काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका रक्षक रोहित चन्दले राष्ट्रिय फुटबल टोलीबाट १००औँ क्याप जितेका छन् ।
मंगलबार नेपालले एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामसँग दोस्रो लेग खेलेको थियो । रोहितले यही खेल खेल्दै आफ्नो १००औँ क्याप जितेका हुन् ।
रोहितले क्याप जित्दा आफू निकै खुसी रहेको बताएका छन् । “देशका लागि खेलेर १००औँ क्याप खेल्न पाउनु एकदम ठूलो हो र खुसी लाग्छ । मैले १०० क्याप जित्छु भनेर सोचेको नै थिइनँ । तर, आज यो ठाउँमा छु । जसरी भए पनि देशका लागि जसरी भए पनि योगदान दिन पाएको छु,” खुसी व्यक्त गर्दै रोहितले भने ।
साथै, उनले घरेलु मैदानमा आफ्नो १००औँ खेल खेल्न नपाएकामा असन्तुष्टि व्यक्त गरे । “घरेलु मैदानमै १०० क्याप पूरा भएको भए राम्रो हुन्थ्यो । अझै खेल पनि राम्रो हुन्थ्यो जस्तो लाग्छ मलाई । तर, वर्तमान अवस्थाले गर्दा बाहिर आएर खेल्नुपर्ने बाध्यता भएको भएर अब यसलाई नै घरेलु मैदानको खेल सोच्नुपर्यो,” रोहितले भने ।
रोहितले सन् २००९ मा १६ वर्षको कलिलो उमेरमा राष्ट्रिय टिममा डेब्यू गरेका थिए । उनले प्यालेस्टिनविरुद्धको खेलमा डेब्यू गरेका हुन् । यसपछि उनले राष्ट्रिय टोलीको यू–१९ र यू–२३ उमेर समूह पनि खेलेका थिए ।
उनले राष्ट्रिय टोलीबाहेक इन्डोनेसिया, भारत र मलेसियामा पनि व्यावसायिक फुटबल खेलेका छन् ।