site stats
बाह्रखरी :: Baahrakhari
देश
खाल्टोको पानीमा डुबेर तीन बालिकाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

चन्द्रपुर । रौतहटमा पानी भरिएको खाल्टोमा डुबेर सोमबार (असोज २७) तीन बालिकाको मृत्यु भएको छ । पानीको एउटै खाल्टोमा परेर रौतहटको राजदेवी नगरपालिका–८, लक्ष्मीपुरका तीन बालिकाको मृत्यु भएको हो ।

राजदेवी–८, लक्ष्मीपुर टोलकी १३ वर्षीया आस्थाकुमारी बैठा, सोही ठाउँका १५ वर्षीया राघनीकुमारी यादव र १५ वर्षीया मौसमीकुमारी बैठाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक रामकुमार महतोले जानकारी दिए ।

घाँस काट्नका निम्ति लक्ष्मीपुरबाट गौर नगरपालिका–१, कानुपट्टिस्थित भित्री सडकखण्डमा बाटोमा नजिकै रहेको पानीको खाल्टो तर्ने क्रममा डुबेर उनीहरूको मुत्यु भएको प्रहरी निरीक्षक महतोले बताए ।

आज बिहान एउटै टोलका सात बालिका घाँस काट्न गएका थिए । उनीहरूमध्ये चारले सकुशल पानीको खाल्टो तरेका र बाँकी तीनजना बेपत्ता भएका थिए । पछि उद्धार गरेर उपचारका निम्ति उनीहरूलाई प्रादेशिक अस्पताल गौर लगिएको थियो । उपचारका क्रममा चिकित्सकले परीक्षण गर्दा तीनै बालिकालाई मृत घोषणा गरेका महतोले जानकारी दिए ।

सकुशल उद्धार गरिएकामा लक्ष्मीपुर टोलका १५ वर्षीया मुस्कानकुमारी राम, १३ वर्षीया मुस्कानकुमारी बैठा, १० वर्षीया चन्द्रमुखीकुमारी राम र १५ वर्षीया सुनिताकुमारी बैठा रहेका उनले बताए ।

केही दिनअगाडि पनि पोखरीमा डुबेर रौतहटको देवाही गुनाही नगरपालिकाको कर्कच कर्मैया गाउँमा दुई बालिकाको मृत्यु भएको थियो । । रासस

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  १३:४७
प्रतिक्रिया दिनुहोस्