site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी कथा
‘पुरस्कार राशि बढ्नु नै कथासाहित्यको स्तरोन्नतिको संकेत’

काठमाडौं । बाह्रखरी कथा प्रतियोगिताले पछिल्लो समयको नेपाल बुझ्न सहयोग गरिरहेको वक्ताहरूले बताएका छन् । शुक्रबार (असोज ३१) काठमाडौंमा ‘डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता, २०८२’ घोषणा समारोहमा वक्ताहरूले यो प्रतियोगिताले नेपाली माटो र पहिचानलाई उजागर गर्ने काम गरिरहेको बताएका हुन् ।

सातौँ बाह्रखरी कथा प्रतियोगिताका निर्णायकमण्डलका संयोजक अशेष मल्लले यो प्रतियोगिता पछिल्लो दशकको नेपाली समाजको ऐना भएको उल्लेख गरे । उनले विश्वभर रहेका नेपालीलाई प्रतियोगितामा कथा लेखेर पठाउन आह्वान गरे । 

“विश्वभर रहेका नेपालीलाई बाह्रखरी कथा लेखन प्रतियोगितामा कथा लेख्न आह्वान गर्छु । हामी सबै मिलेर नेपाली कथासाहित्यलाई माथि उकास्ने काम गरौँ,” उनले भने ।

4R4A5521-1760694951.jpg
विश्वभर र नेपालमा रहेका नेपालीको पछिल्लो सोच/धारणा बाह्रखरी कथामा देखिने गरेको उनले बताए ।  “बाह्रखरी कथासंग्रहहरू ६ वटै पल्टाउँदा नेपाली साहित्यको स्तरोन्नति भएको देखाउँछ । नेपालको मौलिकपन देखिन्छ । नेपाल माटो र पहिचानको कुरा समेटिएको छ,” उनले भने, “कथामा नयाँ प्रयोग देखिन्छ । यी कथामा सिनेमा र नाटक बनाउन सकिन्छ । गौरव गर्न लायक कथा छन् ।”

उनले प्रथम पुरस्कारको राशि एक लाखबाट बढाएर दुई लाख पुर्‍याउनु नै नेपाली साहित्यको स्तरोन्नतिको संकेत भएको बताए । “अंग्रेजी साहित्य मात्र होइन, नेपाली साहित्य पनि सँगै उकालो लागिरहेको छ,” उनले भने ।

baahrakhari_katha-(5)-1760695065.jpg
समारोहमा बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधानले साहित्य क्षेत्रमा लाग्ने व्यक्तिलाई प्रेरणा र उत्साह प्रदान गरोस् भनेर पुरस्कार राशि बढाइएको स्पष्ट पारे ।

“अगाडि नै पुरस्कार राशि बढाउने उद्देश्य भए पनि कोरोना, आर्थिक मन्दीलगायत विभिन्न कारणले सकिएन, तर यसपटक बाह्रखरीले आफ्नो गाँस कटाएर भए पनि पुरस्कार राशि बढाएका छौँ,” उनले भने ।

नेपाली भाषासाहित्यलाई आममान्छेले कसरी बुझ्छन्/सोच्छन् भनेर बाह्रखरी कथा प्रतियोगिता सुरु गरेको उनले स्मरण गरे ।

प्रतियोगितामा यसपालिदेखि प्रथम पुरस्कारस्वरूप दुई लाख रुपैयाँ प्रदान गरिनेछ । द्वितीय पुरस्कार एक लाख र तृतीय पुरस्कारस्वरूप ६० हजार रुपैयाँ प्रदान गरिने बाह्रखरी मिडियाले जनाएको छ ।

4R4A5501-1760694989.jpg
“पत्रकारिता हतारको साहित्य हो भने साहित्य समाजको स्पन्दन हो । नेपालमा, विदेशमा बस्ने नेपालीको भाव के छ भन्ने थाहा पाउन साहित्यले मद्दत गर्छ,” उनले भने, “सबै मिल्यो भने नेपाली साहित्यलाई माथि उकास्न सकिन्छ । त्यसैले हामीले लामो समयदेखि कर्पोरेट हाउससँग कथाको स्तरोन्नतिका लागि सहकार्य गर्दै आएका छौँ ।”

बाह्रखरी मिडियाका विचार सम्पादक तथा कथा प्रतियोगिताका आन्तरिक निर्णायकमण्डलका संयोजक गोविन्द अधिकारीले प्रतियोगितामा प्राप्त कथा समाजशास्त्रीय दृष्टिकोणले अध्ययनको विषय भएको बताए ।

“बाह्रखरी कथा प्रतियोगिताका विगतका कथा हेर्ने हो भने समाजशास्त्रीले अध्ययन गर्ने कथा छन्,” उनले भने, “नेपाली समाज कता जाँदै छ, पछिल्लो पुस्ताले के सोचिरहेको छ भन्ने कथामा झल्किन्छ ।”

4R4A5579-1760695582.jpg
उनले बाह्रखरी कथा प्रतियोगिताका उत्कृष्ट कथाहरूको संग्रहहरू नेपाली समाजको आँखीझ्याल भएको बताए । “बाह्रखरी कथा प्रतियोगितामा प्राप्त सबै कथाहरू उत्कृष्ट छैन/छैनन् त्यो मैले भित्र बसेर भन्न मिल्दैन,” उनले भने, “तर, कथासाहित्यलाई समाजको आँखीझ्याल मान्ने हो भने निःसन्देह आँखीझ्याल हुन् ।”

4R4A5485-1760695158.jpg

4R4A5550-1760695158.jpg

प्रकाशित मिति: शुक्रबार, असोज ३१, २०८२  १४:२९
प्रतिक्रिया दिनुहोस्