site stats
बाह्रखरी :: Baahrakhari
खेल
‘कार्डियाक किड्स’ : जस्तो उपनाम, त्यस्तै प्रदर्शन

काठमाडौं । ‘कार्डियाक किड्स’, अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पाएको उपनाम हो यो । जसको अर्थ हुन्छ, ‘खेलको यस्तो टिम जसले नाटकीय र अप्रत्यासित नतिजा निकाल्छ’ । 

सोमबार ओमानको अल अमेरत क्रिकेट मैदानमा फेरि नेपालले त्यस्तै नाटकीय जित निकाल्यो । आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनल सुपर–६ को दोस्रो खेलमा । मध्यपूर्वकै अर्को टोली कतारविरुद्ध ।

“यो प्रतियोगितामा हामीप्रति भगवान पनि कृतज्ञ छन् भन्ने लागिरहेको छ,” नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले कतारसँगको नाटकीय जितपछि हर्षित भावमा भने ।

565136623_1268287241994320_7035795527612770397_n-1760401528.jpg
विश्वकपको यो छनोट प्रतियोगिता साच्चै रोहितले भनेजस्तै, भगवानले नै नेपाललाई जितसम्म डोहोर्‍यारहेजस्तो लाग्छ । सुपर–६ कै पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध एक रनको रोमाञ्चक जित निकालेको २४ घण्टापछि नै नेपाली क्रिकेट समर्थकले अर्को रोमाञ्चक जितको अनुभव गरे ।

‘नाटकीय जित’    
अल अमेरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाउँदा नेपालले आशातित सुरुआत गर्न सकेन । ओपनरद्वनय कुशल भुर्तेल र आसिफ सेखलाई गुमाउँदा नेपालको स्कोरबोर्डमा २५ रनमात्रै थियो । यी दुईले नेपाली टिमको खातामा क्रमशः ६ र ११ रन थपे । 

यसपछि ब्याटिङमा आएका कुशल मल्ल पनि क्रिजमा लामो समय टिकेनन् । १० बलमा एक छक्कासहित आठ रन जोड्दा कुशललाई ओवाइस अहमेदले ‘कट एन्ड बोल्ड’ गर्दै पभेलियनको दिशा देखाए । यसबेला नेपालले ७.४ ओभरमा ४८ रनमात्रै जोडेको थियो । 

शीर्ष क्रमका तीन ब्याटरलाई सस्तैमा गुमाएपछि इनिङ सम्हाल्ने जिम्मा कप्तान रोहित र मध्यक्रम ब्याटर दीपेन्द्रसिंह ऐरीले लिए । यी दुईले ४८–३ को स्थितिबाट चौथो विकेटका निम्ति ६२ रनको साझेदारी गर्दै नेपाललाई अघि बढाएका थिए । 

तर, १५औँ ओभरको अन्तिम बलमा दीपेन्द्रलाई ड्यानियल आर्चरले जुबाइर अलीबाट क्याच गराउँदै पभेलियनको दिशा देखाए । २२ बलमा एक चौका प्रहार गरेका दीपेन्द्रले टिममा २६ रनको योगदान गरे । यसपछि फेरि नेपालको रन रफ्तारमा ‘ब्रेक’ लाग्यो ।

नेपालले १६.२ ओभरमा मोहम्मद आदील आलमलाई गुमायो । अन्तर्राष्ट्रिय क्रिकेटमा करिब अढाई वर्षपछि पुनरागमन गरिरहेका आदीलले दुई रनमात्र थपे । सोही ओभरको चौथो बलमा अर्धशतक बनाएका रोहित पनि पभेलियन फर्किए । ४१ बल खेल्दा सात चौका र एक छक्का प्रहार गरेका रोहितले ५८ रन बनाए । 

ब्याटिङमा लगातार संघर्ष गरिरहँदा अन्तिममा गुल्सन झाले दुई र सोमपाल कामीले एक छक्का प्रहार गर्दा नेपालले पहिलो इनिङमा २० ओभरमा नौ विकेट गुमाएर १४७ रन बनाएको थियो ।

१४८ रनको मध्यम लक्ष्यसहित मैदान उत्रिएको कतारले दोस्रो इनिङमा पिचको फाइदा उठायो । पहिलो पावर प्लेमा ओपनरद्वय जुबाइर अली र इमाल लियानागेले ५३ रनको साझेदारी गर्दै कतारलाई बलियो सुरुआत दिलाएका थिए । 

550686087_1268287371994307_6985355527627788958_n-1760401561.jpg
कतारले पहिलो विकेटको रूपमा श्रीलंकन मुलका लियानागेलाई गुमाउँदा १० ओभरमा ७९ रन बनाएको । श्रीलंकामा राज्यस्तरको प्रतियोगितामा समेत खेलिसकेका उनले ३५ बलमा पाँच चौका र तीन छक्कासहित ५६ रन बनाए ।

कतारले १३औँ ओभरको समाप्तिसम्म दुई विकेट गुमाएर १०५ रन बनाएको थियो । तर, १४औँ ओभर नेपालका निम्ति ‘टर्निङ प्वाइन्ट’ बन्यो । 

नन्दन यादवले गरेको उक्त ओभरमा नेपालले कतारका दुई ब्याटरलाई रनआउटबाटै पभेलियनको दिशा देखायो । ओभरको पहिलो बलमा दीपेन्द्रसिंह ऐरीको ‘थ्रो’ले कतारी कप्तान मिर्जा मोहम्मद बेगलाई पभेलियन फर्कायो । 

