site stats
बाह्रखरी :: Baahrakhari
खेल
विश्वकप छनोट : सन्दीपप्रेरित नेपालको रोमाञ्चक जित

काठमाडौं । स्पिनर सन्दीप लामिछानले अन्तिम ओभरमा १० रन रक्षा गरेसँगै नेपालले आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनल सुपर–६ को दोस्रो खेलमा कतारविरुद्ध पाँच रनको रोमाञ्चक जित निकालेको छ ।

कतारलाई अन्तिम ओभरमा जितका निम्ति १० रनको आवश्यकता थियो । ६ बलमा १० रन जोगाउन नेपालका कप्तान रोहित पौडेलले बलिङ जिम्मेवारी सन्दीपलाई दिएका थिए । सन्दीपले पहिलो र दोस्रो बल लगातार डट फ्याके । 

लगातार दुई बल डट हुँदा दबाब बढेपछि तेस्रो बलमा कतारका अमिर फाकरुकले ‘स्टेप अप’ गर्दै ठूलो प्रहार गर्ने प्रयास गरे पनि बल भेट्टाउन सकेनन् । जसमा विकेटकिपर आसिफ सेखले सहजै ‘स्टम्प’ गर्दै फारुकले पभेलियनको दिशा देखाए । 

चौथो बलमा ओवाइस अहमेदले एक रन लिए । पाँचौँ बलमा मुजिब उर रहमानले दुई रन लिए । जसबाट अन्तिम बलमा कतारलाई जितका निम्ति सात र ‘टाई’ गर्न ६ रनको आवश्यकता थियो । तर, अन्तिम बल वाइड भए पनि आसिफले ‘स्टम्प’ गर्दै कतारका अन्तिम ब्याटर रहमानलाई आउट गरेसँगै नेपालले अर्को रोमाञ्चक जित निकालेको हो । 

सोमबार ओमानको अल अमेरत क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १४८ रनको लक्ष्य पछ्याउने क्रममा कतारले १९.५ ओभरमा सबै विकेट गुमाएर १४२ रनमात्र बनाउन सक्यो ।

कतारका ओपनर इमाल लियानागेले सर्वाधिक ५६ रन बनाए । उनले ३५ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । यस्तै, जुबाएर अलीले ५५ बलमा दुई चौका र एक छक्कासहित ५२ रन थपे । मुहम्मद असिमले पाँच बलमा १० रन जोडे ।

नेपालका कप्तान रोहितले सर्वाधिक ५८ रन बनाए । उनले ४१ बलमा सात चौका र एक छक्का प्रहार गरे । यस्तै, दीपेन्द्रसिंह ऐरीले २६ रन थपे । ४८–३ को स्थितिबाट रोहित र दीपेन्द्रले चौथो विकेटका निम्ति ६२ रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हालेका थिए ।

तर, १५औँ ओभरमा अन्तिम बलमा दीपेन्द्र आउट भएसँगै नेपालको ब्याटिङ लय पुनः बिग्रिएको थियो । 

यी दुईबाहेक गुल्सन झाले आठ बलमा दुई छक्कासहित १६ रन बनाए । सोमपाल कामीले १४ र ओपनर आसिफ सेखले ११ रन जोडे । 

कतारका मिर्जा मोहम्मद बाइग र ड्यानियल आर्चरले समान तीन विकेट लिए । मुहम्मद असिम र ओवाइस अहमेदको नाममा एक–एक विकेट रह्यो ।

प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  ००:१४
प्रतिक्रिया दिनुहोस्