजिट' र 'आर्टिफेक्ट' शब्दहरूको सन्दर्भलाई जोड्दै  नेपालको राजनीतिक अवस्था प्रतिविम्बित गर्ने प्रयास यस लेखमा गरिएकोछ ।

लामो समयदेखि देखिँदै आएको बेरोजगारी, अवसरको असमानता, गहिरिँदो भ्रष्टाचार, दलगत स्वार्थ वा समग्रमा बेथितिहरूप्रतिको आक्रोश यस आन्दोलनमार्फत तीव्ररूपमा विस्फोटित भयो । युवाले सडक र  डिजिटल अभियानमार्फत् आफ्नो असन्तुष्टि प्रकट गरे । यो अवस्था आउनुको मुख्य कारण पटकपटक सत्तासीन राजनीतिक नेताहरूले तथ्यलाई आफू अनुकूल प्रचार गर्नुको परिणाम हो । धरातलीय यथार्थ तिनको भाष्यभन्दा धेरै फरक थियो । 

नेपालको राजनीतिक प्रसङ्ग र 'कम्पोजिट' अनुसन्धान   
अहिलेको 'जेन-जी' विद्रोहको क्रममा प्रशासनिक भवनहरूमा, राजनीतिक दलका कार्यालयहरूमा र वरिष्ठ नेताहरूका निवास आक्रमण, तोडफोड र  आगजनीका घटना भए । यसरी सामान्य विरोधको सीमाभन्दा पर गएर आन्दोलनले पुरानो राजनीतिक संरचना र शासकीय संस्कृतिप्रति धावा बोल्यो । वर्षौंदेखि जरा गाडिएको अपारदर्शी, भ्रष्ट र गैरजवाफदेही राजनीतिक प्रवेत्तिलाई अब नागरिक विशेषतः युवावर्गले स्वीकार्न नसक्ने सन्देश यस आन्दोलनले दिएको छ ।

आजको संसार वैज्ञानिक खोजअन्तर्गत नयाँनयाँ  प्रविधिमार्फत मानवोपयोगी वस्तुहरूको निर्माण र विस्तारले विश्वका  सामान्य मानिसहरूसमेत उपभोगको नयाँ चरणमा प्रवेश गरिसकेका छन् । यसले अझै निरन्तरता पाइरहनेछ । विभिन्न अनुसन्धान क्षेत्रमध्ये 'कम्पोजिट' अनुसन्धान क्षेत्र, उत्पादन र निर्माणको  क्षेत्रमा ठूलो परिवर्तन ल्याउने कारक बन्दैछ। अनुसन्धानको भाषामा 'कम्पोजिट' भन्नाले कुनै एक वस्तुमा दुईभन्दा बढी भिन्न वस्तुलाई उपस्थित गराउनु  हो ।

यही सोचअनुसार कुनै पनि नयाँ वस्तु निर्माण गर्दा अरू वस्तुको मात्रा मिलायर 'ट्रायल' गर्ने काम अनुसन्धान क्षेत्रको लागि चुनौती दिने चरण हो । उदाहरणका लागि अहिले विश्वमा भइरहेका केही अनुसन्धानमा नतिजा सकारात्मक आए हामीले नदी नालामा हाल्ने पुलका पिलर कार्बन फाइबर कोटेड वा न्यानो ट्युब कम्पोजिट हुनेछन् जुन अहिलेका चलनचल्तीका भन्दा बढी टिकाउ र बलिया हुनेछन् । वैज्ञानिक अनुसन्धानमा 'ट्रायल फेज' भनेको तत्काल परिमाण दिने चरण हैन । किनभने, नतिजा प्राप्त गर्न कुनको मात्रा कति प्रयोग गर्दा हुन्छ भनेर यकिन गर्न लामो समय र मिहेनत चाहिन्छ । मात्रा मिलाउन नसके कम्पोजिटमा फ्रयाक्चर आई  समग्र अनुसन्धान खेर जान पुग्छ र नया कोर्सको थालनी गर्नुपर्ने हुन्छ । यस अवस्थामा  सामान्य मानिससम्म परिणाम पुग्दैन जुन नेपालको विगतदेखि वर्तमानसम्मको राजनीतिक अवस्थासँग मेल खान्छ ।

