काठमाडौं । परराष्ट्र सचिव अमृतबहादुर राई र इजरायलको परराष्ट्र मन्त्रालयका महानिर्देशक इडेन बार तालबीच मंगलबार (असोज २८) टेलिफोन वार्ता भएको छ ।
वार्ताको क्रममा महानिर्देशक तालले हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपीन जोशीको मृत्युको खबरले आफू दुःखी भएको बताएका थिए । उनले शोकसन्तप्त परिवार, साथै, नेपाल सरकार र जनताप्रति हार्दिक समवेदना व्यक्त गरेको पराष्ट्र मन्त्रालयले जनाएको छ ।
महानिर्देशक तालले इजरायल सरकारले विपीनको शव नेपाल पठाउन आवश्यक सबै व्यवस्था गर्ने बताएका थिए ।
फोनवार्तामा परराष्ट्र सचिव राईले बन्धकहरूको सुरक्षा सुनिश्चित गर्न अन्तिम क्षणसम्म निरन्तर प्रयास गरेकोमा इजरायल सरकार र जनताप्रति आभार व्यक्त गरेका थिए ।
उनले तेल अभिभस्थित नेपाली दूतावासलाई इजरायली अधिकारीहरूसँग नजिकबाट समन्वय गर्न र विपीनको शव फिर्ता पठाउनको लागि सबै आवश्यक व्यवस्था गर्न निर्देशन दिइएको पनि जानकारी दिएका थिए ।
फोनवार्तामा दुवै पक्षले मध्यपूर्व शान्ति योजनाको पहिलो चरणमा देखिएका सकारात्मक विकासहरूले त्यस क्षेत्रमा दिगो शान्ति र स्थायित्वमा योगदान पुर्याउँदै त्यसपछिका चरणहरूको सफल कार्यान्वयनको लागि मार्ग प्रशस्त गर्ने आशा व्यक्त गरेका थिए ।
उनीहरूले नेपाल र इजरायलबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।