काठमाडौं । गत भदौ २३ गते हुम्लाको नाम्खा गाउँपालिका–३, खगालगाउँका २४ वर्षीय थुक्तेन पाल्वर लामा साथीहरूसँग तिनचुलीबाट निस्किए । त्यसदिन भएको जेनजी प्रदर्शनका क्रममा नयाँ बानेश्वर पुगेका उनी साँझ सकुशल घर फर्किए ।
भदौको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारी आमनेसामने हुँदा गोली लागेर २१ जनाको मृत्यु भएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालयले उपत्यकामा कर्फ्यू नै जारी गर्नुपरेको थियो । तर, कर्फ्यूको कुनै प्रवाह नगरी भदौ २४ गते उर्लिएका प्रदर्शनकारीहरूको भिडले सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवनसहित नेता कार्यकर्ताहरूका घरघरमा आगो लगाइदिए ।
सोही क्रममा आगजनी पनि गरिएको थियो । चुच्चेपाटीस्थित भाटभटेनीमा ६ जनाको शव जलेको अवस्थामा फेला परेको थियो । प्रदर्शनका क्रममा कुल ७६ जनाको मृत्यु भएको थियो ।
भदौ २४ गते थुक्तेन पनि चुच्चेपाटी भाटभटेनीमा पुगेको आशंका गरिएको छ । उनी त्यस दिन चुच्चेपाटी क्षेत्रको प्रदर्शनमा देखिएको भन्दै उनकै साथीहरूले परिवारलाई खबर पुर्याएको खुलेको छ ।
थुक्तेनका दाइ ङयुर तामाङका अनुसार, अहिलेसम्म भाइको अत्तोपत्तो छैन । “तीनचुलीमा बस्दै आएको भाइको एक महिनादेखि अत्तोपत्तो छैन । बुवा लेकतिर हुनुहुन्छ । अरू परिवार गाउँमै छौँ । आफन्तहरूले भाइलाई खोजिरहनुभएको छ । भाइका साथीले चुच्चेपाटीमा देखेको, त्यसपछि भेटेनौँ भनेर खबर गरे । भाटभटेनीमा कान्छो भाइ पऱ्यो भन्छन्,” उनले भने ।
थुक्तेन घरका कान्छा छोरा हुन् । २४ वर्षीय थुक्तेन नारायणथान गुम्बामा लामा ज्ञानको अध्ययन सकाएर एक वर्षअघिदेखि तीनचुली बस्दै आएका थिए ।
भतिजासँगै बस्दै आएका थुक्तेन टैछिरिङ लामाका कान्छा छोरा हुन् । परिवारले महिनादिनदेखि बेपत्ता थुक्तेनको खोजी गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय हुम्लामा निवेदन दिएको छ । उनका आफन्तले काठमाडौंमा पनि निवेदन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर पोखरेलले थुक्तेनको खोजीकार्य तीव्र पारिएको जानकारी दिए । “मान्छे हुम्लाको भए पनि मिसिङ काठमाडौंमा भएको हो । त्यसदिन चुच्चेपाटी पुगेको खबर परिवारलाई पुगेको रहेछ । अस्पताललाई पनि सोधेका थियौँ । तर, अस्पतालले पहिचान गर्न नसकिने बताएको छ,” डीएसपी पोखरेलले भने ।
उनको खोजीका लागि काठमाडौं प्रहरी, त्रिवि शिक्षण अस्पताल र परिवारसँग समन्वय गरिरहेको हुम्ला प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले निवेदन प्राप्त भएको तर भेटिएका शवबाट डीएनए निकाल्न नसकिएकाले पहिचान हुन नसकेको बताए ।
“हामीले अनुरोध गरेपछि ५, ६ वटा निवेदन परेका थिए । तर, अस्पतालबाट डीएनएको नमुना निकाल्न सकियो भने म्याच गराउने हो । ती शव कसका हुन् अहिलेसम्म खुल्न सकेको छैन,” एसपी भट्टराईले बाह्रखरीसित भने ।
भाटभटेनीमा पूर्णरूपमा जलेको अवस्थामा फेला परेका ६ जनाको शवको खरानी र कंकाल पोका पारेर राखिएको छ । अहिलेसम्म पनि ती शवको पहिचान हुन सकेको छैन ।
कोटेश्वर र चुच्चेपाटीमा भेटिएका शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जमा पुर्याइएको थियो । तर, अस्पतालले कंकाल र खरानीबाट शवको पहिचान गर्न नसकेपछि नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ ।
अस्पतालको फोरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार, अस्पतालले कंकाल र खरानीबाट पहिचान गर्न नसकेपछि प्रहरीको प्रयोगशालामा पठाइएको हो ।
“जलेका शवहरूको खरानी र कंकाल सोहोरेर ल्याइएको थियो । ती शवहरूको डीएनए म्याच गर्न मिल्ने वा नमिल्ने टुंगो छैन । प्रहरीको प्रयोगशालाले अझै दुई महिना लाग्ने बताएको छ,” डा. चौधरीले भने ।