नेपालको जातीय स्थिति, धर्म, भाषा, भूगोल, राजनीतिक दल, हावापानी, इत्यादि र समग्र सामाजिक बनावट पनि कम्पोजिट रूपमा छ । तर,  माथि उल्लेख गरिएका कुनै एक चिजमा पनि मात्रा नमिले कम्पोजिटमा फ्रयाक्चर आई सामाजिक सन्तुलन नै खलबलिने स्थिति देखिन्छ । नेपालको शासन सत्ताको इतिहास हेर्दा अहिलेसम्म यही चरित्र र प्रवृत्ति देखिन्छ । यसैले कुनै पनि सत्ताले जनताको वास्तविक प्रतिनिधित्व गरेन । तसर्थ, हाम्रो देशको सरकार जानेआउने भनेको एक कम्पोजिट अनुसन्धानजस्तै हो। अहिलेको संविधानअनुसार बनेका  केन्द्रीय वा प्रान्तीय सरकारहरू पनि कम्पोजिट सरकार हुन् । किनभने यहाँ भिन्न भिन्न चरित्र र सिद्धान्त भएका दलहरूको संग्लनता छ । मात्रा नमिले फेरि कुनै पनि बेला अर्को स्थिति आउन सक्छ ।

यसैले सरकार पटकपटक ट्रायल फेजमा घुमिरहेको हो । विसं २००७ देखिको राजनीतिक अनुसंधानको ट्रायल फेज अझसम्म टुंगिसकेको छैन। यो चरण जति लम्मियो त्यतिनै निराश नेपालीको सङ्ख्या बढ्नेछ । नेपाल लामो समयदेखि चाहेर वा नचाहेर  कम्पोजिट राजनीतिक अनुसन्धान केन्द्र बनिरहेको छ  । वर्तमान विद्रोहले भने राजनीतिक पार्टी र नागरिक समाजलाई सच्चिने अवसर दिएको छ । नसच्चिए माथि उल्लेख गरिएजस्तै, जनताले परिमाण र नतिजा पाउन झन् मुस्किल हुनेछ। हामी नयाँनयाँ राजनीतिक कोर्स वा अभ्यासतिर झन् धकेलिँदै जानेछौँ । अहिलेको समाजिक सञ्जालका पोस्ट हेर्दा देखिने विकसित राष्ट्रतिर उड्ने व्यक्तिलाई ओडाइएको खादा देख्दा लाग्छ नेपालमा युवाको भविष्य छैन भन्ने भाष्य निर्माण गरिँदैछ। सक्रिय युवा उत्पादनसँग जोडिन्छ, उत्पादन रोजगारीसँग र रोजगारी बजारसँग। अहिले नेपालमा यो कडी भत्किसकेको छ। जेन-जी विद्रोहबाट बनेको सरकार, नागरिक समाज र राजनीतिक पार्टीहरूले अब यो कडीलाई जोड्नेतिर ध्यान केन्द्रित गर्नुपर्छ ।

नेपालको राजनीतिकको बेथिति र अनुसन्धानको आर्टिफेक्ट
नेपालको राजनीतिक अस्थिरता लामो समयदेखि थियो, अझै छ र अब झन् गहिरिनेछ भनिदैछ। किनभने नेपाल कम्पोजिट राजनीतिक दाउपेचमा आन्तरिक र बाह्य दुवै कारणबाट छ। यही अवस्था र अहिले रहेको निर्वाचन पद्धतिको लाभ राजनीतिमा लाग्ने सीमित मानिसलाई मात्र छ। नेपालमा पटकपटक भएका निर्वाचनबाट पनि केन्द्र वा प्रदेशमै पाँच वर्षमा पटकपटक नयाँ प्रधानमन्त्री, मुख्यमन्त्री आउनेजाने काम भइराखेको छ । नेपाल भूगोल र जनसंख्याको हिसाबले त्यति सानो र कमजोर मुलुक हैन । नेपाली जनतालाई अहिले चाहिएको परिणाम हो ता कि देशले सम्पन्नताको यात्रा तय गर्न सकोस् । यस्ता अस्थिर सरकारमा रहने पार्टीहरूले जितेको महसुस गरे पनि देशले पटकपटक हार्ने छ। नयाँ पुराना राजनीतिक दलहरूले आफू हारे पनि देशलाई जिताउन, यो अवस्थालाई सुधार गर्न  ढिलोचाँडो तत्परता देखाउनुपर्ने हुन्छ । अरूलाई दोष दिएरभन्दा आफू सच्चिएर अहिलेका युवाको माग सम्बोधन गर्नसके देश अस्थिरता मुक्त हुने बाटोतिर जाला । अहिलेको अवसरलाई बुद्धिमानीपूर्वक समुन्नत यात्राको सुरु गराए देश अघि बढ्ला । तसर्थ, सच्चिनै पर्ने ठाउँमा छिटो सच्चिऊँ हैन भने देश फेरि पनि पछि धकेलिन सक्छ ।

