site stats
बाह्रखरी :: Baahrakhari
खेल
घरेलु मैदानमा न्युक्यासलको जित

काठमाडौं । इंग्लिस क्लब न्युक्यासलले च्यम्पियन्स लिगमा पोर्चुगिच क्लब बेन्फिकाविरुद्ध ३–० को सहज जित निकालेको छ । 

बुधबार इंग्ल्यान्डको सेन्ट जेम्स पार्क रंगशालामा घरेलु टोलीलाई जित दिलाउन टोलीका हार्भे बार्नेसले दुई गोल गरे । एन्टोनी गोर्डोनले एक गोल गरे । न्युक्यासलले पहिलो हाफमा एक र दोस्रोमा हाफमा दुई गोल गरेको थियो । 

खेलको ३२औँ मिनेटमा गोर्डाेनले न्युक्यासललाई अग्रता दिलाए । ७०औँ मिनेटमा बार्नेसले अग्रतालाई दोब्बर बनाए । ८३औँ मिनेटमा उनै बार्नेसले दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।

जितसँगै न्युक्यासलले सात अंक जोडेको छ । सातौँ स्थानमा रहेको न्युक्यासलले तीन खेलमा दुई जित र एक हारसहित यो नतिजा आत्मसाथ गरेको हो ।

आजै च्याम्पियन्स लिगमा जर्मन क्लब बोरुसिया डर्टमन्डले डेनिस क्लब एफसी कोपेन्हेगनविरुद्ध ४–२ को जित निकालेको छ । डर्टमन्डको जितमा फेलिक्स न्मेचाले दुई गोल गर्दा फाबियो सिल्भा र रामी बेन्सबैनीले समान एक गोल गरेका थिए । 

इटालियन ‘सिरी ए’को क्लब इन्टर मिलानले युनियन सेन्ट गिलोइजलाई ४–० ले पराजित गर्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । 

इन्टरले जितसँगै तीन खेलमा शतप्रतिशत जित निकाल्दै नौ अंक जोडेको छ । तर, गोलअन्तरको आधारमा शीर्ष टोली पेरिस सेन्ट जर्मन (पीएसजी)सँग एक गोलले पछाडि छ । 

च्याम्पियन्स लिगअन्तर्गत बुधबार नै सम्पन्न खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब भिलारियाललाई २–० ले पराजित गरेको छ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०८२  १०:१९
प्रतिक्रिया दिनुहोस्