काठमाडौं । देशका केही स्थानमा आज (कात्तिक २) आंशिक बदलीको पूर्वानुमान छ । सबै प्रदेशका पहाडी भूभागमा दिउँसो आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कागतिहारको यस दिन अरू भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाकी मौसमविद् विनु महर्जनले जानकारी दिइन् । “आज रातिको हकमा भने सबैतिर मौसम मुख्यतया सफा नै रहने देखिन्छ,” उनले बाह्रखरीसित भनिन् ।
आकाशमा ५० प्रतिशतसम्म बादल हुनुलाई आंशिक बदली भनिन्छ । २५ प्रतिशतसम्म आकाश बादलले ढाकेको अवस्थालाई मुख्यतया सफा भनिने महाशाखाले जनाएको छ ।
यस दिन पानी पर्ने सम्भावना खासै छैन । उच्चपहाडी भूभागका एक/दुई स्थानमा भने छिटपुट पानी पर्न सक्ने उनले स्पष्ट पारिन् । आउँदो मंगलबार (कात्तिक ४)सम्मको मौसम यस्तैयस्तै हुने सम्भावना रहेको उनले बताइन् ।
उनका अनुसार, गोर्वधन पूजा र भाइटीका (कात्तिक ५ र ६)का दिन पश्चिमी वायुको प्रभावले हालको भन्दा मौसम अलि बढी बदली हुने पूर्वानुमान छ । तर, धेरै वर्षाको सम्भावना नरहेको उनले बताइन् । महाशाखाले तिहार विशेष मौसम बुलेटिन पनि जारी गरिसकेको छ ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको महाशाखाले जनाएको छ ।