मूलतः देशका नयाँ र पुराना पार्टीहरू अब थप जिम्मेवार हुनु आवश्यक छ। हुनत, यसको सही रेफ्री जनतानै हुन् । अब आउने चुनावमा जुन पार्टीले यिनीहरूको विश्वास जित्न सक्छ सरकारमा त्यो पार्टी पनि पुग्ने निश्चित  जस्तै छ । पहिलाको भोटको प्रवृत्ति हेर्ने हो भने अहिलेको अवस्थामा हुने निर्वाचन पनि भ्याकुम वा शून्यजस्तै हो। यो पद्धतिमा आउने परिणाम पनि कहिले कुन् दल ठूलो र कहिले कुन् भन्नेमात्र हो । यसले अपेक्षित परिणाम दिँदैन । देशलाई यही स्थितिमा राख्नेछ वा यसभन्दा खराब हुनेछ । तर, यो अवस्थाको अन्त्यको लागि वर्तमान संविधानमा रहेको शासकीय स्वरूपलाई बदल्न र  निर्वाचन पद्धतिलाई सुधार्न जरुरी छ । जेन-जी विद्रोहले यसको जग बसालिदिएको छ ।

नेपालको रूपान्तरण हुने अवसर
विज्ञानको शब्दमा भन्ने हो भने समाजमा आर्टीफेक्टको विस्तार  भए देशमा विधिको शासन स्थापनाको लागि  चुनौती थपिदिन्छ । जे सोचेको हो त्यो हुदैन । विसं २०६२-६३ को आन्दोलनबाट देशको कायपलट हुन्छ भनेर कल्पना गरिएको थियो । भएन । अहिलेको जेन-जी आन्दोलनबाट नयाँ पुस्ताको असन्तुष्टि र आकांक्षाको स्पष्ट उद्घोष बाहिर आयो । युवाले सडकमा देखाएको आक्रोशले शिक्षा, रोजगारी, पारदर्शिता र समावेशी शासन प्रणालीको तीव्र मागलाई राजनीतिक वृत्तमा सशक्तरूपमा उजागर गर्‍यो । अब नेपाल लामो समयदेखिको 'राजनीतिक अनुसन्धान केन्द्र'बाट हट्छ कि ?

नेपालमा सन् १९९० पछिका छोटै समयमा दुईवटा संविधान देख्न पाइयो । पहिलो संविधानबाट जे कल्पना गरिएको थियो त्यो भएन र नै त गयो होला । दोस्रो प्रयोगको चरणमा रहँदै अहिले धरमराएको छ। विश्वका केही मुलुकले सयौं वर्षअघिकै संविधानबाट काम चलाइरहेका छन् । प्रत्येकचोटि परिवर्तनबाट थालिएको यात्रा गन्तव्यमा पुग्न असफल भएको देखिएको छ । अब चाँहि यात्रा गन्तव्यमा नै पुगोस् भन्नका लागि सबैको सकारात्मक भूमिका अपरिहार्य छ।

देशको अधोगतिले स्वदेश विदेशमा रहेका नेपाली कुनै न कुनै अप्ठयारोमा परेका छन् । तिनको प्र्तिक्रियामा अचेल आक्रोश मात्रै हैन पीडा पनि लुकेको छ । विदेशिएका नेपाली सीप, पीडा र आक्रोश सबै लिएर फर्कने छन् ।  स्वदेशमा रहेका योग्य तर पछाडि पारिएका आक्रोशित युवा वा अन्य समुदाय यहाँ पहिलेदेखि नै ठूलो सङ्ख्यामा छन। यी दुवैको एकत्रित आक्रोश विस्फोट भएर नै देशमा आज यो विध्वंस भएको हो । अझै पनि चेत्न नसके नेपालमा भोलिका दिनमा यसभन्दा ठूलो विद्रोह हुनसक्छ । त्यस अवस्थामा को कहाँ पुग्छ भन्न सकिँदैन । अहिलेको जेन-जी विद्रोहले नेपाललाई  “कम्पोजिट” राजनीतिक प्रयोगबाट राजनीतिक पुनर्निर्माणमा रूपन्तारित हुने अबसर दियको छ। यसको सदुपयोग गर्नसके नेपालको सामाजिक, आर्थिक र राजनीतिक पुनर्निर्माण हासक्नेछ । 
 
                       


 

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०८२  १७:१३
प्रतिक्रिया दिनुहोस्