site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रधानमन्त्री कार्कीले विपीनको शवमा राष्ट्रिय झण्डा ओढाएर दिइन् श्रद्धाञ्जली

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विपीन जोशीको शवमा नेपालको राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएकी छन् । 

विपीनको शव आज इजरायलबाट काठमाडौं आइपुगेको थियो । प्रधानमन्त्री कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर विपीनलाई श्रद्धाञ्जली दिएकी हुन् । 

प्रधानमन्त्री कार्कीसँगै ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल लगायतले विपीनलाई श्रद्धाञ्जली दिएका थिए । 

श्रद्धाञ्जली कार्यक्रम सकिएपछि विपीनको शव आज नै नेपाली सेनाको जहाज (स्काई ट्रक)मा राखी धनगढी विमानस्थलसम्म लगिने छ । धनगढी विमानस्थलबाट सुदूरपश्चिम पृतनाले विपीनको शव कञ्चनपुर पुर्‍याउने छ । कञ्चनपुरमा उनको अन्तिम संस्कार गरिनेछ । 

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा विपीनसहित २५१ जनालाई बन्धक बनाई लगेका थिए । केही दिनअघि हमास र इजरायलबीच युद्ध विराम भएपछि हमासले विपीनको मृत्यु भइसकेको घोषणा गरेको थियो ।

त्यसपछि हमासले रेडक्रसमार्फत विपीनको शव इजरायली सेनालाई सुम्पिएको थियो । इजरायली सेनाले शवको डीएनए परिक्षण गर्दा शव विपीनको नै रहेको पुष्टि भएपछि इजरायल सरकारले शव नेपाल पठाएको हो । 

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२  १५:५५
प्रतिक्रिया दिनुहोस्