site stats
बाह्रखरी :: Baahrakhari
देश
विपीनको बहादुरी सम्झँदै प्रधानमन्त्रीले भनिन्– नेपालको छोरा अन्तर्राष्ट्रिय द्वन्द्वको सिकार बन्नुपर्‍यो
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्यालेस्टिनी कट्टरपन्थी समूह हमासले बन्धक बनाएका नेपाली युवा विपीन जोशीको मृत्युको पुष्टिले आफू स्तब्ध भएको बताएकी छन् । बुधबार समवेदना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले विपीन रिहा हुने दुई वर्षदेखिको अटुट आशा र सामूहिक प्रार्थनाबीच आएको मृत्युको खबरले सबैलाई गहिरो पीडा दिएको जनाएकी छन् ।

विपीनप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकाकुल परिवारजन र आफन्तहरूमा गहिरो समवेदना व्यक्त गरेकी छन् । “विपीन जोशी केवल एक विद्यार्थी मात्र हुनुहुन्नथ्यो; उहाँ ज्ञानको खोजीमा विदेशिनुभएका हजारौँ नेपाली युवाको उज्ज्वल प्रतिनिधि हुनुहुन्थ्यो,” प्रधानमन्त्री कार्कीले भनेकी छन् ।

विपीनको जीवन उत्साह, लगनशीलता र अरूलाई सहयोग गर्ने विनम्र स्वभावले भरिएको उनले बताएकी छन् । विपीन सकुशल फर्किएर नेपालको विकासमा महत्त्वपूर्ण योगदान दिने आफ्नो कामना रहेको उनले जनाएकी छन् ।

“सदा शान्ति पक्षधर नेपालको छोरा अन्तर्राष्ट्रिय द्वन्द्वको अमानवीय सिकार बन्नुभएको छ । उहाँको अपहरणको खबर आएदेखि नै सरकार र सम्पूर्ण नेपाली जनता उहाँको सुरक्षित रिहाइका लागि एकचित्तले कामना गरिरहेका थिए । उहाँको निधनको यो खबरले हाम्रा दुई वर्षका सम्पूर्ण आशा र सपनाहरूलाई छिन्नभिन्न पारेको छ,” प्रधानमन्त्री कार्कीले भनेकी छन् ।

विपीन नरहे पनि बन्धक हुनुपूर्वका अन्तिम क्षणमा उनले अभूतपूर्व साहस, बहादुरी र त्याग देखाएर अन्य कैयौँ साथीहरूको ज्यान बचाएको कुराले सबैलाई सदा कृतज्ञ बनाएको प्रधानमन्त्री कार्कीको भनाइ छ ।

“उहाँको यो वीरतापूर्ण कार्य उहाँको जीवनको सबैभन्दा ठूलो विरासत हो, जसले उहाँलाई सधैँ नेपाली गौरवको प्रतीकका रूपमा जीवित राख्नेछ,” प्रधानमन्त्री कार्कीले भनेकी छन् । विपीनको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै नबिर्सने उनले बताएकी छन् ।

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  १४:२२
प्रतिक्रिया दिनुहोस्