site stats
बाह्रखरी :: Baahrakhari
देश
पोखरामा जुवातास खेलिरहेका २० जना समातिए
कौडा । प्रतीकात्मक तस्बिर ।

कास्की । प्रहरीले पोखराका नयाँबजार, लप्सीबोट र मोहरियाटोलमा जुवातास खेलिरहेका २० जनालाई पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको अवस्थामा नगद ६ लाख दुई हजार १०५ रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

उनले भने, “तिहारको समयमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा छापा मार्दा उनीहरूलाई पक्राउ गरिएको छ । प्रहरीले जुवातास खेल्ने र खेलाउनेहरूलाई निगरानी गरिरहेको छ ।”

प्रहरीका अनुसार, पोखराको नयाँबजारबाट पाँचजनालाई पक्राउ गरिएको हो । उनीहरूका साथबाट २१२ पत्ती तास र नगद दुई लाख ५१ हजार ४५५ रुपैयाँ बरामद गरिएको छ ।

यस्तै, पोखरा महानगरपालिका–२६, विजयपुरको लप्सीबोट सामुदायिक वनबाट सातजनालाई पक्राउ गरिएको छ । उनीहरूका साथबाट १४ थान कौडा र नगद ७७ हजार २०५ रुपैयाँ बरामद गरिएको छ ।

प्रहरीले पोखरा–२, मोहरियाटोलबाट आठजनालाई पक्राउ गरेको छ । उनीहरूका साथबाट ६ बुक तास र नगद दुई लाख ७३ हजार ४४५ रुपैयाँ बरामद गरिएको डीएसपी बस्नेतले जानकारी दिए ।

पक्राउ गरिएकामाथि अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२  १३:५३
प्रतिक्रिया दिनुहोस्