दोस्रो बलमा आदील आलमले ‘थ्रो’ गर्दा जुबाएर अली आउट भए । ओपनिङमा आएका जुबाएर धैर्यसहित ब्याटिङ गर्दै ५५ बलमा दुई चौका र एक छक्कासहित ५२ रन बनाए । 

कतारका कप्तान पनि मान्छन्, १४औँ ओभर खेलको ‘टर्निङ प्वाइन्ट’ बन्यो । उनी भन्छन्, “बीचमा एकै ओभरमा दुईजना रनआउट हुनु नै खेलको टर्निङ प्वाइन्ट बन्यो ।”

यसपछि नेपालको बलिङ र फिल्डिङ निरन्तर हावी हुँदा कतार अन्तिम ओभरअघि १३८–८ को स्थितिमा थियो ।

अन्तिम ६ बलमा १० रन जोगाउन नेपालका कप्तान रोहित पौडेलले बलिङ जिम्मेवारी सन्दीप लामिछानेलाई दिएका थिए । 

कतारबाट क्रिजमा रहेका अमिर फारुकलाई सन्दीपले पहिलो र दोस्रो बल लगातार डट फ्याँके । लगातार दुई बल डट हुँदा दबाब बढेपछि तेस्रो बलमा फाकरुकले ‘स्टेप अप’ गर्दै ठूलो प्रहार गर्ने प्रयास गरे । 

तर, बल भेट्टाउन सकेनन् । जसमा विकेटकिपर आसिफ सेखले सहजै ‘स्टम्प’ गर्दै फारुकले पभेलियनको दिशा देखाए । 

चौथो बलमा ओवाइस अहमेदले एक रन लिए । पाँचौँ बलमा मुजिब उर रहमानले दुई रन लिए । जसबाट अन्तिम बलमा कतारलाई जितका निम्ति सात र ‘टाई’ गर्न ६ रनको आवश्यकता थियो ।

सन्दीपले फ्याकेको अन्तिम बल ‘वाइड’ भयो । जसलाई लामो प्रहारको मनसायसहित अघि बढेका रहमानलाई विकेटकिपर आसिफले फेरि ‘स्टम्प’ गरे । योसँगै नेपालले सुपर–६ को लगातार दोस्रो रोमाञ्चक जित दर्ता गर्‍यो ।  

पहिले तीन ओभरमा तीन विकेट लिएका सन्दीपले अन्तिम दुईसँगै कुल पाँच विकेट लिए । ३.५ ओभरमा सन्दीपले ४.६९ को इकोनोमीसहित १८ रनमात्र खर्चिए । 

महत्वपूर्ण क्षणमा ‘कोल्याप्स’ भयौँ– कतारी कप्तान
यो सँगै सुपर–६ मा लगातार तेस्रो हार व्यहोरेको कतारको विश्वकप सम्भावनामा निक्कै कमजोर बनेको छ । कतारले सुपर–६ को पहिलो खेलमा ओमानसँग ३४ रनको हार व्यहोरेको थियो । 

नेपालसँगको हारपछि कतारका कप्तान बेगले आफूहरू अनुभवमा पछि हुँदा महत्वपूर्ण अवस्थामा ‘कोल्याप्स’ भएको बताए ।

“हाम्रो बलिङ र फिल्डिङ राम्रो थियो । १६ ओभरसम्म हाम्रो ब्याटिङ पनि राम्रो थियो । तर, महत्पवूर्ण क्षणमा हामी कोल्याप्स भयौँ,” हारपछि कतारका कप्तान बेगले भने, “यस्तै बेला अनुभवले पनि फरक पार्छ । जितको श्रेय नेपाललाई जान्छ, उनीहरूले निक्कै राम्रो खेले ।” 

विश्वकपनजिक नेपाल
सुपर–६ मा लगातार दोस्रो जित निकालेको नेपाल ६ अंकसहित विश्वकपनजिक पुगेको छ । तालिकाको दोस्रो स्थानमा आसिन नेपालले अब बुधबार ओमानसँग अल अमेरतमै खेल्ने तालिका छ । जसमा जित निकाले नेपालले आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान सुनिश्चित गर्नेछ । 

nepali-cricket-team-1760378937.jpg
नेपालविरुद्ध मैदान उत्रिँदा ओमानको लक्ष्य पनि यही हुनेछ । ६ अंकसहित नेपाललाई नेट रनरेटमा पछि पार्दै शीर्ष स्थानमा आसिन ओमानले पनि यो खेलमा जित निकाल्न सके विश्वकप यात्रा तय गर्नेछ । 

ओमानपछि नेपालले सुपर–६ को अन्तिम खेलमा समाओविरुद्ध प्रतिस्पर्धा गर्नेछ । 

नेपाली क्रिकेट टिमले हालसम्म दुईपटक मात्र ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गरेको छ । नेपालले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकपमा प्रतिस्पर्धा गरेको थियो । त्यति बेला नेपाली टिम नेपाल क्रिकेट संघ (क्यान)का हालका सचिव पारस खड्काको कप्तानीमा प्रतिस्पर्धामा उत्रिएको थियो ।

त्यसपछि नेपालले गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजित ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गरेको थियो । विश्वकपको यो संस्करणमा नेपाली टिमको नेतृत्व रोहित पौडेलले गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  ०६:११
प्रतिक्रिया दिनुहोस्