काठमाडौं । साइबर अपराध गरेको आरोपमा ओमानले २० नेपालीलाई ‘डिपोर्ट’ गरेको छ । डिपोर्ट गरिएका मध्ये ११ जना नेपाल आइपुगिसकेका छन् । बाँकी नौजना यसै साता नेपाल आउनेछन् ।
“साइबर अपराधमा संलग्न रहेको आरोपमा केही महिनाअघि ओमान प्रहरीले एकैदिन २६४ जनालाई पक्राउ गरेको थियो, जसमा २० जना नेपाली रहेका थिए,” ओमानस्थित नेपाली दूतावास स्रोतले बाह्रखरीसँग भन्यो ।
अपराध पुष्टि भएपछि उनीहरूमध्ये दुईजनालाई ६ महिना कैद र ६०० रियाल जरिवाना गरिएको थियो । १८ जनालाई ६ महिना कैद र ३०० रियाल जरिवाना गर्ने फैसला स्थानीय अदालतले गरेको थियो ।
अदालतको फैसालाअनुसार उनीहरूले ६ महिना कैद सजाय भुक्तान गरेपछि नेपाल डिपोर्ट गरिएको हो । डिपोर्टमा परेका २० नेपालीमा एक महिला छिन् ।
“सामाजिक सञ्जालमार्फत आकर्षक रोजगारीको प्रलोभन देखाई ठगी गरेको आरोपमा उनीहरू पक्राउ परेका थिए । अहिले यस्तो ठगी निकै बढेको छ । यस्ता प्रलोभनमा नपर्न हामी सबैलाई अनुरोध गर्दछौँ,” दूतावासले स्रोतले भन्यो ।
नेपाली ठूलो संख्यामा वैदेशिक रोजगारीमा जाने देशमध्ये एक हो, ओमान । ओमानमा हाल २५ हजारभन्दा बढी नेपाली कार्यरत छन् । उनीहरूमध्ये ५० प्रतिशतभन्दा बढी संख्या महिलाको छ ।