बागलुङ । बागलुङको धौलागिरि प्रादेशिक अस्पतालमा बिरामीले औषधि नपाएको गुनासोपछि गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक शनिबार (कात्तिक १) फार्मेसीमा पुगे ।
बिहीबार (कात्तिक ३०) अस्पताल फार्मेसीमा पुगेका स्वास्थ्य बिमामा आबद्ध अधिकांश बिरामीले नियमित रूपमा सेवन गर्ने थाइराइड, उच्च रक्तचाप, सुगर, मुटुलगायत समस्याको औषधि नपाएको गुनासो गरेका थिए । उनी पोखराबाट अस्पताल प्रशासनलाई थाहै नदिई अनुगमनमा आएका हुन् ।
सुटुक्क फार्मेसीमा पुगेका पाठकलाई फार्मेसीका कर्मचारीले सुरुमा चिन्न सकेनन् । मन्त्री पाठकले प्रदेश सरकारले औषधि खरिदका निम्ति पैसा पठाइसकेकाले किन खरिद नगरेको भन्दै प्रमुख मेडिकल सुपरिटेन्डेन्ट र फामेर्सी इन्चार्जलाई प्रश्न गरे ।
स्वास्थ्यकर्मी र फार्मेसीको बाहिर आफ्नो निजी पसल भएकाले अस्पतालमा औषधि अभाव बनाइराख्ने गरेको बिरामीले गुनासो गरेका थिए । मन्त्री पाठकले निजी फार्मेसी र प्रयोगशाला कि अस्पताल रोज्ने भन्दै स्वास्थ्यकर्मीलाई प्रश्न गरेका थिए ।
उनीसँग बिरामीले यहाँका अधिकांश कर्मचारीको अस्पतालबाहिर आफ्नै फार्मेसी र प्रयोगशाला रहेकाले मिलेमतोमा समस्या सिर्जना गरिएको गुनासो गरे ।
स्वास्थ्यमन्त्री पाठकले अस्पतालमा काम गरेर बाहिर प्रयोगशाला र फार्मेसी चलाउनेलाई कारबाही गर्ने भन्दै तुरुन्तै औषधिको आपूर्ति व्यवस्था मिलाउन निर्देशन दिए ।
“अस्पतालमा जागिर गर्ने तर निजी स्वार्थका लागि बिरामीलाई औषधि नदिएर बाहिर पठाउने कुरा गलत छ । प्रदेशले औषधि खरिदका लागि पठाएको रकमले छिटो औषधि खरिद गरौँ । मन्त्रालयले दुईतिर काम गर्ने कर्मचारीलाई कारबाही गर्न तत्कालै परिपत्र पठाउँछ,” मन्त्री पाठकले अनुगमनपश्चात् भने ।
अस्पतालले समयमै औषधि नल्याउँदा बिरामी महँगो मूल्यमा खरिद गर्न बाध्य भएका छन् । रासस